सेल रोटी
सेल रोटी बनाउनका लागि भिजाएको चामलको पिठो, थोरै घिउ, चिनी, सोडा वा बेकिङ पाउडर, ल्वाङ, सुकुमेलको धुलो, सुजीको पिठो र पानीको आवश्यक पर्छ । यी सबै कुरा आवश्यकताअनुसार, मिसाएर पिठो केही गिलो अर्थात् हातमा लिन मिल्ने गिलो बनाएर मुछ्नुपर्छ ।

मुछेको पिठोलाई बोतल वा हातले नै तातो तेलमा गोलो बनाएर पकाउन सक्नु हुन्छ । गोलो बनाउनका लागि कराई (प्यान) मा गाउँघरतिर दियो बाल्ने भाडा राख्ने चलन पनि छ । यसमा तपाईंलाई जे सजिलो हुन्छ त्यही राख्न सक्नुहुन्छ ।
रसबरी
रसबरी बनाउनका लागि तताएको दूधमा कागतीको रस वा भिनेगर हालेर फटाउनुपर्छ । सँगै अर्को भाडामा चिनी पानी पकाउन भने नबिर्सिनु होला । फाटेको दूधलाई सफा कपडा वा जालीले छान्नु पर्छ, दूध फटाएर निस्केको छोक्रालाई छिना भनिन्छ ।

उक्त छिनामा थोरै मैदा मिसाइ मुछेर स–साना गोला बनाउनु होला । र, अर्को भाँडामा चिनी पगालेर तयार गरिएको चास्नीमा केही समय पकाएपछि रसबरी तयार हुन्छ ।
अनरसा
चामललाई राम्रोसँग पखालेर भिजाई पानी तारेर पिठो बनाउनु होला । अनरसाका लागि पिठो भने धेरै मसिनो हुनुपर्छ । लगभग पिठो जति नै चिनी राखेर मज्जाले मुछ्नु होला । तर, पानीको प्रयोग भने नगर्दा राम्रो हुन्छ, यदि गर्नै परेमा थोरै मात्रामा पानी राखेर पिठो मुछ्न सक्नुहुन्छ ।

तपाईंले जति धेरै समय पिठो माडेर मुछ्नु हुन्छ त्यति नै अनरसा राम्रो बन्छ । बिस्तारै पिठो हल्का गिलो भएपछि स–साना डल्ला बनाउनु होला । सेतो प्लास्टिक वा केराको पातमा तेल लगाएर त्यसमाथि थोरै तिल राख्नुपर्छ । जसको कारण तपाईंले बनाउनु भएको अनरसा उक्किन सजिलो र हेर्दा आकर्षक पनि हुन्छ । सो तिलमाथि पिठोको सानो डल्लो राखेर औंलाको सहायताले विस्तारै गोलो आकारमा फिजार्दै जानुहोस् । सामान्यतयाः आफ्नो हत्केला जत्रो अनरसा बनाउँदा राम्रो देखिन्छ ।
उक्त फिजारिएको पिठोलाई तातो तेलमा तिलको दानामाथि तिर पर्ने गरी हाल्नु होला । थोरै रातो भएपछि निकाल्नु होस् । यसरी तपाईंको अनरसा तयार हुन्छ ।
जेरी कसरी बनाउने ?
जेरी बनाउनका लागि मैदा, दही, घिउ, चिनी, सुकुमेल, बेकिङ पाउडर, फ्राइवयल, अरेन्ज फुड कलर र पानीको आवश्यकता पर्छ । आफ्नो आवश्यकताअनुसार, तपाईंले एउटा भाँडोमा माथि भनिएकोमा चिनीबाहेक सबै सामान हाल्नुहोस् । अनि राम्रोसँग मुछेर(मिक्स गरेर) खुला ठाउँमा राख्नुस् ।

ख्याल गर्नु होला मुछेको पिठो धेरै गिलो वा सारो भने बनाउनु हुँदैन । त्यो बीचमा तपाईंले चिनी पानी पकाएर चास्नी बनाउन सक्नु हुन्छ । ८/१० घण्टापछि मुछेको पिठोलाई तातो तेलमा पकाएर अर्को भाँडामा रहेको चास्नीमा डुबाएपछि जेरी तयार हुन्छ ।