काठमाडौं । मोरङमा एक वडाध्यक्षलाई २१ हजार घूस रकमसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ। जिल्लाको जहदा गाउँपालिका–१ का कार्यवाहक वडाध्यक्ष उमेशकुमार साहलाई घूस रकमसहित अख्तियार टोलीले मंगलबार पक्राउ गरेको हो।
आयोग इटहरीको टोलीले साहलाई वडा कार्यालयबाट रंगेहात पक्राउ गरेको जनाएको छ। सडक स्तरोन्नतिका लागि दुई लाख रुपैयाँको योजना सम्झौता गर्ने क्रममा साहले २१ हजार घूस मागेको बुझिएको छ। हत्या आरोप लागेका वडा अध्यक्ष प्रदीप यादव फरार भएपछि साहलाई कार्यवाहक दिइएको थियो ।