काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको प्रमुखका लागि तीन जनाको नाम शर्ट लिस्टमा परेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको छनौट समितिले टेलिकमको प्रबन्ध निर्देशक पदमा नियुक्ति गर्न बुद्धि आचार्य, संगीता पहाडी र सुनिल पौडेलको नाम सिफारिस गरेको हो ।
मन्त्रालय निकट उच्च स्रोतका अनुसार बिहीबार बस्ने मन्त्रिपरिषद्मा नियुक्तिको निर्णय हुनेछ । शर्टलिस्टमा रहेका तीन जना मध्ये एक जनालाई मन्त्रिपरिषद्ले टेलिकमको कार्यकारी प्रमुखमा नियुक्तिको निर्णय गर्नेछ ।
सिफारिसमा पर्नेहरूमा नाम समावेश भएका बुद्धि आचार्य टेलिकमका पूर्व प्रबन्ध निर्देशक हुन् भने संगीता पहाडी टेलिकमकै वरिष्ठ कर्मचारीको रुपमा कार्यरत छिन् । अर्का सुनिल पौडेल भने राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक हुन् ।
निवर्तमान प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीको कार्यकाल समाप्त भएसँगै टेलिकम गत पुसदेखि नेतृत्व विहीन अवस्थामा रहेको छ । टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति सम्बन्धी कार्यविधिमा विवाद उत्पन्न भएपछि उक्त मुद्दा सर्वोच्च अदालतमा पुगेको थियो ।
तर सर्वोच्च अदालतले उक्त रिट नै खारेज गरिदिएपछि अवरुद्ध नियुक्तिको प्रक्रिया अगाडि बढेको हो । टेलिकम प्रमुखका लागि जसमा शर्ट लिस्टमा परेका तीन जनासँगै टेलिकमका अर्का वरिष्ठ कर्मचारी सुरजसिंह थापा, नेपाल टेलिकमका पूर्व कर्मचारीहरू नागेन्द्र कुमार दास, अमलेन्दु नारायण सिंह र सीए प्रदीपराज उपाध्यायले समेत दाबेदारी प्रस्तुत गरेका थिए ।
त्यस्तै काठमाडौं उपत्यका खानेपानी संस्थानका पूर्व प्रमुख अर्जुनबाबु ढकाल र त्रिभुवन विश्वविद्यालयको सूचना प्रविधि तथा इनोभेसन सेन्टरका पूर्व प्रमुख दीपक बहादुर शाहीले समेत टेलिकमको प्रमुख पदका लागि निवेदन दिएका थिए ।