आइतबार, साउन ५, २०८२

'जानी नजानी' बिग्रिएको कांग्रेस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

यही चैत १ गतेदेखि नेपालका विभिन्न फिल्म हलमा नेपाली फिल्म 'जानी नजानी' प्रदर्शन भइरहेको छ । नेपालमा प्राध्यापन, पत्रकारिता र कांग्रेसी राजनीति गर्दागर्दै विदेश भासिएका युवा मोदनाथ खनाललगायतले यो फिल्म निर्माण गरेका छन् ।

विद्यार्थी राजनीति, प्राध्यापन र लोकतान्त्रिक आन्दोलनमा सँगसँगै हिँडेका मित्र मोदनाथजीले प्रथम प्रदर्शन अवलोकन गर्न निम्तो दिए र वर्षौँपछि फिल्म हेरियो । यो फिल्म भविष्यमा कति सफल होला भन्ने बुझ्न प्रतीक्षा गर्नैपर्दछ तर फिल्मको विषयवस्तु र गुणस्तरका कारण दर्शकको मन जित्न सफल हुनेछ भन्ने विश्वास गर्न सकिन्छ ।

मित्र मोदनाथले समर्थन गर्दै आएको नेपाली कांग्रेस भने अहिले अत्यन्त कमजोर अवस्थामा छ । पार्टीको इतिहास छ, समकालीन राजनीतिक दलहरुको भन्दा उत्कृष्ट सिद्धान्त, आदर्श र विचार छ, जनताको समर्थन छ, नेताहरुको योगदान र बलिदान छ तर पनि निर्वाचन परिणामले थला परेको छ । सत्तारुढ दल नेकपाको सरकारको अधिनायकवादी, जनहित विरोधी र अलोकप्रिय क्रियाकलापले नेपाली कांग्रेसको अभ्युदय निश्चित छ तर यही पार्टीका नेताहरुको क्रियाकलाप, कार्यशैली र अदूरदर्शिताले भने उक्त फिल्मको परिणामभन्दा ठीक विपरीत सफलताको बाटो चुम्ला भन्ने ठोकुवा गर्न कठिन देखिएको छ ।

दर्शकलाई मनोरञ्जन प्रदान गर्नु चलचित्रको प्रमुख उद्देश्य हुन्छ भनेसाथसाथै समाजलाई कुनै सकारात्मक सन्देश दिन सक्नु पनि चलचित्रको सफलता असफलताको प्रश्नभित्रै रहन्छ । चलचित्रको इतिहास हेर्दा अति मनोरञ्जनात्मक चलचित्र पनि असफल हुन पुगेका छन् भने सन्देश प्रवाह गर्ने हिसाबले सशक्त मानिएका चलचित्रहरुसमेत सफल हुन नसकेका उदाहरण छन् ।

राजनीतिक दलहरुको पनि निश्चित सिद्धान्त हुन्छ, लक्ष्य हुन्छ, आदर्श हुन्छ र उद्देश्य हुन्छ । पार्टीको उद्देश्य भनेकै संगठित हुनु र जनताको सेवामा केन्द्रित हुनु हो । लक्ष्य देश विकास र जनताको समुन्नति हो । कतिपय राजनीतिक दलको निश्चित सिद्धान्त देखिँदैन, आदर्शविहीन हुन्छन् तर पनि चुनावमा विजय हासिल गरिरहेका हुन्छन् । कुनै दल लोकतन्त्र र जनताप्रति प्रतिबद्ध भए पनि नेताहरुको अकर्मण्यताले पछाडि परिरहेका हुन्छन् । नेपाली कांग्रेस अहिले त्यही नियति भोगिरहेको छ ।
 
डन, धन र गणेशहरुको विश्वासमा पार्टीलाई कमजोर बनाउँदै जानु भन्दा पुराना, सच्चा इमानदार र नयाँ क्रियाशील कुमारहरुलाई जिम्मेवारी दिने परिपाटी आरम्भ गरेमा कांग्रेसलाई पुरानो साख फर्काउन त्यति मुस्किल छैन । 

'जानी नजानी' फिल्मबारे कुरा गर्दा आधुनिक युवाहरुको ट्रेन्डबमोजिमका भाषा, पोसाक, रहनसहन, चालचलन, खानपान प्रस्तुत गरिएको छ । सायद ती कुरा युवा रोजाइमा पर्लान् । सन्देशको दृष्टिले हेर्ने हो भने समाजलाई प्रस्ट दुई सन्देश दिएको छ- पहिलो, जतिसुकै बिग्रेको मान्छे पनि सच्चिन चाहेमा प्रगति गर्न सक्छ । दोस्रो, नेपालले नेपाली मौलिक उत्पादन र उत्पादक उद्योगलाई प्रोत्साहन गर्दै प्राथमिकतामा राख्नुपर्छ ।

चलचित्रमा देव भन्ने एक पात्र हुन्छन् नायकका रुपमा । उनी धनी बाबुका बिग्रेका छोरा । उनको दैनिकी भनेका रात बिताउनका लागि नयाँनयाँ साथीको खाजी हुन्छ । अति व्यस्त भएर श्रीमतीलाई समय दिन नसकेका डाक्टरका श्रीमतीदेखि लिएर विविध खाले २३ महिलालाई उनले बिगारिसकेका हुन्छन् । २४औँ कन्यासँग नजिकिएर उनलाई बर्बाद गर्ने ध्याउन्नमा रहेका देवको सोच थाहा पाएपछि चलचित्रकी नायिका मीराले पत्तो पाउँछिन् । सँगसँगै डुल्दाबस्दा सही बाटो के हो भन्ने मीराले देवलाई बताएकी हुन्छिन् ।

खराब देवलाई मीराले त्याग्छिन् । मीराले त्यागेपछि उनले बताएको मार्गमा देव हिँड्न थाल्दछन् र अन्त्यमा असल व्यापारीका रुपमा दरिन पुग्छन् । चलचित्रको अन्त्यमा यी दुवैको विवाह हुन्छ । खराब बाटोमा लागेकालाई असल मार्ग देखाउनुपर्दछ र मान्छेले चाहेमा आफ्नो छवि सुधार्न सक्दछ भन्ने सन्देश यो चलचित्रले दिएको छ ।

नेपाली राजनीतिमा नेपाली कांग्रेस पनि जनसमर्थन र विचारका दृष्टिले समृद्ध पार्टी थियो विगतमा । नेतृत्वमा स्वार्थ पलाउँदै जाँदा, नेताहरु आत्मकेन्द्रित हुँदै जाँदा र नेपालका गाउँ र जनताभन्दा टाढा सुविधासम्पन्न राजधानीमुखी हुँदै जाँदा कांग्रेसको स्थिति खस्किँदै गएको छ । कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझैं ज्वलन्त एजेन्डालाई छाडेर तेरो र मेरो गुटको लडाइँमा रुमल्लिँदा तमाम युवाको भविष्य अन्धकारतर्फ धकेलिँदैछ । नेपालमा लोकतन्त्रको रक्षार्थ उभिने दलहरुको खडेरीमा रहेको एकमात्र कांग्रेस पनि कमजोर हुँदै जाँदा लोकतन्त्र नै खतरामा पर्न आँटिसकेको छ ।



प्रधानमन्त्रीमा श्री ३ बन्ने सोच पलाएको छ । मेलम्ची खानेपानीमा मन्त्रीले भ्रष्टाचार गर्न खोजिन् । त्यसैले निर्माण रोकियो भनेर सचिवले सार्वजनिक सञ्चारमाध्यममा खुलेयाम अन्तर्वार्ता दिए । शक्तिशाली नेकपाका अध्यक्ष प्रचण्डकी बुहारी मन्त्रीलाई यसरी नांगेझार हुने गरी बयान दिनु ती सचिवको चानचुने हिम्मत होइन । प्राज्ञिक स्वतन्त्रता बोकेका देशका सबै विश्वविद्यालय मन्त्री मातहत लैजान खोजिँदैछ । भ्रष्टाचारलाई संस्थागत गराई देश र जनतालाई खोक्रो बनाइँदैछ । यस्ता मुद्दा सयौँ छन् । कांग्रेस मौन छ । मेलम्चीको निर्माण कार्य रोकिएपछि रित्ता गाग्री बोकेर सडकमा ओर्लनुपर्ने कांग्रेस बूढानीलकण्ठ र बोहोराटारको सेरोफेरोमै गुट बनाउन व्यस्त छ ।

विदेशबाट अनुदान, सहयोग र ऋण आउन छाडिसक्यो । देशको ढुकुटी रित्तो हुन अब धेरै पर्खन नपर्ने भएको छ । अर्थमन्त्रीले नै बजेटको लक्ष्य पूरा गर्न नसकेको प्रतिवेदन दिए । सेयर बजार निरन्तर ओरालो लागेको छ । ओली सरकार गठन भएदेखि नै महँगीले जनताको ढाड सेक्न थालेकाले जनता दुई छाक टार्न नसक्ने भइसकेका छन् । यावत् समस्या लिएर जनताको घरदैलोमा जानुपर्ने कांग्रेस अनुशासन समिति, निर्वाचन समिति र महाधिवेशन प्रक्रियामै अल्झिरहेको छ ।

जनताले अझै विश्वास गर्दैछन् । रामेछाप, सिन्धुलीलगायतका जिल्लामा नेकपा छाडेर कांग्रेस प्रवेश गर्नेको लहर लागेकै छ । यो लहरलाई देशव्यापी बनाउनुपर्ने चुनौती कांग्रेसी नेताहरुको हो तर गुट उपगुटको राजनीतिमा कार्यकर्तालाई विभाजन गर्दै कांग्रेसलाई अझ कमजोर बनाउने खेल भइरहेछ ।

फिल्मको हिरो सच्चिएझैँ नेपाली कांग्रेस पनि सच्चिन सक्छ । इतिहास छ, राजनीतिक पृष्ठभूमि छ, नेताहरुको विरासत छ, विश्वेश्वरप्रसाद कोइरालाले दिएको सिद्धान्त र आदर्श छ, समग्रमा भन्नुपर्दा अझै पनि जनताको समर्थन छ र विश्वास छ । त्यो विश्वास मर्न नदिन म र मेरो होइन, हाम्रो भन्ने नेतृत्व कांग्रेस, मुलुक र जनताले खोजेको छ । कांग्रेसमा जनताको विश्वास जितेका, कार्यकर्ताको मन जित्न सक्ने, पार्टीलाई सर्वोपरि हितमा सञ्चालन गर्न सक्ने थुप्रै नेता छन् । सबैलाई मिलाएर सर्वजन हिताय काम गर्ने सोच नेतृत्वमा आउन जरुरी छ । यो असम्भव छैन ।

पहिले नेतृत्वले र सँगसँगै नेताहरुले आफ्नो कार्यशैली बदली सबै कार्यकर्तालाई समान दृष्टिले हेर्न थालेमा कांग्रेसले गति लिन धेरै समय पनि लाग्दैन । डन, धन र गणेशहरुको विश्वासमा पार्टीलाई कमजोर बनाउँदै जानु भन्दा पुराना, सच्चा इमानदार र नयाँ क्रियाशील कुमारहरुलाई जिम्मेवारी दिने परिपाटीको आरम्भ गरेमा कांग्रेसलाई पुरानो साख फर्काउन त्यति मुस्किल पनि देखिँदैन ।
  
साथै जानी नजानी चलचित्रमा नेपाली मौलिकता बोकेको ढाकाको व्यापार खस्किँदै गएपछि कम्पनीका मालिकहरुमध्ये एकबाहेक सबै बन्द गर्न खोज्छन् । आफ्ना पिताको पुख्र्यौली पेसा ढाकाको व्यापार बन्द गर्न एकजना भने तयार हुँदैनन् । नेपाल र नेपालीको पहिचानलाई जोगाइराख्न एक जना मात्रै तयार भए पनि सकिने रहेछ भन्ने सन्देश दिन सफल भएको छ चलचित्र ।

त्यस्तै नेपाली कांग्रेसको सरकार हुँदा बन्द भएका उद्योग पुनःस्थापित हुनुपर्दछ भन्ने सोच तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीले राखेका थिए । नेपाल औषधि आरम्भ गराए भने हेटौँडा कपडा सुरु गराउन उनलाई समय पुगेन । यद्यपि त्यही कारणले उनी चर्चामा रहे, कांग्रेसको छवि पनि उज्वल नै रह्यो ।

यो कांग्रेसलाई क्रियाशील गराउने समय हो । दुई तिहाई जिल्ला सभापतिहरुले माग राखी महासमिति बैठकमा भएको निर्णयलाई बदल्ने र पार्टीलाई पुनः विवादमा फसाउँदै लग्ने होइन । गाउँगाउँका जनता र कार्यकर्ताहरुले के भन्छन् भनी बुझ्ने र तदनुरुप पार्टीलाई सञ्चालन गरी आगामी निर्वाचनमा बहुमतको पार्टीका रुपमा स्थापित गराउन संघर्षरत रहने बेला हो । महासमितिको बैठकका बेला देउवा र पौडेलले देखाएको 'डिप लभ' लाई अझ गाढा बनाउने समय हो ।

निष्कर्षमा भन्नुपर्दा नेताहरुले आफ्नो बिग्रिएको छविलाई उजिल्याई निकट भविष्यमै सुधारिएको मनमुटावरहित सशक्त कांग्रेस नेपाली जनता र भावी पुस्तालाई सुम्पन आन्दोलन गर्ने समय हो । आफ्नै महाधिवेशन प्रतिनिधि कालान्तरसम्म सुनिश्चित गर्न चुनाव लड्नै नपर्ने व्यवस्था केन्द्रीय समितिले गर्ने अवसर पक्कै होइन । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...