काठमाडौं । सरकारले झण्डै दुई दर्जन विद्युतीय सामग्रीमा भन्सार घटाइएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न विद्युतीय सामग्रीको भन्सार घटाएको हो ।
खासगरी, देशमा विद्युत उत्पादन बढ्दै गएको र खपत बढाउन विद्युतीय सामग्रीमा भन्सार घटाइएको अर्थसचिव शिशिरकुमार ढुंगानाले जानकारी दिए । ‘सरकार राजस्वमुखी मात्रै छैन,’ उनले भने, ‘देशभित्र विद्युत खपत बढाएर त्यहाँबाट आउने आम्दानीलाई प्राथमिकता दिएको हो ।’
दैनिक जनजीवनमा उपयोग हुने विद्युतीय सामग्रीको भन्सार घटाइएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए । ‘जुन वस्तु दैनिक रूपमा प्रयोग हुन्छ, त्यस्ता वस्तुको भन्सार घटाउँदा सस्तो हुने र खपत बढ्ने अनुमान सरकारको छ,’ पौडेलले भने, ‘यसरी विद्युतीय सामग्रीको भन्सार घटाएपछि विद्युत् खपत बढ्छ । त्यहाँबाट राज्यले पाउने आम्दानी बढ्छ ।’
सरकारले आर्थिक अध्यादेशमार्फत विद्युतीय पंखा र पार्टपुर्जाको भन्सार ५ प्रतिशत घटाइएको छ । चालू आर्थिक वर्षमा यी सामग्रीको भन्सार १५ प्रतिशत थियो । त्यसैगरी, रेफ्रिजेरेटर तथा फ्रिजको पनि ५ प्रतिशत भन्सार घटाइएको छ । यसअघि यी वस्तुको भन्सार २० प्रतिशत थियो ।
त्यसैगरी, डिसवासिङ मेसिनको पनि १० प्रतिशत भन्सार घटाइएको छ । यसअघि उक्त सामग्री आयात गर्दा ३० प्रतिशत भन्सार महसुल तिर्नुपर्ने अवस्था थियो । मिक्सर, ग्राइन्डर तथा जुसरको भन्सार पनि १५ बाट १० प्रतिशतमा झारिएको छ । अर्थ मन्त्रालयले पानी तताउने मेसिन, कपाल सुकाउने मेसिन, आइरन, माइक्रोवेव ओभनको भन्सार १५ बाट १० प्रतिशतमा झारिएको छ ।
इन्डक्सन चुलोको भन्सार पनि ५ बाट १ प्रतिशतमा झारिएको छ । राइसकुकर, पानी तताउने केट्ली, कफी तथा चिया बनाउने मेसिन, टोस्टारलागयतका सामग्रीको पनि १५ बाट १० प्रतिशतमा झारिएको छ ।