काठमाडौं । बजार अनुगमन तथा मूल्य नियन्त्रणको जिम्मेवारी पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग निरीह हुँदा सर्वसाधारणले बढी मूल्यमा चिनी किन्न बाध्य भएका छन् । विभागका कमजोरीका कारण व्यवसायीले हरेक तिहारमा चिनीको भाउ बढाउँदै आएका छन् ।
तिहारमा सबैभन्दा बढी चिनीको खपत हुने भएकाले यही मौकामा व्यवसायीहरुले मूल्य बढाउँदा पनि अनुगमन गर्ने सरकारी निकाय विभाग भने अहिले मौन छ ।अहिले बजारमा चिनीको खुद्रा मूल्य प्रतिकेजी ९५ देखि १०० रुपैयाँसम्म पुगेको छ । थोक मूल्य ८५ देखि ९० रुपैयाँसम्म छ । हुनत, अहिले चिनीको मात्र हाेइन अन्य खाद्य पदार्थहरुको पनि मूल्यवृद्धि भएको छ । यसमा पनि वाणिज्य विभागको अनुगमन फितलो देखिएको छ ।
उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले अर्थ मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उच्च अधिकारीहरु नै व्यवसायीहरुसँगको मिलेमतोमा लागेकाले तिहारको बेलामा चिनीको मूल्य बढ्दा वाणिज्य विभाग निरीह भएको बताए ।
दुई मन्त्रालयको गैरजिम्मेवारीको कारण नागरिकहरुले बढी मूल्य तिर्नुपरेको र गुणस्तरहीन चिनी प्रयोग गर्नुपरेको उनको भनाई छ । बजारमा पाइने अधिकांश चिनी भारतबाट आयात हुने गरेको छ । त्यसमध्ये पनि बजारमा उपलब्ध चिनी गुणस्तरहीन रहेको विज्ञहरुले बताउँदै आएको उनको भनाई छ । व्यवसायीले राज्य संयन्त्रनै किनेकोले उपभोक्ताहरु सधैं मारमा परेको अध्यक्ष तिमिल्सिनाको दाबी छ ।
नेपाल चेम्बर अफ कमर्सको आपूर्ति समितिका सदस्य चन्द्र थापाले प्रायः बर्सेनि चाडपर्वको मुखमा चिनीको मूल्य वृद्धि गराएर उपभोक्तामाथि अन्याय गरेको बताउँछन् ।
‘अस्वाभाविक मूल्यवृद्धि प्रतिसरकारको ध्यान आकृष्ट हुनुपर्छ, सदस्य थापाले भने, यसरी मूल्य वृद्धि किन र कसरी हुन्छ ? यस्को पनि त एउटा पद्धति अर्थात मापदण्ड हुन्छ होलानी’ । सरकारी निरीहताकै कारण व्यसायीले उपभोक्ताको ढाड सेकेको उनको भनाई छ ।
खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्र बज्राचार्यले सरकारी संयन्त्रसँग ठूला व्यापारीहरुको मिलेमतो हुने भएकाले चिनीको मूल्य बर्सेनि बढ्ने गरेको बताए ।
मूल्य वृद्धिको विषय सरकारी निकायले थाहा पाउँदा पनि अनुगमनलाई फितलो बनाएको र कारवाही नभएकाले उपभोक्ता सधैं ठगिदै गएको उनको भनाई छ । तिहारको बेला सेल रोटीलगायत धेरै मिठाईहरु बनाउने भएकाले व्यवसायीहरुले चिनीको मूल्य मिलेमतोमै बढाएको उनको दाबी छ ।
चिनी उद्योग संघका अध्यक्ष शशीकान्त अग्रवालले बजारमा चिनीको मूल्य नबढेको बताएका छन् । दसैं अघिको तथ्यांक हेर्दा अरु खाद्य सामग्रीको ४० प्रतिशले मूल्य बढ्दा चिनीको ५ प्रतिशतले मात्र वृद्धि देखिएको र तिहारको उद्योगीहरुको तर्फबाट भाउ नबढाएको दाबी गरे । खाद्यन्नमा बढेको मूल्य मध्य सबैभन्दा कम चिनीमा बढेको अध्यक्ष अग्रवालको भनाई छ ।
यता विभागका निर्देशक हरि पंगेनीले साल्ट ट्रेडिङ कर्पोरेसनले पर्याप्त मात्रामा चिनी नराखेको कारण बजारमा व्यवसायीले मूल्य बढाएको बताउँछन् । अहिले साल्ट ट्रेडिङले प्रतिव्यक्तिलाई २ किलोका दरले चिनी बिक्री गर्दै आएको छ । विभागले अनुगमनलाई तीब्रता दिए पनि शक्तिको आडमा व्यवसायीहरुले मूल्यवृद्धि गराएको र आफूहरुले बजारलाई नियन्त्रण गर्न नसकेको उनले स्वीकार गरेका छन् ।
अधिकांश चिनी उद्योगीहरु सांसद र नेता रहेकोले तालुकदार मन्त्रालयलाई प्रभावित पारे मूल्यवृद्धि गराउँदा पनि सरकारी निकायले कारबाही नगरेको विभागका अधिकारीहरुको भनाई छ । विभागले चार टोली बनाएर अनुगमन गरिरहेको र बढी मूल्य लिनेलाई कारबाही गरिरहेको बताउँदै आएको छ ।