चितवन । जिल्लामा दसैंदेखि तिहारसम्म ३० हजारभन्दा बढी खसीबोका खपत हुने अनुमान गरिएको छ । जिल्लाको उत्पादन ८० प्रतिशत यही खपत हुन्छ भने बाँकी छिमेकी जिल्लाबाट ल्याउने गरेको तथ्याङ्क छ ।
भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र भरतपुरको तथ्याङ्कअनुसार जिल्लामा मुख्य चाडपर्वको समयमा दैनिक १ हजार ५ सय हाराहारी खसीबोका खपत हुने अनुमान छ । कार्यालयका पशु विकास अधिकृत रामचन्द्र आचार्यका अनुसार दसैं-तिहारको एक महिनाको समयमा ४ सय ६२ मेट्रिकटन खसीबोकाको मासु र ३९ मेट्रिक टन च्याङ्ग्राको मासु खपत हुने अनुमान छ ।
जिल्लामा ४ सय २ व्यावसायिक बाख्रा फर्म छन् । ती फर्ममा ३ लाख १० हजार ५ सय १७ बाख्रा रहेको आचार्य बताए । तीमध्ये २ लाख १७ हजार ३ सय ६१ खसीबोका छन् । ठूलो सङ्ख्यामा खसीबोका जिल्लामा उत्पादन भए पनि यहाँ छिमेकी जिल्लाबाट समेत खसीबोका आउने गरेको उनकाे भनाइ छ । उनले भने, “८० प्रतिशत यहीको उत्पादन र बाँकी बाहिरबाट खसीबोका आउने गर्दछ ।” त्यसो त यहाँ उत्पादन भएका खसीबोका विभिन्न जिल्ला पुग्ने गर्छन् ।
जिल्लामा वार्षिक २ हजार ६८६ मेट्रिक टन खसीबोकाको मासु उत्पादन हुने तथ्याङ्क छ । अघिल्लो वर्ष कोभिडका कारण कम खपत भएको थियो । विगतका वर्षमा दसैं–तिहारको समयमा ३१ हजार ८ सय खसीबोका काटिएको तथ्याङ्क छ । आचार्यका अनुसार यस वर्ष त्योभन्दा बढी खसीबोका खपत हुने अनुमान छ ।
दसैं–तिहारको समयमा पसलमाभन्दा बढी घरघरमा खसीबोका काट्ने गरिन्छ । यो समयमा पसलमा मात्रै १० हजारभन्दा बढी खसीबोका खपत हुने व्यवसायीले बताएका छन् । खसीबोका मासु व्यवसायी संघ चितवनका अध्यक्ष उद्धव तिम्सिनाले घटस्थापनादेखि कोजाग्रत पूर्णिमाको अवधिमा धेरै कारोबार हुने अपेक्षा गरिएको बताए।

उनका अनुसार गत वर्ष पाँच हजार मात्रै खसीबोका खपत भएका थिए । यस वर्ष यो सङ्ख्या दोब्बर हुने उहाँको अनुमान छ । पसलमा आउने खसीबोका छिमेकी जिल्लाका पनि हुने गर्छन् । उनका अनुसार नवलपरासी, गोरखा, लमजुङ, धादिङ, मकवानपुरलगायतका जिल्लाबाट यहाँ खसीबोका आउने गर्दछन् । जिल्लामा ३०० हाराहारी मासु पसल छन् ।
पछिल्ला वर्षमा जिल्लाका ग्रामीण क्षेत्रमा व्यावसायिक रुपमा बाख्रापालन थालिएको छ । विज्ञकेन्द्रमा ४०२ फर्म दर्ता भए पनि दर्ता नभई धेरै फर्म सञ्चालनमा छन् । ग्रामीण क्षेत्रमा सहकारीमार्फत खसीबोका उत्पादन र बजारीकरण गरिँदै आएको छ ।
मुख्य रुपमा पहाडी क्षेत्रमा व्यावसायिक खसीबोका उत्पादन गरिँदै आएको छ । कालिका नगरपालिकाको देवीटार, गौरीबारी, चिसापानी, अजिङ्गरे, भर्लाबारीलगायत गाउँका किसानले सहकारीमार्फत खसीबोका उत्पादन र बजारीकरण गर्दै आएका छन् ।
पहिलेपहिले भारतबाट खसीबोका आउने गरेको भए पनि पछिल्लो समय स्वदेशी उत्पादनले नै माग धान्दै आएको छ । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेका अनुसार पछिल्लो एक वर्षयता भारतबाट खसीबोका आउन छाडेका छन् ।
उनले भने, “माग धेरै छ, हामीले धान्ने अवस्थामा छौं ।” बाहिरबाट खसीबोका ल्याउँदा विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने भएकाले पछिल्लो समय खसीबोका आयात भएको देखिँदैन । सरकारले पशुपालनमा अनुदानसमेत दिँदै आएको भन्दै उहाँले स्वदेशमै आत्मनिर्भर हुने गरेको उत्पादनमा जोड दिइँदै आएको बताए। रासस