काठमाडौं । नेपाल टेलिकमले एपमा उपयोगी हुने सुविधाहरु प्रयोग गर्न सकिने गरी अपडेट गरिएको जनाएको छ । नेपाल टेलिकमले एपमार्फत सेवाग्राहीले पहिलेदेखि नै विभिन्न सुविधाहरु प्रयोग गर्दै आएकोमा अब एफटीटीएच सेवाका लागि आवश्यक पोर्टल थप गरिएको टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै ‘नमस्ते पे’ मार्फत रिचार्जसमेत गर्न सकिने छ । त्यसैगरी आफ्नो जानकारी अपडेट गर्न, अफलाइन मोडमा पनि विभिन्न सुविधा उपयोग गर्न सकिने विशेषता छन् । यसमार्फत विभिन्न सेवामा रिचार्ज गर्न सकिने प्रवक्ता शोभन अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
फाइबर टु द होम अर्थात् एफटीटीएच प्रयोगकर्ताहरुले एपमार्फत एफटीटीएचको सीपीई रिस्टार्ट गर्न, वाईफाईको एसएसआईडी परिवर्तन गर्न, डाटाको खपत तथा बचत बारेमा जानकारी लिन र महसुल तिर्न पनि सकिनेछ ।
साे एपमार्फत नेपाल टेलिकमका जीएसएम, सीडीएमए, पीएसटीएन, एडीएसएल, एफटीटीएच लगायतका सेवाहरुको बारेमा जानकारी प्राप्त गर्नुको साथै अन्य विभिन्न सुविधाहरु उपभोग गर्न सकिने जनाइएको छ । त्यसैगरी टेलिकमले उपलब्ध गराएका विभिन्न प्याकेजहरु खरिद गर्न र प्याकेजको अवस्था बारेमा सहजरुपमा जानकारी प्राप्त गर्न सकिन्छ ।
यसका साथै ब्यालेन्स हेर्न, ब्यालेन्स ट्रान्सफर गर्न, विभिन्न सेवामा रिचार्ज गर्न र आफन्त वा साथीलाई विभिन्न प्याकेजहरु उपहारको रुपमा पठाउन पनि सक्ने व्यवस्था गरिएको छ । एपबाट १००, १०१, १०२ जस्ता इमर्जेन्सी नम्बरहरु डायल गरी आवश्यक सेवा लिनुका साथै १९७, १४९८ आदि नम्बरमा डायल गरी कम्पनीका विभिन्न सेवाका बारेमा सोधपुछ गर्न पनि सकिने अधिकारीले बताए ।
यो एपबाट उपलब्ध गराइएका सुविधा उपयोग गर्न सुरूवातमा गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट ‘नेपाल टेलिकम’ एप डाउनलोड गर्नुपर्ने हुन्छ। नेपाल टेलिकमको मोबाइल नम्बरमार्फत रजिष्टर गरेपछि एप चलाउन सकिन्छ। पहिलो पटक एप डाउनलोड गर्दा ५ सय एमबी डेटासमेत निःशुल्क प्रयोग गर्न सकिने सुविधा कम्पनीले उपलब्ध गराइरहेको छ।
यो एपमा लगइन गर्ना साथ मोबाइलमा भएको ब्यालेन्स रकम तथा नेपाल टेलिकमको प्याकेज खरिद गरेको भए सोबारे जानकारी प्राप्त गर्न सकिन्छ। पछिल्लो अवस्थामा विभिन्न प्रकारका प्याकेज खरिद गरी सेवा उपभोग गर्ने प्रचलन बढ्दै गएकाले विशेष गरी त्यस्ता प्याकेज खरिद कार्य यो एपबाट सहज भएको छ।