सोमबार, असार ९, २०८२

अपांगता दिवस औपचारिकतामात्रै, समस्या जस्ताका तस्तै

 |  मंगलबार, मंसिर १७, २०७६

ज्योति अधिकारी

ज्योति अधिकारी

मंगलबार, मंसिर १७, २०७६

काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको हस्तकला मेलामा सोमबार खोटाङका सुपर राई ह्विलचियरमा बसेर चित्र कोरिरहेका थिए। मेलामा आयोजित अपांगता भएका मानिसहरुबीचको चित्रकला प्रतियोगितामा भाग लिइरहेका थिए उनी। उनीजस्तै अन्य २० जना अपांगता भएका मानिसहरु चित्र बनाइरहेका थिए।

ह्विलचियरमा बसेर चित्र बनाउन सजिलो छैन उनलाई। एकैछिन आराम गर्दै, चित्र बनाउँदै गरिरहेका थिए। ३२ वर्ष पुगेका सुपर १६ वर्षदेखि आफ्नै खुट्टाको सहाराले हिँड्न सक्दैनन्। ०६० असार ७ गते उनको जीवनमा नसोचेको घटना भयो र त्यही घटनाले उनलाई सधैंका लागि खँजाहा बनाइदियो। त्यसदिन घाँस काट्न रुख चढ्दा लडेका सुपर त्यसपछि कहिल्यै रुख चढ्न नसक्ने भए।
एक हप्तासम्म घरेलु उपचार गर्दा बिसको उन्नाइस नभएपछि उनलाई चार दिन लगाएर डोकोमा हाली उदयपुरको बेल्टार अनि त्यसपछि गाडीमा काठमाडौं ल्याइयो। मेरुदण्ड भाँचिएको पीडामा डोको र गाडीको यात्राले झनै चुनचुक थपिदियो।

मेरुदण्ड भाँचिएकोले अप्रेसन गरे पनि निको नहुने भन्दै टिचिङ हस्पिटलले अपरेसन गर्न मानेन। ६ हप्ता यत्तिकै बित्यो। परिवारलाई झिनो आश थियो, त्यसैले अपरेसन गर्न कर गरे। अप्रेसन भयो तर सुपरलाई ठीक भएन। डाक्टरले उपचार सम्भव छैन भनिदिए। अस्पतालको ५८ दिनको बसाइपछि उनी डिस्चार्ज भए र गाउँ फर्के।

१६ वर्षको ऊर्जाशील उमेरमा स्कुल जान नपाउनु, हिँडडुल गर्न नपाउनु निकै पीडादायी थियो। सँगैका साथीहरु घरैअगाडिबाट स्कुल गएको देख्दा उनलाई जान मन नलागेको होइन। तर आफू हिँड्न नसकेपछि कसले लगिदिन्छ र ! आमाबुबालाई घरकै काममा भ्याइनभ्याई हुन्छ। स्कुल जानु एक–दुई दिनको कुरा थिएन, त्यसैले स्कुल जानबाट वञ्चित भए। गाउँमा ह्विलचियर थिएन। त्यसमाथि बाटो पनि उकालो–ओरालो।

अस्पतालमा डाक्टरले ‘उपचार सम्भव छैन’ भन्दा नै सुपरलाई बाँच्ने जीजीविषा मरिसकेको थियो। आत्महत्याको कोसिस पनि गरे तर त्यो बाटो पनि सहज थिए। हेर्दाहेर्दै साथीहरुले एसएलसी दिए, उनले दिन पाएनन्। ‘नामजस्तै सुपर बन्ने चाहना थियो तर लुजर भएँ। मेरै नामदेखि पनि घृणा लाग्छ आजकल,’ अहिले पनि विरक्तिन्छन् उनी।

घाइते भएको ८ वर्षसम्म उनी खोटाङ घरमै बसे। जीवन यसै पनि कष्टकर छँदै थियो, काठमाडौंमा संघर्ष गर्छु भनेर ०६९ सालमा काठमाडौंमा आए। सुपर अहिले जोरपाटीस्थित एक केयर सेन्टरमा छन्। त्यहाँ उनी थाङ्का बनाउँछन्। विगतलाई बिर्सन नसके पनि बिर्सने कोसिस गर्दै काममा ध्यान दिन्छन्। ‘साथीहरुसँग गफ गर्दै काम गर्न रमाइलै हुन्छ। विगत सम्झेर पनि के गर्नु, आफ्नो भाग्य नै यस्तै रहेछ। अब अवसरहरुको खोजीमा छु,’ उनले सुनाए।

सुपर राईजस्ता अपांगता भएका व्यक्तिहरुले भोग्नुपर्ने समस्या अनगिन्ती छन्। शारीरिक कठिनाइ त छँदैछ, समाजको हेलाहोचो र दुर्व्यवहारले काँडाझैँ घोचिरहन्छ। घरबाट निस्केदेखि नै समस्या सुरु हुन्छन्– शौचालय, भत्किएको बाटो, सवारीसाधनको चाप आदि।

अपांगता भएका मानिसहरुको लागि सार्वजनिक शौचालयको पहुँच निकै टाढाको कुरा हो। अधिकांश सार्वजनिक शौचालय अपांगतामैत्री छैनन्। ह्विलचियर प्रयोगकर्ता त झन् सार्वजनिक शौचालय प्रयोगको कल्पनासमेत गर्न सक्दैनन्। ह्विलचियर प्रयोगकर्ता सन्तोष भन्छन्, ‘बाहिर निस्कँदा हामी पहिल्यै तयार हुनुपर्छ। घरबाटै शौचालय गएर निस्कनुपर्ने हो कि प्लास्टिक ब्यागहरु बोकेर हिँड्नुपर्ने हो, सबै तयारी हुनुपर्छ।’ अपांगता भएकाहरुलाई सार्वजनिक स्थानबाहेक विभिन्न कार्यालयमा समेत समस्या पर्ने गरेको छ।

देखेर भन्दा सम्झिएर हिँड्नुपर्छ

२० वर्षकी रोशनी अधिकारी जन्मजात नै दृष्टिविहीन हुन्। नेपाल ल क्याम्पसमा बीए एलएलबी चौथो सेमेस्टरमा अध्ययनरत रोशनीलाई जन्मेको ११ औं दिनमा उनका बुबाआमाले रोशनी नाम राखिदिएका थिए। नजन्मिँदै आँखाको रोशनी हराएकी उनको नाम राख्दा बुबाआमाले छोरीले आँखा देख्न सक्दिनन् भन्ने थाहा चाल पाएका थिएनन्। अलि ठूली भएपनि मात्र उनले आँखा देख्न नसक्ने थाहा भयो।

जन्मजात आफूले पाएको अपांगताप्रति रोशनीलाई गुनासो भने छैन। गुनासो छ त अपांगता विरोधी भौतिक पूर्वाधार मानिसको सोचप्रति। सडक, सार्वजनिक यातायातलगायत सार्वजनिक संरचनाहरु अपांगमैत्री नहुँदा आफूले चाहेको काम गर्न नसकेकोमा उनको गुनासो छ।

रोशनी भन्छिन्, ‘सार्वजनिक स्थलहरु अपांगमैत्री त के, मानवमैत्री पनि छैनन्। हिजो कुन ठाउँमा के थियो भन्ने सम्झिएर हिँड्नुपर्छ। त्यसमाथि पनि हिजो ठीकठाक भएको बाटो आज भत्किसकेको हुन्छ। दृष्टिविहीनको लागि बनाइएको बाटोमा ट्याक्टाइल पनि कतै छैनन्। भएपनि हिँड्न नमिल्ने ठाउँमा छन्। ट्याक्टाइल पछ्याउँदै जाँदा कहिले बिजुलीको खम्बामा त कहिले सवारीसाधनमा ठोकिन पुगिन्छ।’ रोशनीजस्ता हजारौं दृष्टिविहीनले हरेक दिन यस्ता समस्या भोग्नुपर्छ।

क्याम्पस तथा पुस्तक पनि अपांगमैत्री नहुँदा समस्या छ रोशनीलाई। लाइब्रेरीमा पुस्तक भए पनि ब्रेल लिपीमा छैनन्। पछिल्लो समय इन्टरनेटले केही सहज भने भएको छ। अंग्रेजीका किताबहरु स्क्यान गरेर पढ्न सहज भए पनि नेपाली किताबमा निकै समस्या हुन्छ। रोशनीलाई नेपाली भाषाका किताब बुबाले पढेर सुनाउँछन्। अनेक कठिनाइका बाबजुद रोशनीले हिम्मत भने हारेकी छैनन्। नेपालको कानुनी क्षेत्रमा राम्रैसँग जम्ने उनको अठोट छ।

१३ वर्षका सुमन पौडेल पनि शारीरक अपांगता भएका किशोर हुन्। खुट्टामा समस्या भएका उनलाई स्कुलको पहिलो तलामा चढ्न नै निकै समस्या हुन्छ, किनभने स्कुलको भर्याङ अपांगमैत्री छैन। अपांगता भएका उनीजस्ता हजारौंको पहिलो माग छ– भौतिक संरचना अपांगतामैत्री हुनुपर्छ।

दिवस औपचारिकतामात्रै

संसारको कुल जनसंख्यामध्ये १५ प्रतिशतलाई कुनै न कुनै रुपको अपांगा रहेको बताइन्छ। हरेक ठाउँमा उनीहरुको समान पहुँच छैन। अपांगता भएका व्यक्तिहरुको हकहितका लागि भन्दै हरेक वर्ष डिसेम्बर ३ मा विश्व अपांगता दिवस मनाइँदै आएको छ।

दिवसको दिन गोष्ठी, सेमिनार, र्‍यालीजस्ता चेतनामूलक कार्यक्रम गरिन्छ। समानता र हौसलाको नारा गुञ्जायमान हुन्छ। तर नाराका कुरा व्यवहारमा लागू हुन नसकेको गुनासो अपांगता भएका व्यक्तिहरुको रहँदै आएको छ।

प्रकाशित: Dec 03, 2019| 08:28 मंगलबार, मंसिर १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।