काठमाडौं । मारवाडी सेवा समिति नेपालले पशुपति गौशाला धर्मशालामा अक्सिजन सहित ५१ बेडको निःशुल्क आइसोलेशन सेवा संचालन गरेको छ । मित्रपार्क स्थित नेपाल भारत मैत्री हस्पिटल सँगको सहकार्य एवं व्यवस्थापन तथा काठमाडौं महानगरपालिका वडा नं. ८ को समन्वयमा मारवाडी सेवा समितिले सो आइसोलेशन सञ्चालनमा ल्याएको हो ।
उपप्रधानमन्त्री एवं कोभिड–१९ संकट व्यवस्थापन समिति (सिसिएमसी)का संयोजक ईश्वर पोख्रेलको उपस्थितिमा बुधबारदेखि सर्वसाधारणको लागि आइसोलेशन सञ्चालनमा आएको हो । उपप्रधानमन्त्री पोख्रेलले मारवाडी सेवा समितिले सञ्चालन गरेको अक्सिजन सहितको आइसोलेशन व्यवस्थित रहेको बताए ।

साथै उनले अस्पतालहरुमा बेड पाएर पनि आर्थिक स्थिति कमजोर भई उपचार गराउन नसक्नेहरुको जीवन रक्षामा उक्त आइसोलेशन सञ्चालनले सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । त्यस्तै सिसिएमसी र स्वास्थ्य मन्त्रालयको तर्फबाट आवश्यक सहयोग गर्न नेपाल सरकार तयार रहेको उनको भनाइ छ ।
आइशोसेनमा रहने बिरामीहरुको लागि ल्याव परिक्षण र औषधि बाहेक अक्सिजन, खाना, बस्न तथा चिकित्सक, नर्स, लगायतका सबै स्वास्थ्य सेवा निःशुल्क रुपमा उपलब्ध हुनेछ ।

आइसोलेशनमा बस्नको लागि कोरोना संक्रमण भइ लक्षण देखिइका तथा अक्सिजन को लेभल ९० देखि ९४ को बीचमा भएको हुनु पर्नेछ ।
सो सेवा समाजले कोरोनाको पहिलो लहरमा देश भर करिब एक करोड ५० लाख भन्दा बढीलाई पुग्ने गरी रोगी प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने होमियोप्याथिक आर्सेनिक एल्बम–३०सी नामक औषधि निःशुल्क वितरण गरेको थियो ।

समाजका अध्यक्ष कैलाशचन्द्र गोयलका अनुसार, पोहोर काठमाडौंमा १० हजार परिवारलाई पुग्ने राशन तथा मास्क, सेनिटाइजर, ग्लब्स समेत वितरण गरेको थियो । २०१० सालमा स्थापना भएको मारवाडी सेवा समाजले प्राकृतिक विपद तथा महामारीमा विभिन्न सहयोग गर्दै आएको छ ।