सोमबार, असार ९, २०८२

सहरमा पनि उस्तै छ छाउ

छाउपडी प्रथा उन्मूलन निर्देशिका बनेको एक दशक बितिसक्दा पनि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । सर्वोच्च अदालतले २०६२ सालमा छाउपडी प्रथा उन्मूलन गर्न आदेश दिएपछि छाउपडी प्रथा उन्मूलन निर्देशिक २०६४ लागू भएको थियो ।
 |  आइतबार, मंसिर ८, २०७६

ज्योति अधिकारी

ज्योति अधिकारी

आइतबार, मंसिर ८, २०७६

काठमाडौंं– गत वैशाखमा काठमाडौंका मोहन पोखरेल र गोरखाकी भावना गुरुङको अन्तरजातीय विवाह भयो । काठमाडौं बस्दै आएका पोखरेलको परिवारले विवाह स्वीकारे । तर, भावनाको भावना बुझ्ना सकेनन् ।

बिहेको हप्ता दिनपछि जब भावनाको महिनावारी भयो, उनलाई घरको भान्छामा प्रवेश गर्न दिइएन । न त आफ्नो ओछ्यानमा नै सुत्न दिइयो । अझ खाना खाने भाँडा पनि ५ दिनसम्म छुट्टै बनाइयो । गुरुङ समुदायमा हुर्केकी भावनाले बिहेअगाडि कहिले पनि रजस्वलाको समयमा यसरी बार्नु परेको थिएन ।

गुरुङ समुदायमा रजश्वला भएको बेलामा छोइछिटो गर्ने प्रचलन छैन त्यसैले पनि भावनालाई यो कुराले निकै दुःखी बनायो । मोहनको ब्राह्मण परिवारमा भने महिनावारी हुँदा भान्सामा पस्न नहुने, कसैलाई छुन नहुने, छुट्टै ओछ्यानमा सुत्ने, छुट्टै भाँडामा खाने, पूजापाठ गर्न नहुने, छोरामान्छेलाई छुन नहुने कुराहरु सामान्य नै हुन् । भावनाले मोहनको घरमा आएपछि त्यहीअनुसार नियम मान्नुपर्ने भयो ।

भावना भन्छिन्, ‘गाउँमै भएपनि मैले रजश्वलाको समयमा कुनै किसिमको नकारात्मक व्यवहार भोग्नु परेको थिएन तर सहर त झनै कठोर हुँदो रहेछ ।’

भावनाले महिनावारीको समय सामान्य अवस्था हो भनेर परिवारमा सम्झाउने प्रयास गरिन् तर सबै बेकार भयो । सासुससुराले उनको कुरा सुनेनन् । अहिले उनी घरकै रितिरिवाजमा अभ्यस्त भइसकेकी छिन् । पुरातन सोच हटाउनुपर्छ भनेर विद्रोह गरेपनि उनको विद्रोह सफल हुन सकेन ।

काठमाडौं बालाजुकी बिना थापा महिनावारीको समयमा अलग्गै कोठामा सुत्ने र छुट्टै भाँडामा खाने गर्छिन् । महिनावारीको समयमा यस्तो भेदभाव गर्नु हुँदैन भन्ने पनि थाहा छ उनलाई । तर बदल्न सकेकी छैनन् । बिना भन्छिन्, ‘पहिलेदेखि चल्दै आएको रितीलाई बदल्न सकिँदो रहेनछ ।’

चितवनकी पूजा पौडेल विवाहित हुन् । महिनावारीको समयमा नचाहँदा नचाहँदै पनि उनले महिनावारी बार्नुपर्छ । ‘सासुआमाको कुरालाई नकार्न सकिँदैन । सुत्नको लागि आफ्नै कोठामा पनि भुँइमा सुत्नुपर्छ ।’ श्रीमान्ले साथ दिए पनि सासुआमाको अगाडि श्रीमान्लाई पनि छुन नपाउने पूजाको गुनासो छ । ‘हामीलाई थाहा छ महिनावारी बार्नुपर्ने, भान्छामा जान नहुने आदि कुरा फजुल हुन् । हामीले नभन्ने हो भने कसलाई थाहा हुन्छ र ? तर घरका बूढाबूढीको मन राख्न कहिले त आफूले नचाहेको कुरा पनि गर्नुपर्छ । कुनै–कुनै महिनामा त नभनिकनै भात पकाउँछु र पूजा कोठामा पनि जान्छु । गतवर्ष दसैंको टीकाको दिन महिनावारी हुँदा पनि कसैलाई नभनी टीका लगाएँ । अहिलेसम्म केही पनि भएको छैन,’ पूजाले सुनाइन् ।

गत वर्ष अछामको तुर्माखाँद गाउँपालिका–४ जयागाउँमा रजश्वला भएर छाउगोठमा सुतिरहेकी पार्वती बुढाको सर्पले डसेर मृत्यु भयो । उनको मृत्यु भएपछि त्यहाँ छाउगोठ भत्काउने र महिनावारी हुँदा महिलालाई सुरक्षित ठाउँमा राख्नुपर्छ भन्ने आवाज उठे । केही छाउगोठ भत्काइए पनि । तर केही समयपछि भत्काइएका छाउगोठ पुनः उठाउन थालियो । भत्काउनुपर्छ भन्ने अभियन्ताहरु नै रजश्वला हुँदा छाउगोठमा बस्न थाले ।

भावना, पूजा, बिना र पार्वतीको उदाहरणबाट के बुझ्न सकिन्छ भने ग्रामीण क्षेत्र होस् वा सहर, महिनावारीको परम्परागत मान्यता जीवितै छ । फरक यति हो कि सहरी क्षेत्रमा महिनावारी हुँदा महिलाहरु घरबाट टाढा जानु पर्दैन ।

मानसिकता परिवर्तन गर्न जरुरी छः डा.उप्रेती

छाउपडीलाई कुप्रथा मानेर यसविरुद्ध अभियान चलाइरहेकी डा.अरुणा उप्रेती हरेकको मानसिकतामा परिवर्तन नआएसम्म यो कुप्रथा नहट्ने बताउँछिन् । ‘छाउको बारेमा नजान्दै मैले १२ वर्षको उमेरमा ‘छाउपडी’ विरुद्ध क्रान्ति नै गरेकी थिएँ भन्ने अहिले भान भइरहेछ । दसैंको बेलामा पहिलोपल्ट महिनावारी भयो । साथीहरुलाई पहिलो महिनावारीको समयमा बाहिर निस्कन नदिएको देखेकी थिएँ । घरमा भन्यो भने त कोठामा थुनिदिन्छन् र दसैँको रमाइलो मिस हुन्छ भनेर कसैलाई केही भनिन । त्यसपछि पनि मैले कहिल्यै छाउप्रथा मानिनँ । अहिले छोरीहरुलाई पनि कुनै नियम लगाउदिनँ,’ डा. उप्रेतीले आफ्नै अनुभव सुनाइन् ।

कतिपयले पारिवारिक बाध्यताका कारण त कतिपयले पाप लागछ भन्ने हिनताबोधका कारण महिनावारी बारिरहेको उनी बताउँछिन् । कतै महिनावारी भएको महिलाले छुँदा माटो रिसाउँछ भन्नु त कतै छोएको भाँडा ओभानो नबनाई अरुले प्रयोग गर्नु हुँदैन भन्ने मानसिकता एकै प्रकारको भएको उनको तर्क छ ।

निर्देशिका कार्यान्वयन भएन
छाउपडी प्रथा उन्मूलन निर्देशिका बनेको एक दशक बितिसक्दा पनि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । सर्वोच्च अदालतले २०६२ सालमा छाउपडी प्रथा उन्मूलन गर्न आदेश दिएपछि छाउपडी प्रथा उन्मूलन निर्देशिक २०६४ लागू भएको थियो ।

निर्देशिकामा ‘छाउपडी प्रथा उन्मूलन गर्न सार्वजनिक जवाफदेहीको पदमा रहेका व्यक्ति, प्रभावित बालिका तथा महिलाको परिवारका सम्पूर्ण सदस्यहरु एवं समाजका आमनागरिकको छाउपडी प्रथा उन्मूलन गर्ने दायित्व हुने’ उल्लेख छ । तर, १२ वर्ष बितिसक्दा पनि छाउपडी उस्तै नै छ ।

कतिपय समुदायमा भने परम्परागत रुपमा नै महिनावारीलाई सामान्य रुपमा लिइन्छ । गुरुङ तथा तामाङ समुदायका महिला महिनावारी बार्दैनन् । उनीहरु गुम्बा पनि जान्छन्, पूजाआजामा पनि भाग लिन्छन् ।

प्रकाशित: Nov 24, 2019| 12:12 आइतबार, मंसिर ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।