काठमाडौं– केही महिनायता बढ्दो क्रममा रहेको प्याजको मूल्य घट्ने छाँट अझै देखिएको छैन। भान्सादेखि सामाजिक सञ्जालसम्मलाई तताएको छ प्याजले। मूल्य अकाशिएपछि प्याजको विषयमा अनेक जोक र ट्रोल बनाइएका छन्।
हास्यकलाकार केदारप्रसाद घिमिरे (माग्ने बुढा) फेसबुकमा व्यंग्य गर्छन्–
प्याज प्रतिकिलो २५० रुपैयाँ, प्याजको सुकेको बोक्रा प्रतिकिलो १०० रुपैयाँ, प्याजको जरा प्रतिकिलो १५० रुपैयाँ, प्याज छोएको ८० रुपैयाँ, झुक्किएर प्याज छोएको २० रुपैँयाँ, प्याज उचालेको १२५ रुपैयाँ, प्याजको भाउ सोधेको २० रुपैँयाँ, भाउ सोधेर टाउको कन्याएको ३५ रुपैयाँ, प्याज हेरेको ५० रुपैयाँ, प्याज सुँघेको ७० रुपैयाँ, प्याजलाई आँखा तरेको ३० रुपैयाँ, तिम्रो प्याज चाहिएन भनेको १७५ रुपैयाँ, प्याजको कुरा काटेको ४५ रुपैयाँ, प्याज बिना बाँचिन्छ भनेको १५५ रुपैयाँ, अब प्याज खेती गर्ने भनेको २०० रुपैयाँ। अब हामी प्याज बहस गरौं, चुनाव बहस गरौं, जाबो सिमाना त विदेशीले जोगाइदिइहाल्छन् नि।
उनको यो स्टाटस फेसबुक, इन्स्टाग्राम, ट्विटरमा धेरैले सेयर गरेका छन्। कारण– धेरैलाई छोएको छ प्याजले।
नेपालमा मात्र होइन, भारतमा पनि प्याज छोइनसक्नु छ। विवाहमा एक जोडीलाई उपहारस्वरुप प्याज दिइएको समाचार भारतीय सञ्चारमाध्यममा आएको थियो। मूल्य बढेपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले प्याज नै नखाने घोषणा गरिन्।
केही महिना अगाडि आन्तरिक माग नपुगेको भन्दै भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि त्यसको असर नेपालमा परेको हो। नेपाली प्याज बजार भारतमा निर्भर छ।
आपूर्ति घटेपछि प्याजको माग पनि घटेको छ। ग्राहक घटेपछि कतिपय साना व्यापारीले प्याज बेच्नै छाडेका छन्। ‘थोक मूल्य नै महँगो भएपछि बेच्न समस्या भयो। एक महिनामा बल्लबल्ल ३० किलो प्याज बिक्री भयो। मूल्य घट्यो भने फेरि बिक्री गर्छु तर अहिले गर्दिनँ,’ किराना पसल सञ्चालक सीताराम कार्कीले भने। कार्कीजस्ता थुप्रै साना व्यापारीले प्याज बेच्न छाडेका छन्। व्यापारी र ग्राहक दुवै मूल्य घट्ने प्रतीक्षामा छन्।
गत भदौसम्म सामान्य रहेको प्याजको मूल्य असोजदेखि ह्वात्तै बढेको हो। भदौसम्म प्रतिकिलो प्याजको थोक मूल्य ४७ रुपैयाँ रहेकोमा असोजमा ४३ रुपैयाँले बढेर ९० पुगेको थियो। त्यस्तै खुद्रा मूल्य भदौमा ६० रुपैयाँ रहेकोमा असोजमा सय रुपैयाँ पुगेको थियो। कात्तिकमा प्रतिकिलो खुद्रामूल्य १३० रहेकोमा मंसिरमा १८० र अहिले दुई सय रुपैयाँ पुगेको छ।
खुद्रा बजारमा प्याजको मूल्य जथाभावी छ। मूल्य बढ्न थालेपछि पसलैपच्छिे मनलाग्दी मूल्य रहेको उपभोक्ता बताउँछन्। ‘अभाव छ भनेपछि मूल्य पनि जथाभावी बढेको छ, जसले जतिमा बेच्न मन लाग्यो, त्यतिमा बेचिरहेका छन्। हामी उपभोक्ता पनि उस्तै छौं। महँगो भएपछि झन् हारालुछ गर्छौैं,’ उपभोक्ता सीता कार्कीले भनिन्। खुद्रा पसलेले किलोको तीन सय रुपैयाँसम्म लिइरहेको उनले सुनाइन्।
मूल्य बढेपछि प्याजका आम उपभोक्ता त घटेका छन् नै, होटलले समेत खपत कम गरेका छन्। कीर्तिपुरमा होटल चलाउँदै आएका माधव गौतमले प्याज महँगो भएपछि मःम बनाउनै छोडेका छन्। ‘महँगो भए पनि केही समय त बनाएको थिएँ तर अहिले त साध्यै लागेन र मःम बनाउनै छोडिदिएँ,’ उनले भने। भृकुटीमण्डपका होटल सञ्चालक गोपाल ढकालले पनि प्याज प्रयोग गर्न छोडेको बताए।
कालिमाटी फलफूल तथा तरकारी बजारको तथ्यांक हेर्ने हो भने प्याजको मूल्य गत वर्षको तुलनामा ३ सय प्रतिशतसम्म बढेको छ। गत वर्ष पुसमा प्रतिकिलो ५० रुपैयाँको हाराहारीमा रहेको प्याजको भाउ यस वर्षको पुसमा २०० रुपैयाँ पुगेको छ।
काठमाडौंको सबैभन्दा ठूलो तरकारी बजार कालीमाटीमा दैनिक १३० टनसम्म प्याज भित्रिन्छ। यसमध्ये करिब १ सय टन भारतबाट आयात हुने कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठ बताउँछन्।
भन्सार विभागको पछिल्लो ५ महिना (साउन–मंसिर)को तथ्यांकअनुसार नेपालले कुल ४ करोड ५१ लाख ७१ हजार ७ सय ५६ किलो प्याज आयात गरेको छ। यसमध्ये भारतबाट ४ करोड २० लाख २० हजार २ सय १५ केजी, चीनबाट ३१ लाख ३९ हजार ५ सय ४१ र नामिबियाबाट १२ हजार किलो प्याज आयात भएको छ। कृृषि मन्त्रालयका अनुसार नेपालमा ६० प्रतिशतभन्दा बढी प्याज विदेशबाट आयात गर्नुपरेको छ।
भदौदेखि बढ्दो क्रममा रहेको प्याजको मूल्य अझै केही महिना नघट्ने सरकारी अधिकारीहरु बताउँछन्। कृषि विभागको आलु, तरकारी तथा मसला बाली विकास केन्द्र प्रमुख कमल गैरेका अनुसार फागुनपछि मात्रै प्याजको मूल्य घट्छ।
चैतमा मात्रै नयाँ उत्पादन बजारमा आउने भएकाले त्यसपछि मात्रै मूल्य केही घट्ने उनको तर्क छ। नेपालमा अहिले प्याज उत्पादनको मौसम नभएको र भारतबाट प्याज पर्याप्त रुपमा आयात नभएकाले मूल्य बढेको गैरेको भनाइ छ।