काठमाडौं । साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले विद्युतीय बस जैविक इन्धनबाट चल्ने बसभन्दा सस्तो र भरपर्दो रहेको बताएका छन् । काठमाडौंमा जारी ऊर्जा सम्मेलनको दोस्रो दिन आयोजित एक सत्रमा उनले जैविक इन्धनबाट चल्ने सवारीसाधनका कारण सडक तथा वातावरणमा ध्वनी तथा वायु प्रदूषण बढेको भन्दै त्यसको न्यूनीकरण गर्न सरकारले विद्युतीय यातायातमा जोड दिनुपर्ने बताए ।
सरकारले साझा यातायातलाई ३ सयवटा विद्युतीय बस किन्नका लागि रकम उपलब्ध गराएको उनले जानकारी पनि दिए । देशमै उत्पादन हुने बिजुलीको खपत बढाउन पनि विद्युतीय सवारी पहिलो आवश्यकता रहेको उनको भनाइ थियो ।
दीक्षितले काठमाडौं उपत्यकामा बिजुली बस सवैभन्दा उत्तम हुने दाबी गरे । बिजुली बस सञ्चालनमा आएपछि व्यापार घाटा पनि कम हुने उनको भनाइ थियो ।