काठमाडौं - अन्ततः लामो प्रतीक्षापछि चीनसँगको व्यापार नाका बुधबारदेखि सञ्चालन हुने भएको छ। भूइँचालोले भत्काएका भौतिक संरचनाको दुवै देशले निर्माण गरेपछि एक हजार ४९५ दिनपछि नाका सञ्चालनमा आउन लागेको हो। नाका सञ्चालनका लागि बुधबार नेपाल–चीन सीमाको मितेरी पुलमा विशेष कार्यक्रम आयोजना हुने छ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, मन्त्रालयका वरिष्ठ अधिकारी, प्रतिनिधिसभाका सदस्य एवम् राजनीतिक दलका नेता सहभागी हुनेछन्। यस्तै चीन सरकारका तर्फबाट भाइस मिनिष्टर अफ जनरल एडमिनिष्ट्रेशन कस्टम अफ चाइना र चीनको स्वशासित क्षेत्र तिब्बतका वरिष्ठ अधिकारी तथा सम्बद्ध निकायका पदाधिकारी सहभागी हुने जानकारी प्राप्त भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताइन्।
बुधबार गणतन्त्र दिवससमेत परेकाले महत्वपूर्ण कार्यक्रम तय गरिएको छ। प्रजिअ चेम्जोङका अनुसार बिहान ११ बजे नेपाल र चिनियाँ अधिकारीबीच द्विपक्षीय छलफल हुनेछ। त्यस्तै १२ बजे दुई देशका उच्च अधिकारीको उपस्थितिमा तातोपानी नाका पुनः सञ्चालनमा आएको घोषणा गरिनेछ। रिबन काटेर नाका सञ्चालनमा आएको घोषणा गरिने र तिब्बतबाट ऊन बोकेर आउने चार कण्टेनरको स्वागत गरिनेछ। नेपालका तर्फबाट पनि दुई कण्टेनर खासा पठाउने तयारी गरिएको छ।
खासाबाट ऊन ल्याउनका लागि मंगलबार बिहान मात्रै चार कण्टेनर त्यसतर्फ लागेका छन्। नाका पुनःसञ्चालनमा ल्याउने कार्यक्रम थप व्यवस्थित बनाउन सीमावर्ती भोटेकोशी गाउँपालिकाले समेत आवश्यक तयारी गरेको छ। सोही गाउँपालिका २ का वडाध्यक्ष दीपेन्द्र श्रेष्ठले कार्यक्रम थप भव्य र आकर्षक बनाउन आवश्यक तयारी गरिएको जानकारी दिए। उनले सोमबार दश नेपाली कामदारसमेत खासा गएको जानकारी दिए।
मितेरी पुलको काम बुधबार सकिने भएकाले मंगलबार पुलमुनिको अस्थायी बाटो हुँदै कण्टेनर खासा प्रस्थान गरेको हो। नाका खुलाउने अन्तिम तयारीका लागि गृहमन्त्री रामबहादुर थापा, नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एवम् सिन्धुपाल्चोकका प्रतिनिधिसभा सदस्य अग्निप्रसाद सापकोटालगायतको टोली यही शनिबार तातोपानी पुगेको थियो।
नाकामा शान्ति सुरक्षाको अवस्था चुस्तदुरुस्त राख्न र कुनै पनि प्रकारको कमिकमजोरी नगर्न गृहमन्त्री थापाले निर्देशन दिएका थिए। नाकालाई व्यवस्थित बनाउन अध्यागमन र भन्सार कार्यालय तथा व्यवसायीले समेत आवश्यक समन्वय गरेको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष वेदबहादुर श्रेष्ठले जानकारी दिए। नाका खुल्ने खबरसँगै नेपाल र चीन दुवैतर्फका व्यापारी तथा व्यवसायीको समेत चहलपहल बढेको छ। वार्षिक रु २० अर्बको आयात र रु तीन अर्ब बढीको निर्यात हुने सो नाका सञ्चालनमा आउने खबरपछि स्थानीय व्यवसायीसमेत उत्साहित भएका छन्।
भूइँचालोपछि खाली रहेको अध्यागमन र भन्सार कार्यालय सफासुग्घर बनाई सञ्चालनमा ल्याइएको तातोपानी भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतको भनाइ छ। नेपाल हिमालयन सीमापार वाणिज्य सङ्घका अध्यक्ष बच्चु पौडेलले औपचारिक रुपमा नाका बुधबारदेखि खुल्ने भए पनि मंगलबारै चार कण्टेनर अनौपचारिक रुपमा प्रवेश गरी खुलेको बताए। विगतको जस्तै बजार व्यस्त हुने, रोजगारीको अवसरमा वृद्धि हुने र मुलुकले समेत त्यसबाट फाइदा लिन सक्ने उनले बताए। रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४