शुक्रबार, जेठ ३, २०८२

नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आह्वान

ऊर्जामन्त्री वर्षमान पुनले लगानी संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताए। उनले दक्षिण एसियाको विकासका लागि ऊर्जा विकास अपरिहार्य भएको दाबी गरे।
 |  बिहीबार, मंसिर ५, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ५, २०७६

काठमाडौं - सरकारले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आह्वान गरेको छ।

राजधानीमा बिहीबार सुरु भएको ऊर्जा सम्मेलन २०१९ मा सम्बोधन गर्दै ऊर्जामन्त्री वर्षमान पुनले भने, ‘नेपालमा उत्पादित बिजुली भारत, बंगलादेश हुँदै पूरै दक्षिण एसियासम्म पुर्याउन सकिन्छ। यहाँको ऊर्जामा लगानी गर्दा बजारको समस्या हुँदैन। लगानीकर्ताका लागि अहिले उपयुक्त समय हो।’

उनले लगानी संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताए। उनले दक्षिण एसियाको विकासका लागि ऊर्जा विकास अपरिहार्य भएको दाबी गरे।

भुटानका आर्थिक मामिलामन्त्री लोकनाथ शर्माले दक्षिण एसियामा उत्पादित जति पनि बिजुली खपत हुने बताए। उनले भने, ‘आर्थिक विकास हुँदै गएको छ। विद्युत्को माग पनि बढिरहेको छ। उत्पादित बिजुली सबै खपत हुन्छ।’

उनले पनि ऊर्जामा लगानी गर्दा राम्रो प्रतिफल पाइने दाबी गरे।

बंगलादेशका ऊर्जामन्त्री नसरुल हामिदले नेपाल, भारत, भुटान र बंगलादेशबीच भएको उपक्षेत्रीय कनेक्टिभिटी सम्झौता स्मरण गर्दै बंगलादेशका लागि क्रसबोर्डर विद्युत् व्यापार सबैभन्दा महत्त्वपूर्ण रहेको बताए।

उनका अनुसार यसका लागि द्विदेशीय र त्रिदेशीय सम्झौता भइसकेको छ। बंगलादेशले भारतबाट ११६० मेगावाट बिजुली आयात गरिरहेको जानकारी पनि उनले दिए।

कार्यक्रममा भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपालको विद्युत् क्षेत्रमा व्यापक सम्भावना रहेको बताए। उनले भने, ‘भारत जलविद्युत् क्षेत्रको भारत निःसन्देह ठूलो खेलाडी हो। नेपालका ठूला–ठूला आयोजनामा भारतले लगानी गरेको छ।’

उनले पञ्चेश्वर र महाकाली आयोजना ‘गेमचेन्जर’ आयोजना रहेको भन्दै नेपालको जलविद्युत् क्षेत्रप्रति भारतीय लगानीकर्ता आकर्षित हुँदै गएको बताए।
विश्व बैंकका नेपाल प्रमुख फारिस हाडाज जेभोर्सले बिजुली विना आर्थिक वृद्धि सम्भव नहुने बताए। उनले नेपालमा उत्पादित बिजुलीको बजार भारत, बंगलादेशलगायतका दक्षिण एसियाली मुलुक रहेको बताए।

अहिले नेपालले विद्युत् क्षेत्रमा वार्षिक १.२ अर्ब लगानी गरिरहेको सन्दर्भ कोट्याउँदै उनले अब वार्षिक २.१ अर्ब रुपैयाँ लगानी गर्न सुझाव दिए।

नेदरल्यान्ड डेभलपमेन्ट फाइनान्स कम्पनी (एफएमओ) की फाइनान्सियल इन्भेस्टमेन्ट अफिसर लिन्डा ब्रोएकुइजेनले एफएमओले नेपालको ‘क्रस बोर्डर ट्रान्समिसन’ का वैदेशिक लगानीको खाँचो रहेको बताइन्।

सम्मेलन आयोजक स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान) का अध्यक्ष शैलेन्द्र गुरागाई‌ले विद्युत्को बजार खोज्न सम्मेलनले सघाउ पुर्याउने विश्वास व्यक्त गरे। दुई दिनसम्म चल्ने सम्मेलनमा विभिन्न देशका ७ सय लगानीकर्ता सहभागी छन्।

प्रकाशित: Nov 21, 2019| 08:33 बिहीबार, मंसिर ५, २०७६
प्रतिक्रिया दिनुहोस्