दैलेख- दैलेखमा आज (शुक्रबार) भएको गाडी दुर्घटनामा परी घाइते भएकाहरुको विवरण खुलेको छ।
दैलेखका डिएसी हरिबहादुर ओलीले दिएको जानकारी अनुसार घाइते हुनेहरुमा सुर्खेत खजुराका मंगली गुरुङ्ग, मुकेस गुरुङ्ग, सुब्बाकुनाका देवीप्रसाद सुवेदी, तातापानीका मोहन परियार, झुमा परियार, चन्द्रा परियार, भिम परियार, धुलियाबिटकी चन्द्रकली सिङ्गौली रहेका छन्।
त्यस्तै दुल्लु नगरपालिका दैलेखका अभिषेक योगी, मेहेलतोलीका लक्ष्मीप्रसाद उपाध्याय, नारायण नगरपालिका–४ का डिलबहादुर कटुवाल र बाँके नौवस्ताका कर्णबहादुर बोगटी पनि घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको भे १ ज १०२९ नम्बरको फोर्स (हाईस) गाडी गुराँस गाउँपालिका–४ मुग्रा भन्ने ठाउँमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।
मृतकमध्ये एक जनाको सनाखत भएको छ। मृत्यु हुनेमा सानोश्री–८ बर्दियाका २९ वर्षीय मानबहादुर बुडुवाल रहेका छन्। वडुवालको साथमा रहेको परिचय पत्रका आधारमा उनको सनाखत भएको हो। अन्य एक महिला र एक पुरुषको भने विवरण खुल्न सकेको छैन।
गाडी सडकबाट करिब एक सय ५० मिटर तल खसेको थियो। गाडीचालक भने फरार छन्। घाइते सबैलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेतमा पठाइएको छ।