काठमाडौं । नेपालमा कार्ड र भुक्तानी प्लेटफर्म प्रदायक कम्पनी स्मार्ट च्वाइस टेक्नोलोजीज (एससीटी) ले सेवाहरूमा सुधारको घोषणाका साथै नयाँ लोगो सार्वजनिक गरेको छ । नेपालबाट सञ्चालित यस कम्पनीले ‘क’ वर्गका वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थालाई विभिन्न प्रकारका कार्ड र भुक्तानी प्लेटफर्म उपलब्ध गराउँदै आएको छ ।
कम्पनीका अनुसार एससीटी नेपाललाई पहिलोपटक नयाँ इन्टग्रेटेड सेयर्ड स्विचिङ पेमेन्ट नेटवर्क र डोमेस्टिक प्रोपाइटरी कार्ड योजनासँग परिचित गराउने पथप्रदर्शक रहेको छ । एससीटीले आफ्ना आयामहरूलाई अझ विस्तृत गर्दै विविध किसिमका सेवाहरूलाई एउटै छातामुनि एकीकृत गरेको छ ।
यसले दोहोरो इन्टरफेसदेखि डेबिट र प्रिपेड कार्ड, एटीएम र पीओएसको परस्पर सम्बन्ध, बीएफआईबीचको अन्तरसञ्चालन, अन्तर्राष्ट्रिय योजनाहरूको गेटवे, क्यूआरसी भुक्तानी प्लेटफर्म र यसमार्फत वित्तीय प्रविधिको पूर्ण समाधानसम्मका विविधतापूर्ण भुक्तानी सेवाहरू प्रवाह गर्दै नेपालमा डिजिटल भुक्तानीको पूर्वाधार र विकासमा सघाउ पुर्याएको छ ।
कम्पनीले काठमाडौंमा जारी क्यान इन्फोटकमा आफ्नो नयाँ लोगो सार्वजनिक गरेको हो । 'प्रविधिको क्षेत्रमा एक दशकभन्दा बढी समयदेखि आयोजना गरिँदै आएको क्यान इन्फोटेकमा हाम्रो लोगो र सेवाहरू सार्वजनिक गर्नु यस इभेन्टभन्दा उचित अवसर अरू कुनै हुन सक्दैन', सीईओ नारायणप्रकाश भुजूले भने ।
सन् २००१ मा स्थापित, एससीटी र एसीटी नेटवर्कका रूपमा चिनिने स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेड, नेपाल राष्ट्रिय बैंकअन्तर्गत लाइसेन्सप्राप्त भुक्तानी सेवा अपरेटर (पीएसओ) हो ।
एससिटीले नेपालका अधिकांश वाणिज्य बैंकहरू, विकास बैंकहरू, पिएसपि (पेमेन्ट सर्भिस प्रोभाइडर) र अन्य वित्तीय संस्थाहरूलाई विभिन्न कार्डहरू र भुक्तानी प्लेटफर्महरू उपलब्ध गराउँछ। साथै आफ्ना सेवाहरू र पहुँच विस्तार गर्न अन्तर्राष्ट्रिय भुक्तानी प्रोसेसर र योजनाहरू (युनियन पे इन्टरनेस्नल,पल्स नेटवर्क, र एफएसएस आदि) सँग रणनीतिक गठबन्धनमा पनि प्रवेश गरेको छ।