शुक्रबार, असार २०, २०८२

यसकारण घट्दैछ राउटेको संख्या, एक वर्षमै १५ जनाको मृत्यु

एक वर्षअघि राउटे समुदायको जनसंख्या १५६ जना थियो। अहिले यो संख्या १४१ मा झरेको छ। जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायको संख्या पछिल्लो समय घट्न थालेको छ।
 |  मंगलबार, भदौ ८, २०७८

देव राना

देव राना

मंगलबार, भदौ ८, २०७८

सुर्खेत– एक वर्षअघि राउटे समुदायको जनसंख्या १५६ जना थियो। अहिले यो संख्या १४१ मा झरेको छ। जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायको संख्या पछिल्लो समय घट्न थालेको छ।

पछिल्लो एक महिनाको अवधिमा राउटे समुदायमा चार जनाको मृत्यु भएको छ। साउन महिनामा २ वर्षीया मयो शाही, ३४ वर्षीय दलबहादुर शाही र २१ वर्षीय मानसिंह शाही र भदौ २ गते ७ वर्षीया राउटे बालिका दवी शाहीको मृत्यु भएको हो।

मदिराको अत्यधिक सेवन, कुपोषण, व्यक्तिगत सरसफाइको कमीजस्ता कारणले राउटे नागरिकको मृत्युदर बढेको हो। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार एक वर्षको अवधिमा राउटे समुदायका १५ जनाको मृत्यु भइसकेको छ।

‘प्रौढ र युवा अवस्थाका राउटेहरुको मदिरा र बालबालिकाको कुपोषणका कारण मृत्यु भइरहेको पाइन्छ,’ मन्त्रालयका महिला विकास अधिकृत अनिता ज्ञवाली भन्छिन्, ‘मदिरा, कुपोषण र व्यक्तिगत सरसफाइको कमीका कारण राउटेको संख्या घट्दो क्रममा छ।’

राउटेको संरक्षणमा क्रियाशील सामाजिक विकास सेवा केन्द्र (सोसेक) नेपालले पनि राउटेको मृत्युको मुख्य कारण मदिरा नै भएको दाबी गरेको छ। ‘राउटेको स्वास्थ्य सुरक्षाको लागि स्वास्थ्यकर्मी खटाउँदै आएका छौं, तर मदिराको लत छुटाउन सकिएको छैन,’ सोसेक नेपालका संस्थापक अध्यक्ष हिरासिंह थापा भन्छन्, ‘मदिराकै कारण राउटेको सुरक्षामा चुनौती थपिएको छ।’

मृत्युको मुख्य कारण अत्यधिक मदिरा सेवन भए पनि राउटे समुदायमा व्यक्तिगत सरसफाइ र खानपानको अवस्था पनि दयनीय रहेको उनको तर्क छ। राउटेहरुको नियमित स्वास्थ्य परीक्षणका लागि सोसेकले स्वास्थ्यकर्मी (अहेव विनोद विसी)लाई खटाएको छ। बालबालिकाको शिक्षादिक्षा र सुरक्षाको लागि शिक्षकसमेत खटाउँदै आएको छ। तर अटेरी गर्ने प्रवृत्तिका कारण राउटेको जीवनयापनलाई सहज बनाउ सकिएको छैन।

यस्तै, गुराँस गाउँपालिका दैलेखले पनि मदिराको अत्यधिक सेवनकै कारण राउटे समुदायमा मृत्युदर बढेको बताएको छ। ‘अघिपछिभन्दा सामाजिक सुरक्षा भत्ता बुझेको महिना दिनमा एक–दुई जनाको मृत्यु भएकै हुन्छ,’ गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वली भन्छन्, ‘पैसा पायो कि मदिरा खाइहाल्ने बानीले धेरै ठूलो असर गरेको छ।’ गुराँस गाउँपालिकाले विगत ३ वर्षदेखि राउटे समुदायलाई सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मा लिँदै आएको छ।

सामाजिक सुरक्षाबापत केन्द्र सरकारले प्रतिव्यक्ति मासिक ३ हजार र कर्णाली प्रदेश सरकारले २ हजार दिँदै आएको छ। गएको वर्षमात्रै करिब ७० लाख रकम वितरण गरिएको गाउँपालिकाले जनाएको छ।

आफ्नै जंगली परिवेशमा रमाउँदै आएका राउटे समुदायलाई पहिचान सहितको सामाजिकीकरण गर्ने प्रदेश सरकारको योजना छ। सामाजिक विकास मन्त्रालयले राउटे समुदायको पहिचानलाई जोगाउँदै सामाजिकीकरण गर्ने तयारी गरेको हो।

यसका लागि मन्त्रालयले राउटे समुदायको जातीय र मौलिकताको संरक्षण गर्ने, स्थायी बस्ती बसाल्ने, सीपको आधुनिकीकरण गर्ने, बाह्य समुदायबाट हुने नोक्सानी र हिंसाजन्य जोखिमबाट संरक्षण गर्ने, घुम्ती तथा खेलको माध्यमबाट शिक्षण सिकाइका गतिविधिहरु सञ्चालन गर्ने, भाषालाई लिपीवद्ध गर्दै संस्कृतिको संरक्षण गर्ने, नागरिकता उपलब्ध गराउने गरी नीति तयार गरेको छ।

राउटे समुदाय अहिलेसम्म नागरिकताविहीन छन्। उमेर पुगेका राउटे समुदायका नागरिकलाई तत्कालै नागरिकता वितरण गर्ने नीतिमा उल्लेख छ। राउटेलाई तीन वर्षअघि गुराँस गाउँपालिका–८ को ठेगाना राखेर अस्थायी परिचयपत्र दिइएको थियो। यद्यपि राउटे समुदायले भने परिचयपत्र फ्याँकिदिएका थिए। 

प्रकाशित: Aug 24, 2021| 01:10 मंगलबार, भदौ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।