काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन प्रदेश नं २ कार्यालयले चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनाको अवधिमा चौध करोड मूल्य बराबरको नुन बिक्री गरेको छ ।
कार्यालयका अनुसार आव २०७८/७९ साउनदेखि मंसिर मसान्तसम्म चौध करोड ३५ लाख २५ हजार ३२५ बराबरको बिक्री गरेको थियो । कार्यालय प्रमुख अमोज लामिछानेले गत आर्थिक वर्ष २०७७/७८ मा २७ करोड १० लाख ५५ हजार ८५० बराबरको नुन बिक्री गरेको जानकारी दिए ।
विसं २०२० भदौ २७ गते सार्वजनिक निजी साझेदारीमा स्थापित सो कर्पोरसनले पछिल्लो समय ऐतिहासिक फड्को मारेको छ । संस्थामा सरकारको २२ प्रतिशत सेयर लगानी छ ।
स्थापनाको ५८ वर्षमा कर्पोरेसनले दैनिक उपभोग्य वस्तु नुन, चिनी, चामल, दालजन्य गेडागुडी, खाने तेल, आटा, मैदा, ग्यास लगायतका वस्तु सर्वसुलभ रुपमा बिक्री वितरण गर्दै आएको छ । यस्तै कर्पोरेसनले आफ्नो लगानीमा गोरखकाली रबर उद्योग , खाद्य उद्योग , नेपाल वनस्पति घिउ उद्योग लिमिटेडलगायत हिमालय खाद्य एवम् प्याकिङ उद्योग स्थापना गरेको थियो ।
नेसनल फाइनान्स, सगरमाथा इन्स्योरेन्सजस्ता संस्थाको स्थापना गरी देशलाई औद्योगीकरणको दिशामा अघि बढाएको छ । सरकारले दिएको नीति निर्देशनमा कर्पोरेसनले समयमै आयात व्यवस्था गरी चिनी, नुन, चामल र मलको कमी हुन दिएको छैन ।
कर्पोरेसनले बिक्री–वितरण गर्दै आएको आयोडिनयुक्त नुन दक्षिण एसियामै सस्तो छ । ७ वर्षअघिकै मूल्यमा नुन बिक्रीवितरण गर्दै आएको छ ।
कर्पोरेसनले विसं २०७२ बैशाखको विनाशकारी भूकम्पपछि घर पुनर्निर्माण गर्न जस्तापाता आयात गरी बिक्री–वितरणसमेत गरेको थियो ।