सुनसरी- शव बोकेर विराटनगरबाट उदयपुर फर्किंदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ।
सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ७ हरिपुरमा ट्रक र एम्बुलेन्स ठोक्किदा एम्बुलेन्समा सवार एकै परिवारका ६ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा उदयपुर त्रियुगा नगरपालिका–१० का ५० वर्षीय तुलाबहादुर राई, ३४ वर्षीय दुर्गाधन राई, २८ वर्षीय टेकेन्द्र राई, ३५ वर्षीय मुकेश राई, ३२ वर्षीय दिनेश राई र २८ वर्षीय राजेश दनुवार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी विनोद शर्माले जानकारी दिए।
शनिबार राति करिब साढे १२ बजे दुर्घटना भएको थियो। दुर्घटनामा परी ज्यान गुमाएकाहरुको शव निकाल्न करिब ५ घण्टा लागेको डिएसपी शर्माले बताए। मृतक मध्ये काेकाे छाेरा र काेकाे नाति हुन् भन्ने खुलेकाे छैन।
उनका अनुसार आमा शिवमाया राईको शव बोकेर छोरा र नातिहरु घर (उदयपुर) फर्किदै थिए। साेही क्रममा वीरगञ्जबाट विराटनगर जाँदै गरेकाे ना २ ख ९०८२ नम्बरको ट्रकले को १ च ९३६४ नम्बरको शव बोकेको एम्बुलेन्सलाई ठक्कर दिएकाे थियाे ।
८५ वर्षीया शिवमायाको उपचारका क्रममा विराटनगरको गोल्डेन अस्पतालमा निधन भएको थियो।