काठमाडौं । प्रविधिको प्रयोगमार्फत नेपालको परम्परागत शिक्षा पद्धतिमा व्यापक रूपमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य लिएर स्थापना भएको संस्था दक्ष नेपालले ‘स्मार्टस्पिक’ नामको एउटा नवीन शैक्षिक उपकरण सार्वजनिक गरेको छ ।
बालबालिकाहरूका लागि घरमै बसी खेल्दाखेल्दै र रमाइलो गर्दै पढाइका कुराहरू सिक्न सकिने ‘स्मार्टस्पिक’ ले सहयोग गने दक्ष नेपालले बताएको छ ।
‘स्मार्टस्पिक’ एउटा प्रविधिमैत्री शैक्षिक अन्तक्र्रियात्मक शृङ्खला हो । प्रविधिको सहयोगमार्फत तयार गरिएको रचनात्मक स्मार्टस्पिकले बालबालिकाहरूमा स्वाध्ययन अभ्यास गराउन प्रोत्साहन गर्छ । नानो प्रविधिको सहयोगमा तयार गरिएको उक्त शृङ्खलामा किताब तथा स्मार्टस्पिक उपलब्ध छन् ।
सो स्मार्टस्पिकलाई किताबमा भएका अक्षर, शब्द, वाक्य, कथा, कविता वा चित्रमा छोएपछि आएको प्रतिक्रियाअनुरूप यस अद्भुत प्रविधिको लाभ उठाउन सकिन्छ ।
यसले बच्चाहरूलाई किताबमा दिइएका शब्दहरू लेख्न, पढ्न तथा सही उच्चारण गर्न मद्दत गर्नेछ । एक अध्ययनअनुसार मानिसको दिमागले सुनेको ३४ प्रतिशतसम्म याद राख्न सक्छ भने पढेको ७० प्रतिशतसम्म याद राख्न सक्छ । यसरी पढ्ने तथा सुन्ने दुवै सँगै गरियो भने ९५ प्रतिशतसम्म अवधारण हुन सक्छ ।
यो सुन्ने तथा पढ्ने कार्यलाई एकैचोटी गराउने एउटा निकै उपयोगी उत्पादन हो । साथै यसले अध्ययनलाई थप रचनात्मक तथा मनोरञ्जनात्मक बनाउने गर्छ । स्मार्टस्पिकको प्रयोगमार्फत बच्चाहरूले साधारण शब्दहरूदेखि कथा र कविताहरू पनि सुन्न सकिने हुनाले भाषा सिक्न मद्दत गर्नेछ ।
शिक्षाविद्हरूका अनुसार मनोरञ्जनात्मक शैक्षिक गतिविधिले बालबालिकाहरूमा रचनात्मक सिपको विकास गर्नुका साथै नयाँ कुरा सिक्न अभिप्रेरित गर्ने गर्दछ । अतः स्मार्टस्पिकले ख्यालख्यालमै अध्ययन गर्ने बानी बसाल्नेछ ।
यसमा पाठ्यक्रमले सिफारिस गरेका कुराहरूबाहेक खेल तथा मनोरञ्जनको लागि पनि विभिन्न किसिमका सामग्रीहरू समेटिएका छन् । स्मार्टस्पिक शिशुकक्षादेखि उच्च बालवाटिकाका बालबालिकाहरूको लागि हो । हरेक शृङ्खलामा नेपाली, गणित, अंग्रेजी, विज्ञान, सामाजिक शिक्षा, कथा तथा कविताहरूको किताब हुनेछ ।
स्मार्टस्पिक १८ महिनादेखि ७ वर्षसम्मका बालबालिकाहरूको साथीजस्तै हो । यसलाई प्रयोगमा ल्याउन विशेष ज्ञान वा अनुभवको आवश्यकता नहुने भएकाले जोसकैले पनि यसलाई सजिलै प्रयोग गर्न सक्छन् । साथै, हरेक किताबको पहिलो पानामा प्रयोग गर्ने तरिकाबारे उल्लेख गरिएको हुनाले यसले विद्यार्थी, शिक्षक, अभिभावक सबैका लागि स्वाध्ययन गर्न/गराउन मद्दत गर्नेछ ।