ललितपुर - ललितपुर महानगरपालिकाले पाटनको देगु तलेजु मन्दिर पुनर्निर्माणका लागि पुरातत्व विभागले गरेको टेन्डर तत्काल रद्द गराउन माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्राचार गरेको छ।
टेन्डर मार्फत सम्पदाको पुनर्निर्माण गर्दा गुणस्तर कायम नहुने उल्लेख गर्दै ललितपुर महानगरले मंगलबार प्रधानमन्त्री ओलीलाई पत्राचार गरेको हो।
बुङमतीस्थित रातो मछिन्द्रनाथको मन्दिर, स्वथःको राधाकृष्ण मन्दिर, शंखमूलको जगतनारायण मन्दिर तथा सुन्धाराको उमा महेश्वर मन्दिरको पुनर्निर्माण कार्य सुरु गरेको लामो समय भएपनि अहिलेसम्म टुंगिन सकेको छैन। यी मन्दिरको पुनर्निर्माणको काम सार्वजनिक खरिद ऐन २०६३ अन्तर्गत टेन्डर प्रक्रिया मार्फत सुरु गरिएको थियो।
पुरातत्व विभाले जनकपुरको जानकी मन्दिर संरक्षण, पाल्पाको भैरवस्थान मन्दिर तथा सत्तल÷दरबार पुनर्निर्माण र ललितपुर पाटनको देगु तलेजु मन्दिर जिर्णोद्धारको टेण्डरको लागि २०७५ फागुन २१ गते गोरखापत्रमा सूचना प्रकाशित गरेको छ। यो सूचना अनुसार टेण्डर हाल्ने समय चैत ५ गतेसम्म छ।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले टेन्डर मार्फत सम्पदाको पुनर्निर्माण गर्न दिने हो भने सम्पदाको संरक्षण नहुने बताउँछन्। उनले भने, ‘ललितपुर महानगरमा जति पनि सम्पदा अलपत्र परेका छन् ति सबै टेन्डर प्रक्रियाबाट काम थालिएका सम्पदा हुन्। ती सम्पदा मध्ये कुनैको काम अघि बढ्न सकेको छैन। कुनैको त सक्नुपर्ने समय भन्दा निकै ढिलो काम भइरहेको छ।’
सार्वजनिक खरिद ऐन, ०६३ अनुसार टेण्डर न्यूनतम बोलपत्रकर्ताले टेण्डर पाउने व्यवस्था छ। तर, टेण्डरकर्ताको क्षमता र उसले प्रदान गर्ने सेवा र गुणस्तरीयताको बारेमा उल्लेख छैन्।
देगु तलेजु मन्दिर जस्तो ऐतिहासिक सम्पदाको पुनर्निर्माण टेण्डर प्रक्रिया मार्फत नगराउन पहलका लागि कार्तिक नाच संरक्षण समिति, मंगल टोल सुधार संघ, जेष्ठ नागरिक समाज नेपाल र देगु तलेजु मन्दिरका मूल पुजारीलगायतले ललितपुर महानगरपालिकाको ध्यानाकर्षण गराएका छन्।
सार्वजनिक खरिद ऐन मार्फत सम्पदा निर्माण गर्दा गुणस्तरीयता कायम नहँुने भन्दै मेयर महर्जनले प्रधानमन्त्री ओलीलाई सम्पदा पुनर्निर्माण अमानतमा गर्ने व्यवस्था मिलाउन यस अघि नै अनुरोध गरिसकेका छन्। २१ औं भूकम्प सुरक्षा दिवसको अवसरमा २०७५ माघ २ गते प्रधानमन्त्री पाटन दरवार स्क्वायर अवलोकनका क्रममा प्रधानमन्त्रीले ओलीले भनेका थिए, ‘ यो कुरा सान्दर्भिक छ, यस विषयमा क्याविनेटबाट निर्णय गराएर लागू गर्न सकिन्छ।’
पाटन दरबार क्षेत्रको उत्तरी भागमा रहेको भीमसेन मन्दिरको पुनर्निर्माण स्थानीय तहबाट गर्नका लागि प्रधानमन्त्री ओलीले देखाएको चासो महत्वपूर्ण भएको बताउँदै मेयर महर्जनले भने, ‘प्रधानमन्त्रीज्यूको पहलकदमीबाट नै भीमसेन मन्दिरको पुनर्निर्माणको काम स्थानीय तबरबाटै सुरु भइसकेको छ।’ महानगरको पहलमा ललितपुर उद्योग वाणिज्य संघको अगुवाई तथा स्थानीयको आर्थिक सहयोगमा मन्दिर पुनर्निर्माणको काम सुरु भइसकेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४