विराटनगर । नेपालको सबैभन्दा ठूलो ‘रिटेल चेन’ भाटभटेनी सुपर स्टोर सुनसरीको ईटहरीमा सञ्चालनमा आएको छ । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले शनिबार उद्घाटन गरी विधिवत् रुपमा सुपर स्टोर सञ्चालन गरेको जानकारी दिए ।
इटहरी चोकभन्दा ४ किलोमिटर पश्चिममा पर्ने लविपुरमा रहेको भाटभटेनी सुपर स्टोर ३५ कट्ठा जमिनमा फैलिएको छ । भाटभटेनीमा ३ अर्ब रुपैयाँ लगानी भएको सञ्चालक गुरुङले जानकारी दिए ।
सञ्चालनमा ल्याएको अवसरमा भाटभटेनीले मदिरा र सुर्तिजन्य वस्तुबाहेक सबै मालसामानमा १० प्रतिशत छुट दिएको छ । इलेक्ट्रोनिक आइटममा २० प्रतिशतसम्मछुट दिएको जनाइएको छ ।
अन्य जिल्लाको भन्दा ठूलो र बढी सुविधा सहितको सुपरस्टोर ईटहरीको रहेको सञ्चालकको उनको भनाई छ । ईटहरीको भाटभटेनी सुपर स्टोरलाई मनोरञ्जनस्थल सहितको किनमेलको केन्द्र बनाईएको छ ।
भाटभटेनीको भवन निर्माण २०७६ फागुनमा सुरु भएको थियो । यसलाई २०७७ माघसम्ममा सञ्चालनमा ल्याइसक्ने योजना थियो । तर, कोभिड–१९ को विश्वव्यापी महामारीका कारण ढिलो भएको गुरुङले जानकारी दिए ।
भाटभटेनी सुपर स्टोरका ए, बी र सी ब्लक नामकरण गरिएका ३ वटा छुट्टाछुट्टै भवन छन् । प्रत्येक ब्लकमा बेसमेन्टसहित ७ तला छन् । बेसमेन्टको क्षेत्रफल ५० हजार वर्गफिट छ र यसमा ५०० गाडी पार्किङ क्षमता छ । मनोरञ्जनका लागि भुइँतलामा ८०० वर्गफिटका ३ वटा फाउन्टेनको निर्माण गरिएको छ ।
‘ए’ र ‘बी’ ब्लकमा भाटभटेनीकै सामान राखिएको छ । ‘सी’ ब्लकको भुइँतलामा केएफसी, काठमाडौंको पेपे पिजा र आँगन रेस्टुरेन्ट छन् । यही तलामा बालबालिका खेल्ने ८ हजार वर्गफिटको प्ले ग्राउन्ड पनि बनाइएको छ । यसभन्दा माथि हिमालय जाभा कफीको रेस्टुरेन्ट निर्माणाधीन छ । त्यसभन्दा माथि वाणिज्य बैंकका एटीएमहरु राखिएको छ ।