बिहीबार, जेठ ९, २०८२

तोकिएको मूल्य नपाएपछि उखु किसान आन्दोलित

परासीस्थित लुम्बिनी चिनी मिलले सरकारले निर्धारण गरेकोभन्दा कम मूल्य भुक्तानी गर्न थालेपछि उखु किसान आन्दोलित भएका छन्।
 |  शनिबार, कात्तिक २३, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २३, २०७६

परासी- परासीस्थित लुम्बिनी चिनी मिलले सरकारले निर्धारण गरेकोभन्दा कम मूल्य भुक्तानी गर्न थालेपछि उखु किसान आन्दोलित भएका छन्। बन्द रहेको चिनी मिल तत्काल सञ्चालन गर्न र सरकारले तोकेकै मूल्य निर्धारण गर्न किसानले माग गरेका छन्।

सरकारले आव २०७५/७६ मा उखुको प्रतिक्विन्टल ५३६ रूपैयाँ ५६ पैसा तोकेको थियो। जसमा चिनी मिलले ४७१ रूपैयाँ २८ पैसाका दरले किसानलाई भुक्तानी गर्नुपर्नेछ भने ६५ रूपैयाँ २८ पैसाका दरले सरकारले अनुदानको रूपमा किसानलाई उपलब्ध गराउनेछ।

यहाँको लुम्बिनी चिनी मिलले भने सरकारले निर्धारण गरेकोभन्दा ८६ रुपैयाँ कम अर्थात् ३८५ रुपैयाँका दरले भुक्तानी दिन थालेपछि किसान आन्दोलित हुनुपरेको सुनवल-२ का ज्ञानचन्द्र यादवले गुनासो गरे। मिलले उक्त मूल्यको दरले भुक्तानी लिन नमाने रकम भुक्तानी नगर्ने भन्दै किसानलाई धम्काएको उनको दाबी थियो।

गत वर्षकै मूल्य नपाएका किसान अहिलेको उखु कसरी व्यवस्थापन गर्ने भन्ने चिन्तामा छन्। अहिले पनि मिलगेटमा ८० हजार क्विन्टल उखु छ। लुम्बिनी चिनी मिलको व्यवस्थापन पक्षले मिल सञ्चालन नगर्ने बताएपछि उक्त उखु व्यवस्थापन कसरी गर्ने भन्नेमा आफूहरू चिन्तामा परेको रामग्राम-१७ का किसान अर्जुन चौधरीले बताए।

“मेरो गत वर्षकै दुई हजार दुई सय क्विन्टल उखुको भुक्तानी दिएको छैन, यो वर्ष पनि मिल नचल्ने भएपछि अब उखु कहाँ व्यवस्थापन गर्ने, हामी निकै मर्कामा परेका छौं,” उनले भने।

किसानले एक वर्षदेखिको उखुको रकम भुक्तानी र मिल सञ्चालनको वातावरण बनाइदिन माग गरेका छन्। किसानको समस्याप्रति गम्भीर नभए थप सशक्त आन्दोलन गर्ने परासीका रामभवन यादवले चेतावनी दिए।

परासीका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले किसानका समस्या समाधान गर्न पहल भइरहेको बताए। “हामीले यहाँबाट गर्ने पहल गरिरहेका छौं। तर, कतिपय कृषि मन्त्रालय र उद्योग मन्त्रालयबाटै पहल गर्नुपर्ने कुरा छन्, त्यसको लागि पनि मन्त्रालयसँग समन्वय भइरहेको छ,” उनले भने।

रासस

प्रकाशित: Nov 09, 2019| 08:41 शनिबार, कात्तिक २३, २०७६
प्रतिक्रिया दिनुहोस्