चितवन । चितवनका किसानले तत्काल दूधको मूल्य बढाउन माग गरेका छन् । उनीहरूले तत्काल मूल्य वृद्धि नगरिए आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।
चितवन दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले आइतबार यहाँ पत्रकार सम्मेलन गरी मूल्य बढाउन दबाब दिएको हो ।
दूधको मूल्यमा प्रतिलिटर १५ देखि २० रुपैयाँसम्म बढाउनुपर्ने उनीहरुको माग छ । संघका अध्यक्ष रत्नमणि न्यौपानेले सरकारले यही माघ १ गतेदेखि मूल्य बढ्छ भने पनि अहिलेसम्म नबढेकाले आन्दोलनको तयारीमा लागेको बताए ।
सरकारले एक लिटरमा १० रुपैयाँ बढाएर किसानलाई ७ र डेरी उद्योगीलाई ३ रुपैयाँ दिने तयारी गरेको बताइएको छ ।
उनका अनुसार हाल दूधको मूल्य प्रतिलिटर सरदर ५२.५० पर्ने गरेको छ । पशुलाई खुवाउने आहारको मूल्य अत्यधिक वृद्धि भएकाले यो मूल्यले लागत नउठ्ने उनले बताए ।
अध्यक्ष न्यौपानेले भने, ‘दाना, चोक्कर, पराल र औषधिको मूल्य अत्यधिक बढेकाले अहिले उत्पादन लागत नै प्रतिलिटर ६३ रुपैयाँ किसानको पर्ने गरेको छ । त्यसैले किसानलाई लाभ पुग्नेगरी मूल्य बढाउनुपर्छ ।’
सरकारले ३ वर्षदेखि दूधको मूल्य बढाएको छैन ।
हाल चितवनमा ६३ प्रतिशत दुग्ध उत्पादक किसान छन् । यसबाट दैनिक २ लाख ९० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । ४३ प्रतिशत दूध बाहिरी जिल्ला काठमाडौँ, भक्तपुर, ललितपुर, कास्की र मकवानपुरमा जाने संघले जनाएको छ ।
संघले जारी गरेको विज्ञप्तिमा पशुको उपभोग्य बस्तुमा १० देखि १५ प्रतिशत वृद्धि भएको जनाइएको छ ।