सदनमा सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ । १५ गते(भोलि) आइतबार नयाँ बजेट आउँदै छ । हरेक वर्ष बजेट आउनु अगाडि सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गदर्छ । यही परम्परालाई ध्यान दिँदै सरकारको नीति तथा कार्यक्रम आएको छ ।
नीति तथा कार्यक्रमले गरिबी अभाव र बेरोजगारीमा बाँचिरहेका जनताहरुलाई आशा देखाउने, अग्रगामी परिवर्तनलाई बाटो देखाउने, समृद्ध नेपाल निर्माण गर्ने सन्दभमा दिशावोध गर्नुपर्ने थियो । तर,यो नीति तथा कार्यक्रम चौबाटोमा उभिएको दिशाहीन बटुवा र कुहिरोको काग जस्तै सावित भएको छ ।
यसले जनतामा कुनै उत्साह र आशा जगाएको छैन । देशमा सुरु भएको तत्कालीन समस्याहरुलाई समाधान गर्दै सम्भावित चुनौतीलाई समधानका लागि सरकारले जुन किसिमको नीति तथा कार्यक्रमहरु ल्याउनुपर्थ्याे, त्यो पाइदैन । केही पहिलादेखि नै सुनिँदै आएको विषयहरुलाई समेटेर सरकारले नीति तथा कार्यक्रम ल्याएको छ, तिनीहरुले अहिलेको संकटलाई न्यूनीकरण गर्ने खालको आएको पाइँदैनन् ।
एक प्रकारले भन्ने हो भने वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको भनाई जस्तै ‘जीवनभर विद्यालयमा बढेको शिक्षालाई सम्पूर्ण हिसावले बिर्सिदिने हो भने बाँकी जति ज्ञान रहन्छ, त्यहिनै शिक्षा हो’ भने जस्तै सरकारले जति नीति तथा कार्यक्रमहरु ल्याएको छ, त्यहाँ भएका बुँदाहरुलाई बिर्सने हो भने जति बाँकी रहन्छ, त्यो नै नीति तथा कार्यक्रमहरु हो भन्न हिच्कचाउनु पर्ने देखिँदैन । यस्तो अवस्थामा देशको समस्या र आवश्यकतालाई सम्बोधन गर्ने खालका नीति तथा कार्यक्रमहरु आएको छैन ।
अहिले मुलुकमा जुन हिसावले राष्ट्रिय अर्थतन्त्रमा समस्या देखिएको छ, त्यो भनेको आयातमुखी अर्थतन्त्र, विप्रेसणमा आधारित अर्थतन्त्र केन्द्रित भएर भएको देखिन्छ । अहिले मुलुकमा उत्पादन घटिरहेको छ, आयात बढिरहेको छ । कुनै पनि देशले आत्मानिर्भरताको अभियान सुरु गर्दा खाद्यसुरक्षा र ऊर्जा सुरक्षामा प्राथमिकता दिने गर्दछ । तर, आज कृषिजन्य उत्पादन १ खर्ब ५० अर्ब रुपैयाँभन्दा बढीको वार्षिक आयात हुने गरेको छ भने खर्बौं रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भइरहेको छ ।
पेट्रोलियम पदार्थ माथिको परनिरभरतालाई न्यूनीकरण गर्दै ऊर्जाको विकास गर्ने र खपतलाई प्रोत्साहन गर्न सरकारको तयारी फितलो देखिँदै आएको छ । अहिले विदेशमा उत्पादन भएका सामानहरुलाई नेपालमा प्रयोग र उपभोग गर्ने थलोका रुपमा विकास भइरहेको छ । जुन दीर्घकालीन हिसावले हेर्दा गम्भीर समस्याको रुपमा उत्पन्न हुने देखिन्छ । त्यसैले यो समस्या समाधानका लागि आउनुपर्ने नीतिहरु सरकारले ल्याएको देखिँदैन ।
आज बजारमुखी अर्थतन्त्रले गर्दा जुन प्रकारले आर्थिक असमानता जन्माइरहेको छ । जुन प्रकारले सरकारको नियमनको अभावले असमानको कारण समस्या उत्पन्न भइरहेको छ,यसलाई समाधान गर्ने गरी सरकारले जुन ढंगले सरकारले नीति तथा कार्यक्रम ल्याउनु पर्ने हो, त्यसमा पनि समस्या देखिरहेको छ ।
युवाहरुलाई देशभित्रै रोजगारी दिलाउने र उनीहरुको युवा समयको जोश जाँगर नेपालमै प्रयोग गर्ने खालको नीति पनि सरकारले ल्याउन सकेको छैन् । १९६० को दशकमा अमेरिका, क्यानडासहित युरोपका अधिकांश मुलुकहरुले एसियाका प्रतिभाशाली युवाहरुलाई आफ्नो मुलुकमा आकर्षित गरेर देशलाई समृद्ध बनाउने गरी काम अगाडि बढाएर र पछि १९७० को दशकपछि सिंगापुरमा पनि त्यही किसिमको नीति अबलम्बन गरी युवाहरुलाई लक्षित गरी कार्यक्रमहरु ल्याएको थियो ।
त्योलगायत धेरै मुलुकहरुले पनि युवाहरुको जोसजाँगर र प्रतिभाहरुलाई उपयोग गरी देशलाई समृद्धतर्फ अगाडि बढाएको उद्धाहरणहरु धेरै छन् । तर,नेपालमा भने प्रतिभाशाली युवाहरु विदेश पलायन भइरहेको छ । नेपाली युवाहरुको जोसजागरकै कारण अहिले अरबका मरभूमिहरुको स्वरुप परिवर्तन भएको छ ।
विकास र प्रविधिले फड्को मारेको छ । तर, राज्यको नीतिको अभावकै कारण नेपाली युवाहरुको श्रम सीपलाई प्रयोग गरेर नेपाललाई बदल्न सकिरहेको छैन् । अर्थात, प्रतिभाशाली र जोसजाँगर भएका युवाहरुलाई नेपालमा राख्न सकिरहेको छैन ।
वैदेशिक सहायता लिने नाममा नेपाललाई परनिर्भरता तर्फ उन्मुख गराउँदै आएको छ । त्यसकारण त्यस्ता सहायताहरुलाई लिने नीतिमा पनि केही परिवर्तन गर्न आवश्यक छ । अब विदेशीले दिने सहयोगलाई पैसाको रुपमा हैन,प्रविधि र ज्ञानलाई लिने खालको नीति ल्याउनुपर्छ ।