काठमाडौं । हिन्दुहरुको दोस्रो ठूलो चाड तिहारमा भाइमसलाको मूल्य १५ प्रतिशतसम्म बढ्ने भएको छ । गत वर्षको तुलनामा यो वर्ष १५ प्रतिशतसम्म मूल्य वृद्धि हुने सम्भावना रहेको खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पबित्र बज्राचार्यले बताए ।
उनका अनुसार, अन्य वस्तुको मूल्य बढेको कारण भाइमसलाको मूल्य बढ्ने भएको हो । तर, हालसम्म यो वर्ष तिहारका लागि बढेको मूल्य निर्धाण भने भएसकेको छैन । ‘अहिलेसम्म मूल्य बढेको आधिकारिक जानकारी आएको छैन, केही दिनमा आउँछ होला । उनले भने, ‘अघिपछि त मूल्य बढ्छ भने तिहारमा मूल्य नबढ्ला भन्न सकिन्नँ ।’
कोरोना संक्रमणकाबीच पनि तिहारका लागि चाहिने भाइमसलाको आयातमा समस्या छैन । तर, अन्य वस्तुको मूल्य बढेकै कारण व्यवसायीहरुले भाइमसलाको मूल्य बढाउने बज्राचार्य बताउँछन् । गत वर्ष भाइमसलाको मूल्य घटेको थियो ।
पोहोर कोरोना संक्रमणको कारण सामान स्टक रहेको थियो । स्टक रहेका सामान बिग्रिने हुँदा व्यापारीहरुले सस्तो मूल्यमा नै तिहारको समयमा भाइमसला बिक्री गरेका थिए ।
तिहारमा ओखर, काजु, किसमिस, खजुर, नरिवल, सुपारी, बदाम, हाडे बदामलगायतका सुक्खा फलफूलको खपत धेरै हुन्छ । नेपालमा छिमेकी मुलुक भारत र चीनसहित बेलायत, इटाली, भियतनाम, यूएई, इन्डोनेसिया, पाकिस्तान, कतार, थाइल्यान्ड, अमेरिकालगायत मुलुकबाट आयात हुने गरेका छन् ।
प्याक गरिएको तथा खुला दुवै रूपमा उक्त फलफूल नेपाल भित्रिने गरेका छन् । तिहारका बेलामा यस्ता फलफूलाई मरिच, ल्वाङ, सुकुमेललगायतका मसलासँगै राखेर दिदी–बहिनीले दाजुभाइलाई सगुनका रूपमा दिने प्रचलन छ ।