कोरोना कहरका कारण स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको अवज्ञा गरेको भन्दै जिल्लामा ३ सय ८८ व्यवसायीलाई कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खेमराज पौडेलका अनुसार निषेधाज्ञा उल्लंघन गरी व्यापार व्यवसाय सञ्चालन गरेकालाई कारबाही गरिएको हो ।
उनका अनुसार उनीहरुलाई १ हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना गरिएको छ । निषेधाज्ञाको समयमा स्थानीय प्रशासनले तोकेको समयभन्दा बढी व्यवसाय सञ्चालन गरेका उनीहरुलाई जरिवाना गराई सम्झाएर पठाइएको उनले बताए।
यस्तै निषेधाज्ञाको समयमा विनाकारण बजारमा हिँड्डुल गर्ने ११ हजार ७ सय २० जनालाई होल्डिङ सेन्टरमा राखिएको छ । होल्डमा राखिएकामा मास्क नलगाई हिँड्डुल गर्ने पनि छन् । निषेधाज्ञाको समयमा अनावश्यक रुपमा बजारमा देखिएका सात हजार ७ सय सवारी साधनलाई कारबाही गरिएको छ ।
त्यसमा चारपाङ्ग्रे सवारी साधन १ हजार ४ सय ४५ र दुईपाङ्ग्रे सवारी साधन ६ हजार २६० रहेका छन् । उनीहरुलाई ५ सय देखि १ हजार रुपैयाँसम्म जरिवाना गरिएको कार्यालयले जनाएको छ ।
निषेधाज्ञा उल्लंघन गर्नेबाट कारबाहीस्वरुप २२ लाख ९१ हजार ४ सय रुपैयाँ राजश्व संकलन गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण स्थानीय प्रशासनले गत वैशाख १७ गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।
जारी गरिएको निषेधाज्ञा तेस्रो पटकसम्म थप गरिएको समयसमेत यही जेठ २० गते सकिँदैछ । कोरोना सङ्क्रमणका कारण जिल्लामा २ सय २१ जनाको मृत्यु भएको छ भने १३ हजार ८ सय ८९ सङ्क्रमित भएका छन् ।
सोमध्ये ४ हजार ८ सय ४५ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लाका विभिन्न अस्पतालमा उपचाररत १ सय ५०, होम आइसोलेसनमा रहेका ४ हजार ६ सय ७९ र सार्वजनिक आइसोलेसनमा रहेका १६ सङ्क्रमित छन् ।