विराटनगर/ काठमाडाैं । विराटनगर–२ तिपैनीमा रहेको दक्षिणकाली स्टोरकी सावित्रा भट्टराई निरौलालाई यतिखेर ग्राहकलाई सामान बेच्न भ्याइनभ्याइ छ । हरियो चुरा, पोते, मेहेन्दी किन्नेको भीड हुन्छ उनको पसलमा ।
उनको मात्र होइन प्रदेश नं १ को राजधानी विराटनगरको बजार यतिखेर पूरै हरियाली भएको छ । साउनको आगमनसँगै विराटनगरको बजार होस् वा भित्री गल्लीका दोकानहरूमा यतिखेर महिला दिदीबहिनीलाई हरियो चुरा, हरियो पोते, पहेँलो पोते, मेहन्दी, हरियो साडीहरू खरिद गर्न भ्याइनभ्याइ भएको छ ।

साउनमा आफ्नो व्यापार अघिपछिको भन्दा ९० प्रतिशत बढी हुने निरौलाले बताइन् । यो वर्ष सीमा क्षेत्र बन्द भएकाले पनि व्यापार बढेको उनको भनाइ छ । ‘सीमा नाका खुला हुँदा धेरैले जोगवनीबाट ल्याउने गर्थे’, उनले भनिन्, ‘अहिले बन्द भएकाले विराटनगरमा व्यापार बढेको छ ।’ भोगवनीले गर्दा विराटनगरको व्यापारलाई धेरै असर पुग्ने उनको तर्क छ । सीमा नाका बन्द भएदेखि व्यापार बढेको निरौलाले बताइन् । साउनकोसँगै अन्य व्यापार पनि बढेको उनको भनाइ छ ।
यस्तै, न्यू–दिदी शृंगार पसलका व्यापारी विपीनसिंह भण्डारी यो महिनामा व्यापार बढ्ने र आम्दानी पनि राम्रो हुने बताउँछन् । पसलमा चुरा किन्न आउनुहुने विराटनगर निवासी सुजता खनालले आफ्ना साथीहरूले लगाएको देखेर र साउनमा चुरा र मेहन्दी लगाउन रहर लागेकाले आफू पनि चुरा लगाउन र मेहेन्दी किन्न आएको बताइन् ।

पछिल्लो जे कुरा नि अरुको देखासिखिमा गर्ने प्रचलन बढेको छ । कतिपयले रहरले लगाउँछन् भने कतिपय केही अर्थ बुझेर । विराटनगर–२ की स्मिता भगत आफ्नो रहरले हरियो चुरा, मेहेन्दी लगाउने गरेको बताउँछिन् ।
यस्तै विराटनगर निवासी ५० वर्षीया सलिना कोइराला हिन्दू महिलाले साउन महिनालाई विशेष महिनाका रुपमा लिने गरेको र साउन महिनामा हरियो चुरा, हरियो पोते, मेहन्दी र हरियो बस्त्र लगाई शिवजीको पूजा गर्ने सोमबारको व्रत बस्ने श्रीमानको लामो आयु तथा दीर्घायुको कामना गर्ने गरेको प्रतिक्रिया दिइन् ।
विराटनगर बजारमा यतिखेर व्यापारीलाई हरियो पहेलो चुरा, पोते, मेहेन्दी लगातका सामान बिक्री गर्न चटारो छ । विवाहित महिला होस् वा अविवाहित महिला कतिले रहरले लगाउने गरेका छन् भने कतिले देखासिकी गरेर हरियो चुरा र मेहेन्दी लगाउने चलन नै भइसकेको छ ।

हरियो रङ्गलाई समृद्धिको प्रतीक पनि भनिने भएकाले हिन्दू महिलाले श्रीमानको समृद्धि होस् भनेर विवाहित महिलाले हरियो चुरा, पोते, हरियो लुगा र मेहेन्दी लगाउने धार्मिक प्रचलन छ ।
साउन महिनामा हरियो चुरा, हरियो पोते, मेहन्दी र हरियो साडीहरू एकले अर्कालाई उपहार पनि दिने चलन छ भने बजारमा यी सामानहरूको खरिद–बिक्री पनि बढेको व्यापारिहरूको भनाइ छ ।
चाडबाडको मुखमा छैन व्यापार
कोरोनाको कारण साउन महिनामा पनि राम्रो व्यापार हुन नसकेको काठमाडाैंका व्यापारीले गुनासो गरेका छन् । साउन महिना लागेसँगै विशेषतः हिन्दु धर्मावलम्बीहरूको चाडबाड सुरु हुन्छ । विगतका वर्षमा यो समयमा व्यापार गरेर फुर्सद नहुने काठमाडौंका व्यापारीहरू अघिल्लो साउनदेखि सटरभाडा कसरी तिर्ने भन्ने चिन्तामा छन् ।
केही व्यापारीले सरकारले कोरोनाको पहिलो लहरमा लकडाउन र दोस्रो लहरमा गरेको निषेधाज्ञाले कर्मचारीसमेत कटौती गरेको बताए । काठमाडौंको रातोपुलमा ‘बुटवल कस्मेटिक पसल’ सञ्चालन गर्दै आएका दीपक केसी भन्छन्, ‘२०७६ को साउनमा दैनिक ८० हजारदेखि एक लाखसम्म व्यापार हुने गरेकोमा कोभिड आएपछि अहिले २० देखि ३० हजार मात्रै हुन्छ । पहिला चार जना कर्मचारी राखेकोमा तलब दिन नसकेर दुई जना कर्मचारी हटाएको छु ।’

त्यस्तै डिल्लीबजारमा ‘स्वर्णिम कस्मेटिक पसल’ सञ्चालन गर्दै आएकी प्रमिला केसी कोरोनाको कारण चाडबाडलगायत अन्य समयमा पनि व्यापार नभएको गुनासो गर्छिन् । केसीको कोरोना संक्रमण पहिला मासिक एक लाखसम्म व्यापार हुन्थ्यो । तर, पछिल्लो समय मासिक २० हजार बढी व्यापार हुन सकेको छैन । कोभिडपछि साउन/तीज अर्थात् चाडबाडमासमेत उनको व्यापार राम्रो हुन सकेको छैन । केसीले चार/पाँच जना कर्मचारी राखेर व्यापार गर्दै आएकोमा सो संख्या घटाइ हाल एक जना मात्रै राखेकी छन् ।
इन्द्रचोकमा चुरा र पोते तथा कस्मेटिक पसल सञ्चालन गर्दै आएका अयुव हसनको काठमाडौंमा पाँचवटा शाखा पसल छन् । तर, व्यापार भने साउनको सुरुवाती दिनमा मात्रै भएको हसन बताउँछन् । हसन भन्छन्, ‘साउनमा धेरै व्यापार भएन, कोरोनाले बन्दको हल्ला छ । सामान पनि धेरै थपेका छैनौं । तीजमा व्यापार हुन्छ कि भन्ने आशा छ ।’ साथै चुरा, पोतेलगायत सामान राम्रोको लागि अर्थात् विलासि वस्तु भएकाले पनि आर्थिक अभाव बढ्दै गएको समयमा चाडबाडको रौनक नदेखिएको उनको बुझाइ छ ।

साउन महिनामा हरियो चुरा, पोतेको मात्रै होइन हरियो पहेंलो लुगा र मेहेन्दीको पनि महत्व उति नै रहेको छ । ज्ञानेश्वरमा विद्या कस्मेटिक तथा कपडा पसल सञ्चालन गर्दै आएकी विद्या वैद्यले यो वर्ष कस्मेटिक अर्थात् पार्लर चलाएकी छैनन् ।
गत चैतमा नै इन्डियाबाट व्यापारको लागि ल्याएको लुगा हालसम्म पनि बिक्री नभएकाले फेरि सामान थप्ने र कस्मेटिक सञ्चालन गर्ने रहर नलागेको उनले बताइन् । विगतका वर्षमा मेहेन्दी लगाइदिने र चुरा पोतेसमेत बेच्ने गरिकी थिइन् । यो वर्षबाट मेहेन्दि र चुराको व्यापार उनले अनिश्चतकालको लागि बन्द गरेकी छन् ।
साउन महिना भगवान शिवको प्रिय महिना भएकाले हरियो तथा पहेंलो लुगा, मेहेन्दी, चुरा, पोतेमा नेपाली महिलाहरू सजिने गरेका छन् । साथै साउन महिनाको प्रत्येक सोमबार विवाहित महिलाले श्रीमानको दीर्घायु तथा परिवारको सुख, शान्ति एवं समृद्धि र अविवाहित नारीले असल पतिको कामना गर्दै व्रत बस्ने धार्मिक मान्यता छ ।