शुक्रबार, जेठ ३, २०८२

विवाहपञ्चमी महोत्सव : सम्धी मिलन गरी सकियो तिलकोत्सव

रामजानकी विवाहोत्सव अन्तर्गत शुक्रबार जनकपुरधाममा तिलकोत्सव कार्यक्रम सम्पन्न भएको छ।
 |  शुक्रबार, मंसिर १३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १३, २०७६

जनकपुरधाम- रामजानकी विवाहोत्सव अन्तर्गत शुक्रबार जनकपुरधाममा तिलकोत्सव कार्यक्रम सम्पन्न भएको छ। केटा र केटीबीच विवाह हुने निश्चित भइसकेपछि दुबै परिवारका सदस्यले गर्ने छिनोफानो विधिलाई मैथिली संस्कृतिमा तिलकोत्सव भनिन्छ।

वैवाहिक कार्यक्रमपूर्व राम मन्दिरमा भव्य समारोहबीच मैथिली परम्परा अनुसार तिलकोत्सव कार्यक्रम सम्पन्न भएको हो। तिलकोत्सव कार्यक्रममा राम मन्दिरका महन्त राम गिरीले दशरथ र जानकी मन्दिरका महन्त रामतपेश्वर दास जनकको भूमिकामा थिए।

जनकको भूमिकामा रहेका जानकी मन्दिरका महन्त रामतपेश्वर दासले अयोध्याका साथै भारतको विभिन्न स्थानबाट आएका जन्तीहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए। 

यसैगरी अयोध्याबाट आएका साधुसन्तहरूले जानकी मन्दिर, राम मन्दिरका महन्तका साथै प्रशासनिक तथा सुरक्षा निकायका प्रमुखहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए।

दुबै पक्षले एक अर्कालाई सम्मान गरिसकेपछि जनकको भूमिकामा रहेका जानकी मन्दिरका महन्त दास र राम मन्दिरका महन्त गिरीले एक अर्कालाई अंगालो मारेर अभिनन्दन गरेका थिए। यसरी अंगालो मार्ने परम्परालाई मैथिली संस्कृतिमा ‘सम्धी मिलन’ भन्ने गरिन्छ।

तिलकोत्सव कार्यक्रम चलिरहँदा केटा र केटी पक्षबीच हुने हाँसो र ठट्यौलीले मनोरञ्जन प्रदान गरेको थियो। विवाहको छिनोफानो हुने क्रममा केटीपक्षले केटापक्षसँग मजाकका साथै ठट्यौली गर्ने मिथिला परम्परा रहेको छ।

खास गरेर विवाह गर्न दाइजो लिने परम्परामाथि व्यङ्गात्मक प्रहार गर्दै केटी पक्षका तर्फबाट उपस्थित महिलाहरुले ठट्यौली गर्ने परम्परा रहेको छ।

यसअघि तिलकोत्सवको अवसरमा जानकी मन्दिरबाट विभिन्न प्रकारका भार (पाहुर) राम मन्दिर पुर्याइएको थियो। विहेको छिनोफानो गर्न जँदा कोसेली लिएर जानुपर्ने परम्परा अनुसार जानकी मन्दिरबाट मिठाई, फलफूल, लत्ताकपडालगायतका सामग्रीसहित एक हजारभन्दा बढी पाहुर राम मन्दिर लगिएको थियो।

जानकी मन्दिरका महन्त दासको नेतृत्वमा बाजागाजासहित निस्केको टोली नगर क्षेत्रको परिक्रमा गर्दै राम मन्दिर पुगेको थियो।

पाहुरसहित निस्किएको टोलीमा सुरक्षा निकायका प्रमुख, प्रशासनिक प्रमुख, जनप्रतिनिधि, स्थानीय समाजसेवी, युवा, महिलाहरुको सहभागिता रहेको थियो।

प्रकाशित: Nov 29, 2019| 13:02 शुक्रबार, मंसिर १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।