काठमाडौं । नेपालको ‘ल्याबिस’ वेभरेज यार्सागुम्बाको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र काठमाडौंको बेसीगाउँमा सोरुम सञ्चालनमा आएको छ ।
एभरेष्ट हर्बस् प्रोसेसिङ प्रालीले उत्पादन गरेको यार्सागुम्बा नेपालको महँगो मदिरा हो । कम्पनीले नेपाली बजारमा माग बढ्दै गएपछि आफ्नो आउटलेटलाई फैलाउँदै लगेको हो ।

काठमाडौंको बेसीगाउँमा गत साता यार्सागुम्बाको ठूलो र भव्य सोरुम सञ्चालनमा आएको हो । त्यस्तै कम्पनीले अन्तराष्ट्रिय विमानस्थलमा ड्युटी फ्रि जोनमा आफ्नो सोरुम पनि खोलेको छ । नेपाल आउने र नेपालबाट जाने पर्यटकलाई लक्षित गरि कम्पनीले अन्तर्राष्ट्रिय विमानस्थलमा यार्सागुम्बाको सोरुम खोलेको हो ।

२ वर्षअघिदेखि उत्पादन भएर बजारमा आएको यार्सागुम्बाको नेपाली बजारदेखि अन्तराष्ट्रिय बजारमा माग बढ्दै गएको कम्पनीका प्रबन्ध निर्देशक विक्की गोयंकाले बताए ।
‘यार्सागुम्बा वेभरेज छोटो समयमा नै नेपाली बजारमा स्थापित भैसकेको छ, विदेशमा पनि केहि मुलुकमा निर्यात भैसकेकाले विदेशमा पनि यसको माग बढ्दो छ,’ उनले भने ।
‘यार्सागुम्बा नेपालको गहना हो, हामी यसैमार्फत नेपालको नयाँ चिनारी विश्वभर फैलाउन खोजिरहेका छौं,’ गोयंकाले भने । यसलाई मदिरामात्र भन्न हुँदैन यार्सागुम्बा जडिबुटीको मिश्रणसहित बनाइएको हुनाले यसका अनेक फाइदा पनि भएको उनी बताउँछन् ।

‘महँगो भएपनि नेपाली मदिरा पारखीहरुले मनपराइदिएकै कारण छोटो समयममा नै नेपालभर यो पुगेको छ,’ उनले भने ।
यार्सागुम्बा वेभरेज ७५० मिलिको दुई थरिमा बजारमा उपलब्ध छ । गोल्डेन साफिर (४० प्रतिशत अल्कोहल) र ब्लु साफिर (२८.५ प्रतिशत अल्कोहल) गरि कम्पनीले बजारमा पठाएको छ ।
कम्पनीले देशका मुख्य सहरमा यार्सागुम्बाको आफ्नै आउटलेट पनि खोल्ने योजना बनाएको छ ।