काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले करिब साढे ३८ लाख बराबरको चामल बिक्री वितरण गरेको छ ।
यही असोज १ गतेदेखि सञ्चालन गरिएको सहुलियत पसलबाट ३८ लाख ५९ हजार रुपैयाँ बढीको चामल बिक्री भएको हो । जम्मा ३९ जिल्लाका ४३ बिक्री केन्द्रबाट १८ सोमबारसम्म ५३० क्विन्टल चालम बिक्री भएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् ।
उनका अनुसार यो वर्ष कम्पनीले सहुलियत पसलमा ८ थरिका चामल बिक्रीका लागि राखेको छ । जसमध्ये स्टिम जिरा मसिनो चामलको बिक्री सबैभन्दा बढी छ । कम्पनीले काठमाडौं उपत्यकामा रहेका चारवटा बिक्री कक्षसँगै अनलाइनमार्फत समेत खाद्यान्नको बिक्री वितरण गर्दै आएको छ ।
त्यस्तै ३ सय ४१ किलो कर्णालीको सिमी, २७२ किलो क्वाँटी, १ सय ९९ किलो मुग खोस्टा दाल, २ हजार ६ सय ९५ किलो रहर दाल, ३ हजार ३ सय ५७ किलो मुसुरो दाल र ३ हजार ६ सय ५२ किलो मासको दाल बिक्री भएको न्यौपानेले जानकारी दिइन् ।
यस्तैगरी, १ हजार २ सय ७५ किलो तीते फापर, सात ५२ किलो आयो नुन, ५ सय ४२ किलो गहुँ, १ हजार २ सय किलो चिनी र १ हजार ३ सय ७८ किलो आँटा बिक्री गरेको कम्पनीले जनाएको छ ।
२ हजार ८ सय ४७ लिटर सूर्यमुखी तेल, १ हजार २ सय ४९ लिटर तोरीको तेल, ४ हजार १ सय ८६ लिटर भटमास तेल र ८ हजार २ सय ९२ लिटर डीडीसीको घ्यू बिक्री भएको कम्पनीले छ । कम्पनीले दसैंका लागि प्रतिकिलो खसी तथा बोकामा रु दश छुट दिएको छ ।
यही असोज १ गतेदेखि कम्पनीले ३९ जिल्लाका ४३ बिक्री केन्द्रबाट चामल, दाल, चिउरा, पिठो र खाने तेलमा रु पाँच तथा भटमासको तेल र सिमीमा १० रुपैयाँ छुट दिएको छ ।
शनिबारदेखि खसीबोका बिक्री
कम्पनीले शनिबारदेखि खसीबोका बिक्रीको तयारी भएको कम्पनीले जनाएको छ । “हामीले घटस्थापनाको भोलिपल्टदेखि थापाथली बिक्री काउन्टरबाट खसीबोका बिक्रीको तयारी गरेका छौं ।
बिहीबार बेलुका खसीबोका आइपुगे शुक्रबार बिहानदेखि वा शुक्रबार बेलुका आइपुगे शनिबारदेखि नै बिक्री गछौं”, सूचना अधिकारी न्यौपानेले भने। कम्पनीले यस वर्षको दसैंका लागि मुस्ताङबाट च्याङ्ग्रा नल्याएपछि दाङ र मकवानपुरको पहिलो लटमा एक हजार ७ सय खसी तथा बोका ल्याउने जनाएको छ ।
दुई जिल्लामा खसी बोका खरिद भए पनि काठमाडौंमा कतीमा बिक्री गर्ने भन्ने मूल्य निर्धारण भइनसकेको जनाइएको छ । रासस