जनकपुरधाम- रामजानकी विवाहोत्सवको अवसरमा मनाइने विवाहपञ्चमीमा राष्ट्रिय बिदा दिनु पर्ने माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाइएको छ।
जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले विवाहपञ्चमीमा सार्वजनिक बिदा दिनु पर्ने माग गर्दै प्रधानमन्त्री ओलीलाई पत्र पठाएका हुन्।
देश विदेशका हिन्दू धर्मावलम्बीका लागि विवाहपञ्चमी पहिचानको रूपमा रहेको भन्दै यसको थप गरिमा बढाउन बिदा घोषणा गर्नुपर्ने पत्रमा उल्लेख छ।
यसअघि पनि विवाहपञ्चमीमा सरकारले सार्वजनिक बिदा दिनुपर्ने माग उठेको थियो।
प्रदेश २ सरकारले यस अवसरमा सार्वजनिक बिदा घोषणा गरे पनि संघीय सरकारले हालसम्म बिदा दिएको छैन।
आर्थिक अभाव
यस पटकको विवाहपञ्चमीलाई विशेष भनिएको छ।
विवाहपञ्चमीको अवसरमा हरेक पाँच वर्षपछि भारतको अयोध्याबाट विशेष जन्ती आउने गरेका छन्। सोहीअनुसार यसपटक साधुसन्तका रूपमा विशेष जन्ती आउन लागेका हुन्।
तर, विवाहपञ्चमी आयोजनमा आर्थिक अभाव देखिएको व्यवस्थापन पक्षले जनाएको छ। मेला व्यवस्थापन, स्वयंवर, तिलकोत्सव लगायतका वैवाहिक कार्यक्रमका लागि आर्थिक समस्या देखिएको जानकी मन्दिरले जनाएको छ।
लाखौंको संख्यामा श्रद्धालु सहभागी हुने विवाहोत्सवमा राज्यतर्फबाट प्रशासनिकबाहेक अन्य कुनै सहयोग हुन नसकेको उत्तराधिकारी महन्थ दासको भनाइ छ।
चार हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी
रामजानकी विवाहोत्सवका दिन जनकपुरमा चार हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको छ।
विवाहोत्सवमा सहभागी हुने श्रद्धालुको सुरक्षाका साथै शान्तिपूर्ण वातावरणमा मेला सम्पत्र गर्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्ने तयारी भएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए।
विवाहपञ्चमीको दिन जनकपुरमा दुई हजारदेखि तीन हजारसम्म नेपाल प्रहरी, सयभन्दा बढी ट्राफिक प्रहरी र ७ सय भन्दाबढी सशस्त्र प्रहरी परिचालन गर्ने तयारी रहेको बताइएको छ। यसैगरी प्रहरीले संवेदनशील सयभन्दा बढी स्थानमा सीसीटीभी क्यामरा जडान गरी निगरानी राख्ने तयारी गरिएको छ।
साताव्यापी कार्यक्रमसहित १५ मंसिरमा विवाहपञ्चमी मनाइँदै छ। साताव्यापी कार्यक्रमअनुसार विवाहोत्सवको पहिलो दिन मंसिर १० गते जनकपुरधाम नगर दर्शन, ११ गते फूलबारी लीला, १२ गते धनुषयज्ञ, १३ गते तिलकोत्सव, १४ गते मटकोर, १५ गते स्वयंवर र १६ गते वैवाहिक कार्यक्रम छ।
अन्तिम दिन अयोध्याबाट आएका जन्तीलाई बिदाइ गरिनेछ।