पोखरा । पोखराको न्युरोडमा रहेको शुभ चेरिस्मा इम्पोरियमको नेपाली चलचित्रकी नायिका करिस्मा मानन्धरले उद्घाटन गरेकी छिन् । डेढ दशकदेख सञ्चालनमा रहेको चेरिस्मा थप सेवा र सुविधासहित पुनः सञ्चालनमा आएको हो ।
इम्पोरियमको ब्रान्ड एम्बेसडरसमेत रहेकी मानन्धरले पोखरा फेसनको सहर भएकाले ग्राहकको रुचि र चाहनालाई ध्यान दिएर गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने बताइन् । व्यवसायमा सन्तुष्ट भए प्रगति नहुने भन्दै निरन्तर रचनात्मक कार्यबाट अघि बढ्न उनले सुझाव दिइन् । उनले व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई पनि बहन गर्दै जानुपर्ने धारणासमेत राखिन् ।
इम्पोरियममा गृहलक्ष्मी ग्यास कम्पनीका अध्यक्ष धर्मराज बर्तौला, महिला उद्यमी सीता बराल, र व्यवसायी महिला प्रभा कार्कीको संयुक्त लगानी छ ।
सञ्चालक सीता बरालले व्यवसायमा लाग्दा विभिन्न उतार चढावलाई झेल्दै आएको अनुभव सुनाउँदै अब ग्राहकको रुचिलाई प्राथमिकता दिएर व्यवसायमा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरिन् ।

पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विश्वशंकर पालिखेले व्यवसायमा निरन्तरता धैर्यता र सिर्जनशीलताको खाँचो हुने धारणा राखे । असफलताबाट पाठ सिकेर अघि बढ्ने मान्छेनै सफल हुने बताए ।
शुभारम्भ कार्यक्रममा वरिष्ठ सौन्दर्यकर्मी कमला श्रेष्ठले व्यवसायमा स्थापित हुन ठूलो आँट, धैैर्यता, लगनशीलता चाहिने भन्दै चेरिस्मालाई आफ्नो ब्रान्ड कायम राखेर ग्राहकको मन जित्न शुभकामना दिइन् ।
कार्यक्रममा इम्पोरियमका अध्यक्ष धर्मराज बर्तौलाले चेरिस्माको ब्रान्डलाई स्थापित गरेर ग्राहकको रुचिलाई प्राथमिकता दिएर गुणस्तरीय सेवा प्रदान गरिने बताए । इम्पोरियममा आधुनिक डिजाइनका सुटिङ, साडी, लेहेङ्गा, बुटिकको सेवासहित फेन्सी पोसाकहरुसमेत उपलब्ध रहेको सञ्चालक प्रभा कार्कीले जानकारी गराइन् ।