काठमाडौं । अन्तर्राष्ट्रिय ब्यान्डविथका लागि डलर सिफारिस रोकिएपछि देशव्यापी रुपमा बन्द हुने भनिएको इन्टरनेट सेवाको सङ्कट तत्कालका लागि टरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इन्टरनेट सेवाप्रदायकहरूलाई सहजीकरण गर्ने आश्वासन दिएसँगै इन्टरनेट ब्यान्डविथमा देखिएको सङ्कट समाधान हुने देखिएको हो ।
सोमबार अपरान्ह इन्टरनेट सेवाप्रदायक सङ्घ नेपाल (आइस्पान)को टोलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीसँग भेटवार्ता गरेको थियो । त्यसक्रममा सेवाप्रदायकको मागप्रति आफू सकारात्मक रहेको भन्दै इन्टरनेट सेवा कुनै पनि हालतमा रोकिन नहुने तर्फ मन्त्रीले जोड दिएको बैठकमा सहभागी सङ्घका पूर्वअध्यक्ष विनय बोहोराले जानकारी दिए ।
नियामक नेपाल दूरसञ्चार प्राधिकरणले अन्तर्राष्ट्रिय ब्यान्डविथ आयातका लागि डलर सिफारिस गरिदिए पनि मन्त्रालयले सेवाप्रदायकहरूको बेरुजु देखाउँदै त्यसलाई रोकिदिएको थियो । ६ महिनाभन्दा लामो समयदेखि ब्यान्डविथको रकम भुक्तानी गर्न नसकेपछि एयरटेल, टाटा सहितका कम्पनीले ब्यान्डविथ रोकिदिने चेतावनी दिएका थिए ।
जसले गर्दा स्थानीय निर्वाचनको मुखमा नेपालको इन्टरनेट सेवा ठप्प हुने सम्भावना बढेको थियो । तर, सोमबार आएर मन्त्रालयले सेवाप्रदायकहरूको ब्यान्डविथको डलर सिफारिस पत्र दर्ता समेत गरिदिएको छ ।
यससँगै बेरुजुको विषय समाधान गर्न सेवाप्रदायकले तत्परता देखाउने र मन्त्रालयले डलर सिफारिस अगाडि बढाउने समझदारी जुटेको बुझिएको छ । ‘यद्यपि सोमबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस र मङ्गलबार सार्वजनिक बिदा परेका कारण डलर सिफारिसको कार्यका लागि बुधबारसम्म पर्खिनुपर्ने हुन्छ,’ सङ्घका पूर्वअध्यक्ष बोहोराले भने ।
यसका साथै सेवाप्रदायकहरूले इन्टरनेट सेवामा रहेको चर्को कर घटाउन र नेपाल विद्युत प्राधिकरणसँगको पोल भाडा समाधान गर्ने विषयमा समेत अग्रसरता देखाउन सञ्चार मन्त्रीलाई आग्रह गरेका थिए । त्यसो त सञ्चारमन्त्री कार्कीले यस अघि सार्वजनिक कार्यक्रममै आगामी बजेटबाट इन्टरनेटको कर केही मात्रामा घटाउने सङ्केत गरिसकेका छन् ।