काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघको व्यवसायीमाथि आक्रमण तथा लुटपाटका घटना बढ्दै गएको प्रतिसरकारको ध्यानाकर्षण गराएको छ । महासंघले विज्ञप्तिमार्फत व्यवसायीमाथि आक्रमण तथा लुटपाटका घटना एकपछि अर्को दोहोरिँदै जानुले मुलुकको शान्ति सुरक्षाको अवस्थाप्रति नै गम्भीर चुनौती खडा गरेको जनाएको हो ।
महोत्तरी जिल्लाको सम्सी गाउँपालिका–१ मा लुटेरा समूहले राजीप ज्वेलर्सका सञ्चालक वीरेन्द्र साहलाई बुधबार राति करिब १२ बजेको समयमा गोली हानेको महासंघले जनाएको छ ।
उक्त घटनामा वीरेन्द्र गम्भीर घाइते तथा उनका परिवारका अन्य सदस्य रड तथा खुकुरी प्रहारबाट सख्त घाइते भएका छन् । साथै पसल तथा घरमा रहेका सुनचाँदी र गरगहनासमेत लुटिएको छ ।
करिब एक महिना पहिले सिराहामा भएको सुनचाँदी व्यवासयीको हत्या र लुटपाटको घटना सेलाउन नपाउँदै पुनः त्यस्तै प्रकृतिको अर्को घटना दोहोरिएको प्रतिमहासंघले आपत्ति जनाएको हो ।
‘
व्यवसायीमाथि एकपछि अर्को गरी हमला तथा लुटपाट हुन थालेको घटनाले समग्र सुनचाँदी व्यवसायीलाई हतोत्साही र चिन्तित बनाएको मात्र नभई व्यवसाय सञ्चालन गर्ने मनोबल नै खस्किएको छ । यस्ता घटनाले आम सुनचाँदी व्यवसायीका साथै समग्र उद्यमी व्यवसायी र पेशाकर्मीलाई नै चिन्तित तुल्याएको छ ।’
‘यस्ता घटनाको विषयमा सरकार एवं सुरक्षा निकायको गम्भीर रूपमा ध्यानाकर्षण गराउँदै दोषी पत्तालगाई कारबाही गर्नुका साथै आगामी दिनमा यस्ता घटना हुन नदिन जोडदार माग गर्छाैं ।’
गम्भीर घाइते सुनचाँदी व्यवसायी साह र उनको परिवारका सदस्यको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आगामी दिनमा निर्वाध रुपमा पेशा व्यवसाय गर्न पाउने वातावरण सिर्जना गर्न सरकार र सुरक्षा निकायसँग महासंघले आग्रह गरेको छ ।