काठमाडौं । नेपालकै अग्रणी फिनटेक कम्पनी आइमार्क प्रालि र ५५ भन्दा बढी देशमा सञ्जाल रहेको गिफ्टबीच गिफ्ट लोयल्टी कार्यक्रममा सहकार्य हुने भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमबीच आइमार्क तथा गिफ्टको संयुक्त सहकार्यमा लोयल्टीसँग सम्बन्धित कार्यक्रम सम्पन्न भएको हो ।
यो गिफ्ट लोयल्टी कार्यक्रम मुख्यतः बैंक, एयरलाइन्स, टेलिकम, इन्स्योरेन्स, सुपर मार्केट तथा अन्य रिटेल पसलमा सञ्चालन गर्न सकिन्छ । एक पटक गिफ्ट डट कममा आबद्ध भएपछि गिफ्टको सञ्जाल भएका कुनै पनि मुलुकमा लोयल्टी प्वाइन्ट साट्न वा उपभोग गर्न सकिनेछ । सो गिफ्टको ५५ भन्दा बढी देशमा सञ्जाल रहेको छ ।
नेपालमा हालसम्म इन्टर ओपेरेबल लोयल्टी कार्यक्रम नरहेको र यस किसिमको कार्यक्रम पहिलो पटक भएको आइमार्क प्रालिका निर्देशक आशिस शर्माले जानकारी दिए । सो कार्यक्रममा गिफ्टका सेल्स डाइरेक्टर दिपा स्वामी तथा सेल्स प्रेसिडेन्ट दिलिप डीएसले लोयल्टीको महत्व र यसले ग्राहकलाई जोगाई राख्ने विषयमा प्रस्तुति दिएका थिए ।

सो अवसरमा आइमार्क प्रालिको बिलिङ तथा मौज्दात व्यस्थापन सफ्टवेयर तथा मोबाइल एप ‘मुगु सप’ सार्वजनिक गरिएको थियो । साना किराना पसलदेखि दैनिक कारोबार गर्ने ठूला तथा मध्यम कम्पनीहरुले यो एपमा बिलिङ सेल इन्भोइस, भुक्तानी, छुट, खरिद, बिक्री सूचीलगायतका विवरण राख्न सक्ने छन् ।
यसका साथै बिलिङ, खाता व्यवस्थापन, सामानहरूको सूची व्यवस्थापन, कर्मचारीको हाजिरी, रिपोर्टिङ, अनलाइन स्टोर सञ्चालन, ग्राहकसँगको सम्बन्ध व्यवस्थापन (सीआरएम) तथा लोयल्टी व्यवस्थापन जस्ता सेवा समेत प्रयोगकर्ताले लिन सकिने आइमार्क प्रालिका डाइरेक्टर आशिस शर्माले जानकारी दिए ।
कापी कलमले लेखेर अभिलेख राख्ने पुरानो पद्धतिभन्दा यो एपको माध्यमबाट सबै कारोबारका अभिलेखहरू सहजै राख्न र परिमार्जन गर्न सकिने कम्पनीले जनाएको छ । मुगुसप एप रिटेल, किराना पसल, स्पा, सैलुन, रेस्टुराँ तथा क्याफे उद्यमीहरूले प्रयोग गर्न सक्ने आइमार्कका व्यवस्थापक सुयस चन्दले बताए ।
करिब एक महिना पहिलेदेखि परीक्षणका रूपमा सञ्चालनमा आएको मुगुसप छोटो समयमा नै धेरैले प्रयोग गर्न थालिसकेको कम्पनीले जनाएको छ ।
नेपालको अग्रणी फिनटेक कम्पनी आइमार्कमा १५० बढी कर्मचारी कार्यरत छन् । आइमार्कले नेपालका हरेक बैंकलाई आफ्नो सेवा प्रदान गरिरहेको छ । हाल आइमार्कले २० हजार बढी मर्चेन्टमा कार्डबाट भुक्तानी गर्न सक्ने पीओएसको सेवा प्रदान गरी रहेको छ ।
काठमाडौंको डिल्ली बजारमा आफ्नो प्रधान कार्यालय रहेको आइमार्कको नेपाल बाहेक भुटान, बर्मा, भारत तथा अमेरिकामा समेत सेवा दिँदै आएको छ ।