विश्वका सर्वाधिक धनी एलन मस्क सोसल मिडिया कम्पनी ट्विटर किन्न खोजिरहेका छन् । यसका लागि उनले ठूलो रकमको बोलीसमेत लगाइसकेका छन् ।
यसअघि उनले धम्की दिँदै आफूले किन्ने योजना कम्पनीले लत्यायो भने त्यसमा रहेको आफ्नो लगानीलाई नयाँ तरिकाले सोच्ने बताइसकेका छन् ।
ट्विटरलाई मस्कले जबर्जस्ती टेकओभर गर्न सक्ने शंका कम्पनीले गरेको छ ।
यसबाट बचाउन कम्पनीले पोइजन पिलको सहारा लिएको छ ।
तर, ट्विटर बोर्डको यस्तो व्यवहार मस्कलाई मन परेको छैन । उनले एक प्रयोगकर्ताको जवाफमा ट्विट गर्दै आफ्नो योजना स्वीकृत भयो भने बोर्डको सेलरी जिरो हुने बताएका छन् ।
‘प्रत्येक वर्ष ३० लाख डलर बचतसमेत हुन्छ’, उनले भनेका छन् ।
मस्कसँग हाल ट्विटरको ९.१ प्रतिशत सेयर छ । उनी कम्पनीको दोस्रो ठूलो सेयरहोल्डर हुन् ।
गत हप्ता ट्विटरको शतप्रतिशत हिस्सा खरिद गर्न ४३ अर्ब डलरको प्रस्ताव गरेका थिए ।
किन मरिहत्ते गर्दैछन् मस्क ?
ट्विटर बोर्डले गत शुक्रबार प्रेस कन्फ्रेन्स गर्दै ‘पोइजन पिल’ प्रावधान लागू गर्ने घोषणा गरेको थियो ।
पोइजन पिल भनेको कम्पनीलाई जबर्जस्ती टेकओभरबाट बचाउने एउटा नीति हो । मस्क वा अन्य कुनै पनि व्यक्तिले १५ प्रतिशतभन्दा बढीको सेयर लिन्छ भने यो प्रावधान लागू हुन्छ ।
ट्विटरका अनुसार राइट्स प्लानबाट कुनै पनि कम्पनी, व्यक्ति वा ग्रुपको ओपन मार्केटबाट सेयर किनेर ट्विटर कब्जा गर्ने सम्भावना कम हुनेछ ।
टेस्ला र स्पेसएक्सका सीईओ मस्कले ट्विटरको ५४.२० डलर प्रतिसेयरको भाउमा किन्ने योजना अघि सारेका छन् ।
उनले अप्रिलमा ट्विट गर्दै ट्विटरको सेयर किन्ने खुलासा गरेका थिए ।