सोमबार, असार ९, २०८२

सडकबाट आश्रम र, फेरि सडकमै

मानसिक अवस्था ठिक छैन, त्यसमाथि गर्भवती। अरुले फ्याँकेको खानेकुरा खाएर भए पनि पेटको बच्चा हुर्काई धर्तीमा ल्याउन चाहन्थिन्।
 |  सोमबार, पुस २१, २०७६

ज्योति अधिकारी

ज्योति अधिकारी

सोमबार, पुस २१, २०७६

काठमाडौं– झुत्रा कपडा, जिङ्ग्रिङ्ङ परेको कपाल। घाँटीमा ५–६ वटा चप्पल झुण्ड्याएर सडकमा माग्दै हिँडिरहेकी थिइन् पुतली। ठूलो पेट अनि मानसिक अवस्था पनि असामान्य। जति मागे पनि पुतलीलाई कसैले पनि खान दिँदैनथे, कसैले माया गर्दैनथे। उल्टै ‘माग्ने आई’ भन्दै गाली गर्दै पिटेर भगाउँथे।

मानसिक अवस्था ठिक छैन, त्यसमाथि गर्भवती। अरुले फ्याँकेको खानेकुरा खाएर भए पनि पेटको बच्चा हुर्काई धर्तीमा ल्याउन चाहन्थिन्। पेटमा बच्चा हुर्कंदै थियो तर बाउको पहिचान गर्न सक्दिनथिन्। सडकमा बस्दा कसले गर्भवती बनाइदियो, मेसो पाउनै सकिनन्।

एकदिन सडकमा हिँड्दाहिँड्दै व्यथा लाग्यो पुतलीलाई। निकै रोइन्, कराइन् तर कसैले वास्ता गरेनन्। त्यतिकैमा मानसिक सन्तुलन गुमाएका एक युवा पुतली नजिकै अत्तालिँदै आइपुगे। पुतलीलाई हेरे तर केही गर्न सकेनन् किनकी पुतलीले प्राण त्यागिसकेकी थिइन्।

बालाजुस्थित मानव सेवा आश्रममा नाटक मञ्चन गरिँदै।

आइतबार मानव सेवा आश्रमको बालाजुस्थित स्क्रिनिङ सेन्टरमा मञ्चन गरिएको नाटकको कथा हो यो। नाटक भए पनि सडकमा बस्न बाध्य मानिसहरुको यथार्थ यसमा समेटिएको छ। सडकबाट उद्धार गरिएका मानिसहरुबीच नै उक्त नाटक देखाइएको थियो। नाटकले सबैजसोको आँखा रसाएका थिए।

मानव सेवा आश्रममा विचित्र दृष्यहरु देखिन्छन्। साना बालबालिकादेखि वृद्धवृद्धासम्म सबै आफ्नै सुरमा हुन्छन्। कोही खेल्दै त कोही घाम ताप्दै। बालबालिका यताउता दौडिरहन्छन्। बिरामी टोलाइरहेका हुन्छन्। मनोरोगी आफ्नै सुरमा एक्लै आफैंसँग गफिन्छन्। नयाँ मान्छे देख्नेबित्तिकै ‘म यहाँबाट निस्किन्छु, मलाई बस्न मन छैन, मलाई केही भएको छैन’ भन्दै बिलौना गर्न थाल्छन्।

सडकबाट उठाएर यहाँ ल्याइएका मानिसहरुको सरसफाइ तथा खानपिनमा भ्याइनभ्याइ हुन्छ कर्मचारीलाई। केही दिनयता सडकबाट उद्धार गरिएका मानिसहरुको चाप बढिरहेको छ। मंसिर अन्तिम सातादेखि काठमाडौंलाई बेसहारा सडक मानवमुक्त बनाउने भन्दै काठमाडौं महानगर, मानव सेवा आश्रम, जिल्ला प्रशासन कार्यालय काठमाडौं र महानगरीय प्रहरीले सडकका अलपत्र मानिसहरुको उद्धार गरिरहेका छन्।

सडकबाट हालसम्म ४५२ जनालाई उद्धार गरिएको छ। तीमध्ये ३ सय ४१ जनालाई पारिवारसँग पुनर्मिलन गराइएको मानव सेवा आश्रमका सञ्चालक रामजी अधिकारी बताउँछन्। हाल स्क्रिनिङ सेन्टरमा ८६ जना आश्रित छन्। २३ जनालाई मानव सेवा आश्रम सामाखुशीमा स्थानान्तरण गरिएको छ। उद्धार गरिएका दुईजनाको भने मृत्यु भएको छ।

स्क्रिनिङ सेन्टरकी परामर्शदाता सानु गुरुङ भन्छिन्, ‘सडकबाट उद्धार गरी ल्याइएकाहरुलाई सुरुमा बालाजुस्थित स्क्रिनिङ सेन्टरमा राखिन्छ। त्यसपछि उनीहरु वास्तविक बेसहारा हुन् या पेशेवर माग्ने भनेर स्क्रिनिङ गरिन्छ। उनीहरुको घरपरिवार पहिचान गर्ने कोसिस गरिन्छ। परिवार पत्ता लागे जिम्मा लगाइन्छ। वास्तविक बेसहारा वा रोगी भएमा थप उपचार र व्यवस्थापन गरिन्छ।’ सडकबाट उद्धार गरिएका कतिपयले आश्रममै सहयोगी बनेर पनि काम गरिरहेका छन्। सेन्टरमै सरसफाइ गर्ने, खाना बनाउने तथा अन्य व्यवस्थापन उनीहरुले सघाउँछन्।

मुख्य कारक मादक पदार्थ

सर्लाहीका सुवास कार्की दक्षिणकालीस्थित एक रिसोर्टमा सेक्युरिटी गार्डको रुपमा काम गर्थे। त्यसअघि उनले नेपाल प्रहरीमा कार्यालयसहयोगीको रुपमा ७ वर्ष काम गरेका थिए। आर्थिक अवस्था कमजोर भएका कारण छोराछोरीसहित श्रीमती छुट्टै बस्न थालिन्। उनले छोराछोरीको लागि भनेर जीवनभरको कमाइ १० लाख रुपैयाँ श्रीमतीलाई दिए। उनीसँग शरीरबाहेक केही बाँकी रहेन। अन्ततः उनी मदिराको लतमा फसे। मदिरा सेवन गरी कैयौं रात सडकमै बिताउन थाले। त्यसैक्रममा महानगरले सडकबाट उठाएर उनलाई बालाजुस्थित स्क्रिनिङ सेन्टरमा राखेको छ।

रौतहटकी जया ठकुरीलाई पनि काठमाडौंको जोरपाटीको सडकबाट बालाजु पु¥याइएको छ। मादक पदार्थ सेवन गरेर सडकमा सुतिरहेकी उनलाई महानगरको टोलीले २० दिन अगाडि बालाजु पुर्‍याएको हो। पारिवारिक समस्याले गर्दा डिप्रेसनमा पुगेकी उनलाई मादक पदार्थको लत लाग्यो अनि आइन् सडकमा।

५० वर्ष नाघेका राकेश श्रेष्ठको श्रीमतीसँग झगडा पर्‍यो। एउटै सन्तान छोरा लिएर श्रीमती माइतमै बसिन् र केही समयपछि अमेरिका गइन्। श्रीमतीलाई घर ल्याउन निकै प्रयास गरे पनि उनी असफल भए। अन्ततः उनी एक्लिए। श्रीमती र छोरा आउने आशमा अर्को बिहे पनि गरेनन्। सबैबाट एक्लिएपछि उनी मादक पदार्थको अम्मली भए र सडकमा आइपुगे। महानगरले उनलाई उद्धार गरेर आश्रममा ल्यायो। पारिवारिक पुनर्मिलनको लागि छोरालाई फोन गरियो तर छोराले वास्ता गरेनन्। राकेशलाई घर जान मन छैन।

उद्धार गरेर ल्याइएका प्रायः मादक पदार्थको लती रहेको आश्रम सञ्चालक अधिकारी बताउँछन्। पारिवारिक बेमेल, गरिबी, रोग, कुलत आदिका कारण मानिसहरु सडकमा आउने गरेको देखिएको उनको भनाइ छ।

बस्नै मान्दैनन् आश्रममा

सडकबाट ल्याइएका अधिकांश आश्रममा रमाउँदैनन्। भन्छन्, ‘हामीलाई यहाँबाट छोडिदिए आफैँ काम गरेर खान्छौं।’ कतिपय भने सुध्रिन्छु भन्दै अनेक बहाना बनाएर छुट्छन् तर फेरि सडकमै भेटिन्छन्। यस्तो समस्या दोहोरिएपछि आश्रमले परामर्शमा जोड दिन थालेको छ।

सडकमा रात बिताउनेहरु धेरैजसो मादक पदार्थ सेवन गर्नेहरु रहेको पाइएको छ। दिनभरी भारी बोक्ने वा ज्यामी काम गर्ने अनि रात परेपछि रक्सी खाएर सडक पेटीमा सुत्ने गरेको भेटिएको प्रहरी बताउँछ। ‘दिनको कमाइ एक हजारभन्दा बढी हुन्थ्यो, यहाँ आएपछि कमाउन पाएको छैन। काम गरेर खान सक्नेलाई किन यहाँ राखेको ?’ आश्रमका एक युवाले आक्रोश पोखे।

रोजगारी छैन

काठमाडौं महानगरलाई सडक मानव मुक्त सहर बनाउने लक्ष्यका साथ सडकमा रहेका मानिसहरुलाई उद्धार गर्न जुटेको छ महानगर। तर यस्ता मानिसको संख्या कति छ भन्ने यकिन तथ्यांक भने न महानगरसँग छ न अन्य कुनै सरकारी निकायसँग। प्रहरीको सहयोगमा हचुवाको भरमा सडक पेटीबाट मानिसहरुलाई उठाउने काम भइरहेको छ। यसमा कतिपय साँच्चिकै पीडित छन् भने कतिपय पेशेवर माग्नेहरु। शारीरिक तथा मानसिक रुपमा सबल व्यक्तिहरु पनि आश्रममा बसिरहेका छन्।

मानिसहरु सडकमा पुग्नुको मुख्य कारण मादक पदार्थ सेवन भएको ठहर भएपछि महानगर र साझेदार निकायहरु मदिराको लत छुटाउने परामर्शमा लागेका छन्। ‘सडकमा बस्दा लागेको लत त्यति छिट्टै कहाँ जान्छ र ? त्यसैले उनीहरुको तल छुटाउनु पहिलो प्राथमिकता हो,’ कामनपाका प्रवक्ता ईश्वरमान डंगोल भन्छन्। तर, शारीरिक तथा मानसिक रुपमा स्वस्थ्य भएपछि उनीहरुलाई सक्रिय बनाउन वा रोजगारीका लागि महानगरले कुनै प्रयास सुरु गरेको छैन। बालाजु औद्योगिक क्षेत्र तथा केही गैरसरकारी संघसंस्थामा रोजगारीका लागि प्रयास गरिएको आश्रमले बताएको छ।

प्रकाशित: Jan 06, 2020| 10:07 सोमबार, पुस २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।