काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आशन्न उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष तथा धाँधलीरहित हुनेमा आशंका उत्पन्न भएको बताएका छन् । उपनिर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट केन्द्रीय प्रतिनिधिको रुपमा बागलुङ खटिएका पौडेलले सत्तारुढ दलले सत्ताधारी उम्मेदवारलाई जिताउन राज्य सत्ताको चरम दुरुपयोग गरिरहेको आरोप लगाए।
निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न स्थानीय प्रशासनसँगको मिलेमतोमा सरकारले सबै खाले हतकण्डा अपनाइरहेको आरोप पौडेलले लगाए । ‘मौन अवधिमा सत्तारुढ दलका जनप्रतिनिधिहरुबाट विकास आयोजनाको आश्वासन बाँड्ने, आर्थिक चलखेल गर्ने जस्ता निर्वाचन आचार संहिता विपरितका कार्य भएका छन्,’ पौडेलले भने, ‘मौन अवधीमा जनप्रतिनिधिहरु आफ्नो मर्यादा भुली विवेकशील ढंगले चल्न नसक्दा र प्रशासनले समेत त्यसमा कुनै रोकतोक नलगाएको अवस्थामा चुनावको निश्पक्षतामाथि गम्भीर प्रश्न खडा भएको छ ।’
आचार संहिता विपरितका सबै खाले त्यस्ता गतिविधि विरुद्ध तत्काल कडा कदम चाल्न निर्वाचन आयोग समक्ष माग गर्दै पौडेलले पर्यवेक्षक, नागरिक समाज र संचार माध्यमहरुलाई समेत निरन्तर खबरदारीका लागि आग्रह गरेका छन् ।