काठमाडौं- पशु अधिकारकर्मीले कुकुर हत्याका दोषीलाई कानुनी कारबाहीका लागि अगाडि बढ्दा प्रहरीदेखि सरकारी वकिलसम्मले बेवास्ता गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
बिहीबार रिपोर्टर्स क्लबमा पशु अधिकारमा सक्रिय दशवटा संघ संस्थाले संयुक्त पत्रकार सम्मेलन गरी कुकुर हत्याका दोषीलाई कडा कारबाही गराएरै छाड्ने दृढता व्यक्त गरेका हुन्।
तीनकुने सुविधानगरस्थित हेवन रेस्टुरेन्ट भएको भवनको पार्किङमा विगतदुई वर्षदेखि बस्दै आएको सेतु नाम गरेको कुकरको हत्या गरिएको एसपीसीए नेपालका अध्यक्ष विकेश श्रेष्ठले जानकारी दिए।
शनिबार २१ मंसिरमा सेतुको दोलाबिगु गाउँपालिका घर भई काठमाडौं शान्तिनगर बस्दै आएका सञ्जीव ओली र उनकी पत्नी प्रीती शेर्पासहित सात जनाको समूहले हत्या गरेको श्रेष्ठको आरोप छ।
घटनामा महानगरीय प्रहरी वृत वानेश्वरका दुई जनाप्रहरी पनि संलग्न रहेको दाबी गरिएको छ। श्रेष्ठले भने, ‘कुकुर हत्या सामान्य हो भनी प्रहरीदेखि सरकारी वकिलसम्मले बेवास्ता गर्न खोजेकाले गम्भीरताका साथ कानुनी उपचारका लागि लागेका छौं।’
घटना घटेको तेश्रो दिन महानगरीय प्रहरी वुत्त बानेश्वरमा सेतु मारिएको बारे उक्त भवनका केही बहालवाला व्यवसायीहरु मिली निवेदन दिइएको अध्यक्ष श्रेष्ठले बताए। उनले घटनाका दोषी माथि कानुन बमोजिम कारबाही हुनुपर्ने माग गरे।
एसपीसिए नेपालका संयाजक विकेश श्रेष्ठले सेतुबाहेक अरु कुकुरहरु अत्याधिक मात्रामा मरिरहेको र यसबारे कसैको ध्यान नपुगेको बताए।