बारा- भिषण हावाहुरीबाट बारा र पर्सा गरी मृत्यु हुने संख्या ३५ पुगेको छ। आइतबार राती अचानक आएको हावाहुरीका कारण बारामा ३४ र पर्सामा १ जनाको ज्यान गएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
५ सय भन्दा धेरै ब्यक्तिहरु घाइते भएका छन् । यीमध्ये करिब एक सय भन्दा धेरै घाइतेहरुको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । अस्पतालहरुमा बिरामी खचाखच भएपछि भुइमै राखेर उपचार थालिएको छ ।
गम्भीर प्रकृतिका घाइतेको संख्या धेरै भएको हुँदा क्षतिको विवरण अझै बढ्न सक्ने बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले जानकारी दिए । अस्पतालमा विरामीको चाप बढेसँगै घाइतेहरुको उपचार निशुल्क गर्न दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले निर्देशन दिएका छन् ।
हावाहुरीले धेरै ठाउँमा यात्रुवाहक सवारीसाधन पल्टाउनुका साथै माटोबाट बनेका घरहरूमा क्षति पुगेको बताइएको छ । प्रदेश नं २ को सरकारका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाका अनुसार बाराका भलुही, भरवलिया र फेटा सबैभन्दा बढी प्रभावित भएका छन्।
यसअघि गएराति १०ः३७ मा ट्वीट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म २५ जनाको ज्यान गएको र झन्डै चार सय जना घाइते भएको जानकारी प्राप्त भएको भन्दै शोक व्यक्त गरेका थिए ।
एक्कासी आएको हावाहुरीका कारण रुख, बिजुलीको पोल, घरको छानामा चेपिएर उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ । मृतकहरु मध्ये आधिकांश बालबालिका र वृद्धवृद्धा रहेको बताइको छ । घटनामा घाइते भएका दुइसयभन्दा बढीको वीरगंज र नजिकका अस्पतालहरुमा उपचार भइरहेको छ ।
प्रभावित जिल्लाहरूमा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी तथा स्वयंसेवकहरू परिचालित भएका छन् । रातभरी उद्धार कार्यमा खटिएका सुरक्षाकर्मीहरु आज बिहानैदेखि उद्धार कार्यलाई तिब्र गतिमा अघि बढाएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४