मंगलबार, जेठ २८, २०८२

अर्थतन्त्र सुधार्न सरकार नै लाग्नुपर्छ: श्रेष्ठ

 |  मंगलबार, चैत १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १४, २०७९

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अञ्जन श्रेष्ठले बैंक तथा वित्तिय संस्थाहरुले ब्याजदरमा २० प्रतिशत भन्दा धेरै नाफा खाएको बताएका छन्।

लुम्बिनी प्रदेशको कपिलवस्तु स्थित चन्द्रौटामा आयोजित लथालिंग अर्थतन्त्र कसले गर्ने हो व्यवस्थापन विषयक कार्यक्रममा उनले अहिले अर्थतन्त्र समस्यामा भएको भन्दै यसलाई सुधार गर्न सरकारले तत्काल ध्यान दिनुपर्ने बताए।

सरकारी खर्च कम हुँदा बजारमा तरलताको अभाव भएको र उद्योग व्यवसाय नै धरासायी हुँदा पूँजी निर्माण गर्न कठिन भएको श्रेष्ठले बताए। उनले बैंकले उद्योगीहरुसँग लिएको प्रिमियम ब्याजदर ज्यादै धेरै भएको भन्दै त्यसलाई तत्काल घटाउन माग गरे।

'उद्योगी व्यवसायीलाई नाफामा २० प्रतिशत भन्दा धेरै लिन नपाइने भन्दै दशकौं पुरानो कालाबजारी ऐन कानुन लागु गरेर दु:ख दिईन्छ, तर बैंकले ब्याजदरमा ६० प्रतिशतसम्म प्रिमियम लिँदा सरकार र नियामकले वास्ता गर्दैनन्' श्रेष्ठले भने।

निजी क्षेत्रले अर्थतन्त्रमा उच्च योगदान दिएको र भूमिका बढिरहेको बेलामा निजी क्षेत्रले अधिकार खोसेरै लिनुपर्ने अवस्था देखिएको उनले बताए। आफूले लुम्बिनी प्रदेशमा लगानी बिस्तार गरिरहेको भन्दै पूर्वाधार क्षेत्रमा लगानी गरेको र अटोमोबाइल एसेम्बली उद्योग स्थापना गर्ने योजनामा रहेको श्रेष्ठले जानकारी दिए।

वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठले महासंघमा आफूले लामो समयदेखि योगदान दिएको भन्दै अब आफूले नेतृत्व गर्ने पालो आएको बताए। कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले देशको पूँजी निर्माणमा निजी क्षेत्रको योगदान उच्च रहेको भन्दै यसलाई कसरी गतिशिल बनाउने भन्नेमा राज्य लाग्नुपर्ने बताए। 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आर्थिक समस्या वा मन्दीबाट नेपालमा कसैले नसिकेको वा सुधार गर्न नचाहेको बताए। उनले विश्वमा ठूला आर्थिक मन्दिबाट सबै देशहरुले सिकेपनि हामीले कहिलेपनि सिक्न र सुधार गर्न नसकेको बताए।
 

प्रकाशित: Mar 28, 2023| 17:47 मंगलबार, चैत १४, २०७९
प्रतिक्रिया दिनुहोस्