जनकपुरधाम - डेढ महिनापछि सोमबार बसेको प्रदेश २ को प्रदेशसभा बैठक पुन:अवरुद्ध भएको छ। गत आर्थिक वर्षमा सम्पन्न योजनाहरुको भुक्तानी सरकारले हालसम्म नगरेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा र विपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि प्रदेशसभा बैठक अवरुद्ध भएको हो। सम्पन्न भइसकेको योजनाहरूको समेत सरकारले भुक्तानी नगरेको भन्दै विपक्षी दलले सदन अवरोध गरेपछि सत्तासाझेदार राजपाले पनि समर्थन गरेको छ।
कांग्रेसका प्रमुख सचेतक उपेन्द्र कुशवाहाले बाँकी रहेको भुक्तानी गर्नेबारे सरकारले स्पष्ट जवाफ नदिएसम्म सदन चल्न नदिने भने लगत्तै नेकपाका सांसदका साथै राजपाका उपेन्द्र महतोले पनि समर्थन जनाएका थिए। सांसदहरुको अवरोधपछि सभामुख सरोज यादवले मंगलबार १ बजेसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरे।
त्यसअघि बैठकमा बोल्दै राजपाका सांसद महतोले सत्तासाझेदार सांसदको हैसियतले प्रतिपक्षको जवाफ दिनुपर्ने भएपनि मुख्यमन्त्रीको अज्ञानताका कारण सदन अवरोध गर्न प्रतिपक्षको समर्थन गर्नुपर्ने अवस्था आएको बताए। 'सात दिनभित्र भुक्तानी गर्न मुख्यमन्त्री राउतले प्रतिवद्धता जनाएपनि हालसम्म भुक्तानी नहुनु सरकारको अज्ञानता कि नियत हो?' महतोले प्रश्न गरे।
यसैगरी नेकपाका शत्रुध्न महतो, रामचन्द्र मण्डल, नेपाली कांग्रेसका शिवचन्द्र चौधरीलगायतका सांसदहरुले भ्रष्टाचारमा लिप्त सरकार निकम्मा भइसकेको आरोप लगाए। गत वर्षमा सम्पन्न भइसकेका योजनाहरुको भुक्तानी नभएपछि उपभोक्ता समितिसामू निरीह बन्ने अवस्था आइसकेको उनीहरुले बताए।