आइतबार, जेठ ५, २०८२

तनहुँ-१ का चर्चित अनुहार : कसलाई कसको डर, कसको भर?

आगामी १० वैशाखको उपनिर्वाचनमा तनहुँ–१ बाट उम्मेदवारी दिएका गोविन्द भट्टराई गठबन्धनको साझा उम्मेदवार भए पनि कांग्रेस सभापति शेरबहादुर देउवा अनि राष्ट्रपति रामचन्द्र पौडेलका कट्टर विरोधी गोविन्दराज जोशी र पार्टी परित्याग गरेर रास्वपाबाट मैदानमा उत्रिएका अर्थशास्त्री स्वर्णिम वाग्ले भारी हुन सक्ने सम्भावना देखिँदै छ।  
 |  शुक्रबार, चैत २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २४, २०७९

काठमाडौं- आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि तनहुँ–१ मा ९ राजनीतिक दलका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।

नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मंगोल नेसनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेपाल कम्युनिस्ट पार्टी (समाजवादी)बाट गणेश श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शोभा गुरुङ र नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनारले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

४ मंसिरको निर्वाचनमा निर्वाचित कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त तनहुँ १ मा १० वैशाखमा उपनिर्वाचन हुने भएको हो। तनहुँ १ कांग्रेसको बलियो पकड क्षेत्र हो। पौडेल गत निर्वाचनमा २५ हजार ३१३ मत प्राप्त गर्दै विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी एमालेका एकबहादुर रानाले १९ हजार ९२५ मत ल्याए। उनीहरूबीच ५ हजार ३८८ मतान्तर थियो। 

कांग्रेसको कारबाहीमा परेका नेता गोविन्दराज जोशी तनहुँ १ मा बागी उम्मेदवारका रुपमा थिए। भ्रष्टाचारको आरोप लागेका जोशी कुनै बेला केन्द्रीय राजनीतिमा प्रभावशाली नेताको रुपमा चिनिन्थे। अहिले पनि जिल्लामा उनको प्रभाव कायमै रहेको ठानिन्छ। कांग्रेसले कारबाही गर्नुपूर्व पार्टीभित्र उनको पकड रहँदै आएको थियो। तर कांग्रेस उम्मेदवार पौडेल विजयी भए। कारबाही भोगेका जोशीले ६ हजार ८७७ मतमात्रै प्राप्त गर्न सके। पौडेलको जितलाई आधार मानेर कांग्रेस उम्मेदवार गोविन्द भट्टराई आफू बलियो रहेको बताउँदै आएका छन्।

कांग्रेसले पूर्वमन्त्रीसमेत रहेका जोशीको साथ पनि खोजिरहेको देखिन्छ। केही दिन पहिले १९ चैतमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले जोशीको कारबाही फुकुवा गरेको हो। ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा पार्टी उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएपछि कारबाहीमा परेका जोशीको कारबाही फुकुवालाई कांग्रेसले उपनिर्वाचनमा उनको साथ खोजेको अर्थमा रुपमा लिइएको छ। भट्टराई स्थानीय नेता भएको र उनी पहिलो पटक संघीय चुनावका उम्मेदवार रहेकाले आफ्नो क्षेत्रको नयाँ अनुहारलाई तनहुँबासीले संसद्मा पुर्‍याउने कांग्रेस अपेक्षा छ।

जोशीले अहिलेसम्म कसलाई सघाउने भन्नेबारे मुख खोलेका छैनन्। तर कांग्रेसले कारबाही फुकुवा गरेपछि उनले उक्त निर्णय हास्यास्पद भएको अभिव्यक्ति दिएका थिए। कारबाही फुकुवाको भोलिपल्टै उनले एक वक्तव्य जारी गर्दै पार्टी सभापति शेरबहादुर देउवा झुण्डले माफी माग्नुपर्ने बताएका थिए। उनले कांग्रेसको त्यो बसेको बैठकले आफ्नो कारबाही फुकुवा नगरी भ्रममात्र छरेको दाबी गरेका थिए।

आगामी १० वैशाखको उपनिर्वाचनमा तनहुँ–१ बाट उम्मेदवारी दिएका गोविन्द भट्टराई गठबन्धनको साझा उम्मेदवार भए पनि कांग्रेस सभापति शेरबहादुर देउवा अनि राष्ट्रपति रामचन्द्र पौडेलका कट्टर विरोधी गोविन्दराज जोशी र पार्टी परित्याग गरेर रास्वपाबाट मैदानमा उत्रिएका अर्थशास्त्री स्वर्णिम वाग्ले भारी हुन सक्ने सम्भावना देखिँदै छ।

‘बीपी कोइरालाको पार्टीलाई यो स्थितिमा पुर्‍याउने शेरबहादुर देउवालगायतका झुण्डले कांग्रेसका सम्पूर्ण कार्यकर्तासँग माफी माग्नुपर्छ अनि मात्रै सच्चा कांग्रेसीहरुप्रति न्याय हुन्छ। कांग्रेसले हिजो मञ्चन गरेको नाटकमा न कथावस्तु राम्रो छ, न त त्यसमा अभिनय गर्ने पात्रहरू नै। पार्टीले गरेको झुटो निर्णयमा सरोकारवाला र जानकार भएर पनि चुप लाग्ने र कुर्सी मोहका लागि गलतलाई गलत हो भन्न नसक्ने, बोल्नुपर्ने ठाउँमा चुँ समेत नगर्ने कांग्रेसका युवा नेताहरुको हैसियत र काम गर्ने क्षमता देख्दा दयाभाव जागेको छ। साथै, यस्तो नेतृत्वले देशको कस्तो खाका कोर्ने हो भन्ने चिन्ता पनि लागेको छ,’ उनले लेखेका थिए।

जब राजनीतिमा विचलन आउँछ, तब झुटको खेती गरिन्छ भन्दै उनले अगाडि लेखेका थिए, ‘१२ बुँदे सहमतिपछि कांग्रेसले केवल झुटको खेती गर्दै देशलाई तहसनहसको बाटोतर्फ उन्मुख गरेको कुरा जनतासामु प्रस्टै छ। अतः सबैभन्दा ठूलो कुरा देश हो। देश रहे मात्रै पार्टी रहन्छ। पार्टी रहे राजनीति गरुँला। मैले मेरो व्यक्तिगत फाइदाका लागि निर्वाचनमा होमिनुपर्ने कुनै आवश्यकता छैन। आज देश नाजुक स्थितिमा पुगेको छ। सबै मिलेर देशको रक्षा गर्नुपर्ने बेला आएको छ।’ उनको साथको अपेक्षा गर्दै कांग्रेसले जोशीलाई फकाउन खोजिरहेको छ। यो विचलनको फाइदा उठाउने दाउमा अन्य नेताहरू रहेका छन्।

अर्को आधार भनेको कांग्रेसलाई सत्ता गठबन्धनको साथ छ। जोशीलाई आफ्नो पक्षमा पार्न सके गठबन्धनको बलमा कांग्रेस सहजै उपनिर्वाचन जित्न चाहन्छ। त, कांग्रेस छाडेर रास्वपाबाट उम्मेदवार बनेका अर्थशास्त्री स्वर्णिम वाग्ले पार्टीका लागि डरलाग्दो पात्रका रुपमा उभिएका छन्। 

कांग्रेसभित्र अर्थशास्त्रीको राम्रो छवि बनाएका वाग्लेलाई बलियो उम्मेदवारको रुपमा लिइएको छ। रास्वपाप्रति पछिल्लो समय युवा आकर्षण बढ्नु र कांग्रेसभित्रका चर्चित व्यक्ति पार्टीबाट टिकट नपाएर पार्टी परित्यागको अवस्थामा पुग्नुलाई धेरैले रुचाएका छैनन्। रास्वपाप्रतिको आकर्षण, वाग्ले आफैं पनि चर्चित पात्र हुनु र पूर्वकांग्रेस हुनुले उनी आफूलाई बलियो उम्मेदवारको रुपमा लिइरहेका छन्। धेरै कांग्रेसीले आफूलाई साथ दिनेमा उनी ढुक्क छन्।

यस क्षेत्रमा रास्वपा पनि अघिल्लो निर्वाचनमा बलियो देखिएको थियो। रास्वपा उम्मेदवार बनेका विकास सिग्देलले ६ हजार ४४ मत पाएका थिए। यस क्षेत्रबाट रास्वपाले समानुपातिकतर्फ पनि राम्रो मत प्राप्त गरेको थियो। कांग्रेसले समानुपातिकमा २० हजार १५८ मत प्राप्त गर्दा रास्वपाले १२ हजार ७७३ मत पाएको थियो। यो मत एमालेको भन्दा धेरै हो। रास्वपाले अहिले प्रभाव पार्न सक्ने उम्मेदवार उठाएको छ, जसले मतमा तलमाथि हुने संकेत दिन्छ।

अर्का उम्मेदवार खनाल प्रहरी संगठन चलाएका अनुभवी व्यक्ति हुन्। एमालेबाट उम्मेदवार बनेका खनाल यसअघिको निर्वाचनमा काठमाडौं ६ बाट उम्मेदवार बनेका थिए। उनी  रास्वपाका शिशिर खनालसँग पराजित भएका थिए। गत निर्वाचनमा पराजित भए पनि उनी यस पटक चुनाव जितेर संसद्को यात्रा तय गर्न चाहन्छन्।

प्रकाशित: Apr 07, 2023| 12:28 शुक्रबार, चैत २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...