शनिबार, असार २८, २०८२

निःशुल्क माटो परीक्षणपछि कमलामाईका किसान खुसी

 |  सोमबार, चैत १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत १३, २०७९

सिन्धुली- कमलामाई नगरपालिका-७ बर्देउटारमा निःशुल्क माटो परीक्षण गरिएको छ।

कृषि विशेषज्ञसहित कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सहयोगमा त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्था रामपुरको आयोजनामा माटो परीक्षण गर्दा किसान खुसी भएका हुन्।
माटोको उर्वराशक्ति पत्ता लगाई माटोमा अम्लिय र क्षारियपना पत्ता लगाउन शिविर आयोजना गरिएको कृषि र पशु विज्ञान अध्ययन संस्था रामपुरका प्राध्यापक डा. कृष्णविलाश अधिकारीले जानकारी दिए। खेतमा किसान, विद्यार्थी र कृषि विशेषज्ञसहितको टोलीको सो कार्य गरेको हो।

शिविरमार्फत तरकारी र अन्नबालीका लागि माटो उपयुक्त छ या छैन भनी परिक्षण र किसानलाई परामर्श दिइएको थियो। किसानलाई कम्पोष्ट, युरियामल, पोटास, कृषि चुन कसरी प्रयोग गर्ने भनेर जानकारी गराइएको थियो। खाद्यान्न उत्पादन वृद्धि गर्ने लक्ष्यसहित बागमती प्रदेशका तीन जिल्लामा माटो परीक्षण शिविर सञ्चालन गरिएको हो।
माटो परीक्षण गर्दा नाइट्रोजन कम, फस्फोरस मध्यम र पोटास उच्च पाइएको कृषि र पशु विज्ञान अध्ययन संस्था रामपुरका माटो विज्ञ कृष्ण अर्यालले बताए। किसानले युरिया मलको मात्र प्रयोग गर्दा माटोमा अम्लियपना बढी हुने र खाद्यतत्व उत्पादनमा कमी हुँदै जाने उनको भनाइ थियो।

बदर्उेटार, डाँडाटोल, खैरेनी र माझीटारमा रहेका खेतीयोग्य जमिन मकै र धान बाली उपयुक्त हुने उनले बताए। किसानलाई जग्गाको क्षेत्रफलअनुसार युरिया, डिएपी र पोटास मल प्रयोग गर्न सल्लाह दिइएको थियो।

बर्देउटारका कृष्णबहादुर कार्कीले पहिलो पटक माटो परीक्षण गराएको बताए। माटो परीक्षण गर्न प्रतिकिसान रु पाँच सय लाग्ने र निःशुल्क माटो परीक्षणसँगै कृषि विज्ञसमक्ष आफ्ना समस्या राख्न पाउँदा खुसी लागेको उनको भनाइ थियो।

प्रकाशित: Mar 27, 2023| 21:16 सोमबार, चैत १३, २०७९
प्रतिक्रिया दिनुहोस्