झापा । चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई तीव्रता दिएको जिल्ला अनुगमन समिति झापाले चारवटा पसललाई जरिवाना गरेको छ भने २२ हजार बढीका खाद्य सामग्री जफत गरी नष्ट गरेको जनाएको छ ।
१५ दिनदेखि अनुगमनमा निस्किएको समितिले जिल्लाका १० वटा पालिकाको अनुगमन गरिसकेको जनाएको छ । अनुगमनकै क्रममा मूल्य सूची नराखेका, नक्कली बिल प्रयोग गर्ने र बढी मूल्यमा सामान बिक्री गर्ने अर्जुनधारा नगरपालिकाका चारवटा किराना पसललाई ५ हजार रुपैयाँको दरले जरिवाना गरिएको समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालले बताए।
उनले अनुगमनका क्रममा दैनिक उपभोग्य खाद्य वस्तु खाने तेल, भुजिया, बिस्कुट, घीउलगायतका सामग्री भ्याट गुज्रिएको पाइएकाले जफत गरी नष्ट गरिएको बताए । घरेलु तथा साना उद्योग कार्यालय, आन्तरिक राजस्व कार्यालय, नेपाल गुणस्तर तथा नापतौल कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधिसहितको टोलीले दैनिक बजार अनुगमन गरिरहेको छ ।
“कोभिड–१९ का कारण बजार भर्खर खुलेको छ, लामो समय पसल बन्द हुँदा कतिपय खाद्य सामग्रीको म्याद गुज्रिएको पाइयो”, उहाँले भन्नुभयो, “तर मूल्यमा भने खासै अन्तर देखिएन ।” बजारमा समितिले अनुगमन नगरेर औपचारिकताकै लागि मात्र हिँडिरहेको उपभोक्ताले आरोप लगाएका छन् ।
मेचीनगर नगरपालिका– १० का उपभोक्ता हिमाकुमारी राईले पसलैपिच्छे सामानको मूल्य फरक हुने गरेको पाइए पनि अनुगमन समितिले केही नगरेको गुनासो गर्नुभयो । उहाँका अनुसार बजारमा अन्य सामानको तुलनामा चिनी व्यापारीले मनपरी मूल्य अर्थात प्रतिकेजी ८८ देखि १०० रुपैयाँ सम्ममा बेचिरहेको छन् ।
“बजारमा चिनीको मूल्य पसलैपिच्छे फरक छ”, उनले भने, “अनुगमन समितिले वास्तै गर्दैन यसो हेरे जस्तो गरेर फर्कन्छ । अनुगमन गरे जस्तो गरेर उपभोक्ताको आँखामा छारो हाल्ने काम भइरहेको छ ।”
समितिका संयोजक तथा सहायक प्रजिअ रिमालले बजारमा चिनीको मूल्य उपभोक्ताले आरोप लगाए जस्तो धेरै फरक नपाइएको बताए। उनले बजार अनुगमनका क्रममा प्रतिकेजी ८८ देखि ९० रुपैयाँमा चिनी बेचबिखन भइरहेको बताए । उनले भने, “हामीलाई एउटा मूल्य भन्ने तर उपभोक्तासँग अर्को मूल्य लिन्छन् भने थाहा भएन । छड्के अनुगमन गरेर त्यस्तो पाइएमा व्यापारीलाई कारबही गर्छौं ।”