सोमबार, असार ९, २०८२

साँझमा हाट बन्ने काठमाडौंका सडक

काठमाडौंमा पैदल हिँड्नु सकसको यात्रा हो। यहाँको सडकले पैदलयात्रीलाई चिन्दैन। भलै काठमाडौंको ठूलो जनसंख्या पैदल हिँडछ। तर, सडक भने गाडीमा हुइँकनेका लागि मात्र चिन्तित छ।
 |  शुक्रबार, कात्तिक २९, २०७६

ज्योति अधिकारी

ज्योति अधिकारी

शुक्रबार, कात्तिक २९, २०७६

काठमाडाैँ- साँझ पर्दै जाँदा काठमाडौंका सडकमा चहलपहल बढ्न थाल्छ।

रंगीचंंगी कपडा, पानीमा डुबाइएका घडी, सेकेन्डह्यान्ड जुत्ता, खेलौना र विभिन्न सामानले सडक किनार सजिन्छन्। भुटन, पकौडा, मम, माछा फ्राईको बास्ना पनि हरर्र उड्न थाल्छ फुटपाथमै।

सडकका छेउका साँघुरा फुटपाथ अव्यवस्थित र कोलाहलमय हाट जस्ता बनिदिन्छन्।

काठमाडौंमा पैदल हिँड्नु सकसको यात्रा हो। यहाँको सडकले पैदलयात्रीलाई चिन्दैन। भलै काठमाडौंको ठूलो जनसंख्या पैदल हिँडछ। तर, सडक भने गाडीमा हुइँकनेका लागि मात्र चिन्तित छ। त्यसैले फुटपाथ मात्र होइन घरसमेत ताछेर सडक चौडा पारिएका छन्।

बचेखुचेका फुटपाथ र सडक किनारमा सडक व्यापारीले बजार लगाइदिँदा पैदल यात्रुलाई झन् सास्ती थपिन्छ।

नयाँ बसपार्क, सुन्धारा, न्युरोड, रत्नपार्क, कोटेश्वर, चाबहिल, गौशाला, कलंकी, असन, इन्द्रचोक लगायतका व्यस्त क्षेत्रका सडक किनार सडक व्यापारीका मुख्य अखाडा हुन्।

रत्नपार्क, नयाँ बसपार्क, कलंकी र ठमेलका सडक पेटी त यौनकर्मीको पनि चहलपहल देखिन्छ।

बेलाबेला महानगरपालिका तात्छ, नगर प्रहरी दौडादौड गर्छन्। जो सबैभन्दा निम्छरो छ, उसकै मालमत्ता सडकभरि छरिदिन्छन्, ठेला, टोकरी जे छ, त्यो भ्यानमा हालेर लैजान्छन्।

तर, अर्को दिन बेलुका बजार लाग्नु अगावै नगरप्रहरी तदारुकता देखाउँदैन। फुटपाथ र सडक व्यापारका लागि होइन भन्ने कुरा महानगरले सभ्य भाषामा बुझाउन चाहँदैन। न त सडकमा व्यापार गर्नेहरूलाई विकल्प नै दिन सक्छ।

बबरमहल लगायतका केही फुटपाथमा दृष्टिविहीनका लागि ‘ट्याक्टाइल पेभिङ’ गरिएको छ। तर, त्यसको अन्त्य र सुरुको टुंगो छैन। त्यही पेभिङको माझमै सवारीसाधन पार्किङ गरिएका देखिन्छन्।

भ्याएसम्म पैदल यात्रा गर्ने काठमाडौंका विकास जोशी सडकमा थापिएका पसलले हिँड्न गाह्रो हुने बताउँछन्। उनी भन्छन्, “काठमाडौंमा फुटपाथ एक त हिँड्न लायक छैनन्, बजार लागेपछि त जोखिम मोलेर हिँड्नुबाहेक उपाय हुँदैन।”

अर्का पैदल यात्री विकल्प पौडेल फुटपाथमा पसल थापेका व्यापारीले सामान नाघेको भन्दै गाली गरेको अनुभव सुनाउँछन्। उनले भने, “फुटपाथमा पसल थापेका उनीहरूको सामानमा यात्रुको खुट्टा लाग्नै हुँदैन।”

असहज फुटपाथका कारण सडकबाटै हिँड्नुपर्ने बाध्यताले थुप्रै दुर्घटना निम्त्याएका छन्।

महानगर प्रहरीका प्रमुख धनपति सापकोटाका अनुसार फुटपाथ व्यापार हटाउन महानगरले प्रयास गरिरहे पनि सफल हुन सकेको छैन।

उनी भन्छन्, “हामी फुटपाथमा राखिएका सामान जफत गरिदिन्छौं। सडक व्यापारमै आश्रित व्यक्तिहरू अर्कोतिर जानै मान्दैनन्। त्यसैले पनि फुटपाथ पसल हटाउन गाह्रो भएको छ।”

पहिले सामान्य जरिवाना गरेर जफत गरेका सामग्री फिर्ता दिने गरेको महानगरले अचेल समान फिर्ता नगर्ने नीति लिएको छ। सापकोटा भन्छन्, “कुहिने समान, खाद्य सामाग्री, इन्धनचाहिँ निश्चित जरिबाना लिएर फिर्ता गर्छौं।”

‘विकल्प देऊ’

सिन्धुपाल्चोकका रमेश कुँवरले काठमाडौंका सडकपेटीमा व्यापार गर्न थालेको ८ वर्ष भयो। उनको परिवार यही व्यापारबाटै धानिएको छ।

लामो समयदेखि सडकमै व्यापार गर्दै आएका व्यापारीलाई महानगरले कि त विकल्प दिनुपर्ने नभए सडकमै व्यापार गर्न दिनुपर्ने उनको भनाइ छ।

महानगरका प्रहरी प्रमुख सापकोटा भन्छन्, “अहिले भएकालाई व्यवस्थापन गरे पनि नयाँ व्यापारी थपिन्छन्। त्यसैले व्यवस्थापन कतिसम्म गर्ने कुनै सीमा नै हुँदैन।” उनी सडक व्यापारीहरू आफैंले विकल्प खोज्नुपर्ने बताउँछन्।

उपत्यकाभर जताततै व्यवस्थित खुद्रा बजार सञ्चालनमा रहेकाले फुटपाथ वा सडक बजार आवश्यक नरहेको उनको तर्क छ। तर, पनि वर्षौंदेखिको यो समस्या समाधान गर्न महानगरका प्रहरी र सडक व्यापारीले गर्ने लुकामारीको खेलभन्दा धेरै प्रगति हुन सकेको छैन।

कहाँ जान्छन् जफत गरिएका सामान ?

राजधानीका मुख्य सडक आसपासका पेटीमा व्यापार गर्नेहरूको सामान बेलाबेला नगर प्रहरीले जफत गर्छ।

ती सामान महानगरपालिकाको प्रहरी ब्यारेक टेकुमा भण्डारण गरिन्छन्। अहिले यस्ता सामानको थुप्रोले टेकु ब्यारेकको आँगन र कोठाहरू यस्तै सामानले भरिभराउ छन्।

ठाउँको अभाव भएपछि महानगरले जफत गरिएका सामग्री लिलामीको तयारी थालेको नगर नायब निरीक्षक राजनकुमार कार्की बताउँछन्।

अचेल दैनिक १५ जनासम्म सडक व्यापारीका सामान र सडकमा अनधिकृत रुपमा राखिएका होर्डिङ बोर्डहरू जफत गरेर ल्याउने गरिएको कार्की बताउँछन्।

काठमाडौं महानगरका ३२ वटा वडाका सम्पूर्ण क्षेत्रलाई नगर प्रहरीले अनुगमन गर्नुपर्ने र त्यसका लागि जनशक्ति अभाव रहेको सापकोटा बताउँछन्। उनी भन्छन्, “जम्मा १८५ जना नगरप्रहरीले सबै काम चलाउनुपरेको छ, त्यसैले काम प्रभावकारी हुन सकेको छैन।”

प्रकाशित: Nov 15, 2019| 08:34 शुक्रबार, कात्तिक २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।