काठमडौं– आगामी माघ दोस्रो साता चितवनको भरतपुरमा पहिलो पटक घर जग्गा तथा सजावट र फर्निचरसँग सम्बन्धित २ वटा एक्स्पो आयोजना हुने भएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित चितवन प्रदर्शनीस्थलमा माघ ८ देखि ११ गतेसम्म नेपाल ल्याण्ड, हाउजिङ एण्ड कन्स्ट्रक्सन एक्स्पोसँगै फर्निचर एण्ड होम डेकोर एक्स्पो आयोजना हुने भएको हो ।
एएस इभेण्ट एण्ड मार्केटिङ प्रालि र इभेण्ट सोलुसन प्रालिको संयुक्त आयोजनामा दुवै मेलाको आयोजना हुन लागेको हो । पछिल्लो समय आधुनिक शैलीमा घर तथा आवासीय भवनको निर्माण तिव्र बन्दै गएको अवस्थालाई मध्यनजर गर्दै चितवन प्रदर्शनीस्थलमा मेला आयोजना गर्न लागिएको हो ।
घर जग्गा तथा निर्माण मेलामा आधुनिक शैलीका गुणस्तरीय निर्माण सामग्री र प्रविधि आकर्षण बन्ने एएस इभेण्ट एण्ड मार्केटिङ प्रालिका प्रबन्ध निर्देशक अनिल श्रेष्ठले बताए । ‘जगदेखि निर्माणपछिको अन्तिम सजावटसम्मका सबै सामग्री र त्यसको प्रविधिका बारेमा सर्वसाधारण, व्यवसायी र सम्बद्ध पक्षलाई जानकारी गराउन एकै छानामुनी दुई वटा मेला आयोजना गर्न लागिएको हो,’ श्रेष्ठले भने ।
फर्निचर तथा सजावट मेलाको टाइटल स्पन्सरमा जेम फ्लोरिङ रहेको छ भने हाइटेक्स कार्पेटले मुख्य प्रायोजन गर्नेछ । त्यसै गरी दुवै मेलालाई उद्योग परिसंघ र चितवन उद्योग संघले प्रवद्र्धन गर्ने छन् । चार दिनसम्म चल्ने मेलाको २० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।