काठमाडौं । काठमाडौंको नर्भिक इन्टरनेसनल हस्पिटलमा स्तन बचाएर क्यान्सरको उपचार भएको छ । भारतका प्रतिष्ठित स्वास्थ्य संस्थाहरुमा स्तन क्यान्सरको विषयमा खोज गरेकी नेपाली चिकित्सक तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर बानिरा कार्कीले स्तन बचाएरै स्तन क्यान्सरको उपचार गरेकी हुन् ।
अत्याधुनिक उपचार सेवा दिइरहेकी डा. कार्की काठमाडौंमा उपलब्ध एकमात्र महिला स्तन क्यान्सर विशेषज्ञ तथा सर्जन पनि हुन् । महिला सर्जनबाटै महिलाहरुको स्तन क्यान्सरको शल्यक्रिया सेवा केही सहज हुने हुँदा डा. कार्कीसँग सेवा लिनेहरु पछिल्लो समय बढिरहेका छन् ।
डा. कार्कीले हाल नर्भिक अस्पतालमा प्रत्येक हप्ताको सोमबार, बुधबार र शुक्रबार बिहान ९ बजेदेखि ११ बजेसम्म २ घण्टा स्तन क्यान्सर महिलाहरुलाई लक्षित गरी ओपिडी सेवा दिइरहेकी छिन् । त्यसबाहेक स्तन क्यान्सरको सर्जरी सेवा पनि उनले दिइरहेकी छिन् ।
‘अहिलेसम्मको अध्ययनको निष्कर्ष हेर्दा महिलाहरुले लाज, धक र डर तथा पुरुष डाक्टर भएकै कारण समयमै ब्रेस्ट क्यान्सरको लक्षणको विषयमा बताउन चाहँदैनन्’ डा. कार्की भन्छिन् ‘तर सर्जन पनि महिला नै हुँदा क्यान्सरबाट पीडित महिलाहरुले समयमै आफ्नो समस्या बताउन सक्छन्, समयमै थाहा भयो भने स्तन क्यान्सरको उपचार सम्भव छ ।’
डा. कार्कीका अनुसार प्रत्येक ४ महिलामध्ये १ महिला स्तन क्यान्सरबाट पीडित हुने गरेको पछिल्लो एक अध्ययनले देखाएको छ । यस्तै, विश्वका ६ महिलामध्ये एकजनाको स्तन क्यान्सरकै कारण ज्यान जाने गरेको छ । यो अनुपात अझै बढ्ने संभावना देखिएकोले समेत नेपालमा स्तन क्यान्सरको विषयमा राम्रो जनचेतना आवश्यक रहेको डा कार्की बताउँछिन् ।
यही आवश्यकतालाई महसुस गर्दै नर्भिकले समेत स्तन क्यान्सरको समस्यालाई विशेष प्राथमिकतामा राखेर यो सेवा दिइरहेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले बताए ।
पछिल्लो समय स्तन क्यान्सरको उपचार(शल्यक्रिया) स्तन नकाटीसमेत गर्ने चलन सुरु भएको छ, नर्भिकमा पनि यो सेवा उपलब्ध हुन्छ । डा कार्की भन्छिन् ‘स्तन नकाटी शल्यक्रिया गर्दा पीडित महिलाहरुलाई सामाजिक रुपमा पुनःस्थापित गराउन सहज हुन्छ र उनीहरुको मनोविज्ञानमा समेत खासै ठूलो असर नगर्ने रहेछ । फिमेललाई साइक्लोजिकल ट्रमाबाट बचाउन सकिन्छ।’
डा. कार्कीले भारत टाटा मेडिकल सेन्टर लगायतका प्रतिष्ठित संस्थाहरुमा ब्रेस्ट क्यान्सर विषयमै फेलोसिप गर्दा ७०० हाराहारी महिलाहरुको शल्यक्रिया गरेकी छिन् । उनीसँग जनरल ल्याप्रोस्कोपिक सर्जनको रुपमा धुलिखेल अस्पताल लगायतमा समेत काम गरेको अनुभव छ ।
नर्भिक अस्पतालले कम्प्रिहेन्सिभ क्यान्सर केयरसहितको दक्षिण एसियाकै स्तरीय उपचार सेवा उपलब्ध गराउने हेतुले थापाथलीस्थित अहिलेको अस्पताल क्षेत्रमै अर्को भवन समेत निर्माण थालिसकेको छ । क्यान्सरसँग सम्बन्धित सबै खालका सेवाहरु निकट भविष्यमै उपलब्ध गराउने नर्भिक अस्पतालको योजना छ ।